आज भारतीय स्वतन्त्रता दिवस

आज १५ अगस्त । दक्षिण छिमेकी राष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवस । भारतीय स्वतन्त्रता दिवसलाई लिएर सीमापारी रूपैडिहा लगायतका विभिन्न ठाउँमा सरसफाई लगायतका सामाजिक अभियान सञ्चालन गरिएको त्यहाँबाट पत्रकार सन्तोष शुक्लले जानकारी दिए ।

भारतीय पत्रकार शुक्लका अनुसार, १५ अगस्तलाई लिएर नेपाल–भारत सीमामा अघिल्लो दिनदेखि नै संयुक्त सुरक्षा गस्ती गरिएको छ । ‘सघन चेकजाँच सहित सीमा कडाई गरिएको छ’, भारतीय सीमा सुरक्षा अधिकारी, एसएसबीका कमाण्डेन्ट बासुकी नन्दन पाण्डेलाई उद्धृत गर्दै पत्रकार शुल्कले दैनिक नेपालगन्जसँग भने, ‘सीमावर्ती क्षेत्रमा २४ घण्टा विद्युत सुविधा उपलब्ध गराउन र सीमामा संयुक्त गस्ती गर्ने व्यवस्था मिलाइएको छ ।’

बुधबार सुरक्षा जायजा लिंदै नानपाराका क्षेत्राधिकारी प्रधुम्न सिंह, रूपैडिहा थानाका निरीक्षक समशेर बहादुर सिंह, एसएसबीका डेपुटी कमान्डेन्ट दिलिप कुमार लगायतले नेपाल–भारत जमुनाह नाका लगायत वरिपरि स्थलगत अनुगमन, निरीक्षण पनि गरेका थिए ।

यसैबीच, स्वतन्त्रता दिवसको सन्दर्भ पारेर रूपैडिहा स्थित श्री राम जानकी शिक्षा संस्थानले १२ फुट अग्लो आठ फुट चौडाईको झण्डा सहित प्रभातफेरी निकालेको छ ।

शिक्षक विद्यार्थी लगायतको सहभागितामा रूपैडिहा परिक्रमा गरेर विद्यालय परिसरमा पुगेको प्रभातफेरीमा भारतीय संस्कृतिका झलक दिने पोशाक, ब्याडबाजा, विभिन्न सन्देशमूलक प्ले कार्ड, झण्डा लिएर र्याली विद्यार्थीहरू सहभागी भएका थिए ।

Exit mobile version