होली अर्थात फागु पूर्णिमाको चहल पहल सुरु भैसकेको छ । बच्चा बच्ची देखि कलेज स्तरीय युवा युवतीहरू रंग किनमेल गर्न र ड्रेसमा रंग लगाएर बजारमा हिडेका देखिन्छन् । होली खास गरी फाल्गुन कृष्ण चर्तुदशीको राती भएपनि पूर्णिमाको दिन मनाइने चलन छ । त्यसैले यसलाई फागु पूर्णिमा भनिएको हो । राक्षस हिरण्य कश्यपुका पुत्र प्रहलाद भगवान विष्णुका भक्त थिए । जुन हिरण्य कश्यप र उनीको बहिनी होलीकालाई मन पर्दैन थियो । प्रहलादको भक्ति छुट्याउन अनेकन प्रयासहरू हुन्छन् तर सबै असफल हुन्छन् । यो भक्ती टुटाउने एक मात्र विकल्प प्रहलादको अन्त्य गर्ने योजना शुरु हुन्छ यहि योजना अनुरूप होलीकाले आगोमा प्रहलादलाई लिएर बस्ने निर्णय हुन्छ किनकी होलीकाले आगोले जलाउन नसक्ने वरदान पाएकी हुन्छिन् । भक्ती तोड्न आफ्नो छोराको वलि चढाउन हिरण्य कश्यप तयार हुन्छन् । आगोमा प्रहलाद जलेर नष्ट हुने तर आफ्नो बहिनी होलिकालाई केही नहुने विश्वासका साथ होलिका आगोमा प्रहलादलाई लिएर जान्छिन् । भगवान विष्णुका भक्त प्रहलादलाई आगोले केही पनि हुँदैन तर होलीका जलेर नष्ट हुन्छिन । यहि शास्त्रीय किम्वदन्तिका आधारमा यो होलि चाड मनाइने गरिन्छ ।
अर्को तर्फ होली जाडोबाट गर्मी तिरको मौसमी परिवर्तन वसन्त ऋतुको सुन्दर वातावरण जताततै नयाँ पालुवा पलाउने हराभराको संकेतको रूपमा मनाइने गरेको पनि पाइन्छ । त्यस्तै रंगको सहि उपयुक्त प्रयोगले छालामा भएका केही स्वास्थ्य समस्या कम हुने चिकित्सकिय राय पनि छ । यसरी होली अर्थात् रंगको चाडलाई रमाइलो भेटघाट, खुशियाली साटासाटका रूपमा मनाउने चलन पौराणिक काल देखि चली आएको पर्व हो ।
तर केही समय देखि यो पर्वमा विकृति तर्फ उन्मुख भएको देखिन थालेकोछ । होलीको चहलपहल अनावश्यक रूपमा धेरै दिन अगाडिबाट चल्दै जानु, जबरजस्ती रंग घसीदिनु, रंगको सट्टामा अन्य वस्तुको (मोसो, डिजेल, हिलो,केमिकल , पेन्ट, अण्डा) प्रयोग गर्नु ,अन्य मादक पदार्थ गाजा भाङ्ग खाएर पिएर नशाको झोकमा अनैतिक कार्य गर्ने झैझगडा गर्ने , जवरजस्ती पैसा उठाउने कार्यले होलीको रौनकमा केही नरमाइलो देखिन्छ र स्वास्थ्यको हिसाबले पनि ठिक मानिदैन भने हरेक वर्ष विभिन्न सवारी दुर्घटना हुने गरेको सुनिदै आई रहेकाछौ यसले अविभावक विहिन कतिकोमा सन्तान विहिन हुने अवस्था आउनु राम्रो हुदै होईन । यसले मानवीय क्षती आर्थिक क्षती त पुर्याउछ अर्को जिन्दगी भर पर्वको दिन कालो दिन हुने अवस्था सिर्जना हुन्छ । त्यस्तै विभिन्न चली आएका परम्परागत रितिरिवाज अनुसार हिन्दु परम्परामा घरमा कुनै आफन्ती वा कसैको नातेदार या घरको कुनै सदस्यको मृत्यु भए वर्ष भरी रंग नलगाउने नखेल्ने , लगाउन नहुने संस्कार हुन्छ त्यसमा जवरजस्ती रंग लगाई दिदा त्यसले मानसिक पिडाको साथसाथै झै झगडा हुने एकातिर हुन्छ भने अर्को तर्फ चाड प्रति वितृष्णा पैदा गर्दछ जुन राम्रो होइन । विभिन्न धर्ममा रंग नलगाउने धार्मिक परम्परा हुन्छ जसमा जवर्जस्ती रंग लगाउदा धार्मिक आस्थामा चोट पुर्याउदछ ।
हिन्दु परम्परामा महिलाहरू श्रीमानको मृत्यु पछि रंग प्रयोग नगर्ने नखेल्ने पनि हुन्छन त्यस्तो अवस्थामा जवर्जस्ती रंग घसी दिनु उपयुक्त होइन यसले आपसमा झगडा तथा मनमुटाव निम्ताउँछ । त्यसैले जबरजस्ती रंग कुनै पनि व्यक्तिलाई घस्नु कदाचित उपयुक्त हुँदैन । अर्को तर्फ रंगको शरीरमा अनावश्यक रूपमा प्रयोगले जटिल समस्या आउन सक्छ । रंग आँखामा पर्दा रातो हुने, चिलाउने पाक्ने र कहिले काही घाउँ भएर लामो उपचार गर्नु पर्ने हुन सक्छ । त्यस्तै रंगको धुलो मुख भित्र गयो भने हामिलाई श्वासप्रश्वास सम्बन्धि समस्या उत्पन्न हुन सक्छ । जसले खोकी लाग्ने घाँटी दुख्ने देखि लिएर ठुला स्वास्थ्य समस्या जस्तै न्यूमोनिया, ब्रोन्काइटिस जस्ता समस्या उत्पन्न हुन सक्दछ । त्यस्तै रंगको साटो फोहोर पानी , हिलो , डिजेल, केमिकल , पेन्ट मोसो प्रयोग गर्दा छालाको रंग बिग्रने, छालामा घाउँ हुने, फोहोर पानी पेटमा जाँदा पेट दुख्ने, उल्टी हुने, झाडापखाला हुने सम्म समस्या आउन सक्छ । त्यसैले रंगको पर्व होलीलाई सफा रंग तथा आपसी सल्लाह र समझदारीमा खेलौ र शरीरको आँखा र मुख भित्र जान नदिने गरी खेलौ । जसले भाइचार मित्रवत पर्वको रौनक बढ्दै जान्छ र रमाइलो चाड मनाउने इतिहास बन्दछ । विश्व स्तरमा यो पर्व प्रति सकारात्मक सन्देश प्रवाह भै अन्य देशमा रहेका विभिन्न जातजाति धर्मामा आस्था भएका मानिसमा पनि यो पर्व प्रती आकर्षक बढन सक्छ र विश्वव्यापी रूपमा यो पर्व मनाउने परम्पराको विकास हुन सक्छ ।