स्थानीय सवालको जिम्मा स्थानीयलाई

जग्गाको लालपुर्जा, खानेपानी लगायतको समस्याबाट ग्रसित रहेका बैजनाथ गाउँपालिका–६ स्थित दाउरे टोलमा रहेको समस्याको समाधानको बागडोर स्थानीय तहले पाएको छ । विगत ६ वर्ष देखि दाउरे टोलमा रहेका सवालहरूलाई नजिकबाट हेर्दै र सहजीकरण गर्दै आएको खाद्य अधिकार सम्बन्धी काम गर्ने संस्था फियान नेपालले बुधबार एक कार्यक्रम गरी स्थानीयलाई हस्तान्तरण गरेको हो ।

बैजनाथ गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पुन मगरले फियान नेपालले दाउरेटोलका स्थानीयहरूलाई जागरुक बनाएको उल्लेख गर्दै निर्वाचनको अवस्थामा फरक मत राखेता पनि निर्वाचनमा विजय भैसकेपछि कसैलाई राजनीति पक्षपात गर्ने छुट नहुने बताए । उनले, ‘दाउरे टोलका स्थानीयहरूको मुख्य समस्या भनेको आफु बस्दै आएको जग्गाको लालपुर्जा नहुनु वा नपाउनु हो तर हामीले जग्गाको निस्स्सा वितरण गरी सकेको अवस्था हो, कतिले पाउनु भएको छैन भने वडा कार्यालयमा आउनु होला ।’

स्थानीयहरूको सबै भन्दा नजिकको तह भनेको वडा कार्यालय भएको हँुदा हरेक सुखदुःखमा वडा सदैव साथमा रहने बताउँदै वडाध्यक्ष मगरले भने, ‘कतिपय अवस्थामा यहाँहरूको सवाललाई सम्बोधन गर्न नसकिरहेको अवस्था हुन सक्छ तर तपाईहरूले वडा कार्यालयका वडा अध्यक्ष लगायतको टिमलाई घच्घचाउने काम गर्न छोड्नु हुदैन ।’ वडा अध्यक्ष मगरले जनतासँग सबै अधिकार भएको हुँदा आफुलाई चित्त नबुझेको खण्डमा वडामा ताला लगाएर भए पनि आफुहरूलाई जिम्मेवार बनाउन पर्ने बताए ।

यसैगरी खाद्य अधिकार सम्बन्धी काम गर्दै आएको संस्था फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमले कुनै पनि संस्थाले बाटो देखाउने काम गर्ने भएको हुँदा स्थानीय समस्याहरूलाई समस्या गर्ने महत्वपूर्ण पक्ष भनेको स्थानीय तह वा राज्यको निकाय भएको बताए । उनले भने, ‘फियान नेपालले विगत ६ वर्ष देखि काम गर्दै आएको भएता पनि स्थानीय सरकारको नै भूमिका निकै महत्वपूर्ण भएको हँुदा अहिले हस्तान्तरण गर्न लागिएको हो तर यति भन्दै गर्दा हाम्रो अबको भूमिका नरहने भन्ने चाहीँ हँुदैन ।’

यसैगरी दाउरे टोलमा गठन भएको भूमिहीन खाद्य अधिकार समुहका सचिव जंग बहादुर कामीले आफुहरू निकै लाटो भएको अवस्थामा फियान नेपालले चेतना जगाउने काम गरेको बताए । उनले भने, ‘हामीलाई अहिले आएर थाहा भयो कि आफ्नो लागि आफै लड्नु पर्ने रहेछ, अहिले वल्ल आएर सरकारले जग्गाको निस्सा वितरण गरेको छ, लालपुर्जा कहिले पाउने अझै थाहा छैन ।’ वाँस, वास, कपासको नै समस्या रहेको दाउरे टोलमा शिक्षा,स्वास्थ्य खानेपानी लगायतको समस्या अझै समाधान हुन नसकेकोमा समुहका सदस्य प्रमिला विकले भनिन्, ‘विगतमा हामीले दाउरा बेचेर जिवन जिउने गरेको अवस्था हो तर हामीले बुवा आमा,बाजेबजै सम्मको पिढि भएर आउँदा सम्म पनि आफु बसेको जग्गाको लालपुर्जा नपाउँदा निकै दुख लाग्ने गरेको छ ।’

देशमा लोकतन्त्रसँग गाउँगाउँमा सिंहदरवार आएको भनेता आफुहरूले त्यसको अनुभव गर्न नपाएको बताउँदै स्थानीय विकले अगाडि भन्छिन्, ‘गाउँमा न त रोजगारको अवसर छ, खान लगाउनलाई नै समस्या भएको छ, कहाँ जाने के गर्ने, सोच्नै गाह्रो अवस्थामा यो टोल रहेको छ ।’

यसैगरी समूहकी सदस्य गंगा विकले स्वागत मन्तव्यको क्रममा फियान नेपालको सहजीकरणले गर्दा चेतनशिल बन्दै आफ्ना समास्याहरू अरूको सामु राख्न सक्ने भएको बताइन् । सवाल हस्तान्तरण कार्यक्रममा वडा सदस्य सुरेन्द्र थापा, स्थानीय रमा बुढा, खाद्य अधिकार संजाल बैजनाथ गाउँपालिका अध्यक्ष एकता शाह, स्थानीय समाजसेवी चुणमणि वली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समुहका अध्यक्ष कृष्ण बहादुर रिजालको अध्यक्षतामा भएको थियो ।

Exit mobile version