एचसीआरसी अस्पतालले उपचारका लागि नगद रहित (क्यासलेस) सेवा कार्यान्वयनमा ल्याउने भएको छ ।
त्यसका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र एच सी आर सी अस्पताल बीच बुधबार द्विपक्षीय सम्झौता भएको हो । ‘यस सम्झौताले सिद्धार्थमा स्वास्थ्य बीमा गरेका जो कोही बिरामीका लागि पनि एचसीआरसीमा सहुलियत उपचार व्यवस्था सुनिश्चितता हुनेछ’, बुधबार सम्झौतामा हस्ताक्षर पछि एचसीआरसी अस्पतालका निर्देशक रमेश सिटौलाले दैनिक नेपालगन्जसँग भने ।
बुधबार राजधानी काठमाडौं स्थित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको मुख्य कार्यालयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको अस्पतालले जनाएको छ ।
उपचारमा क्यासलेस व्यवस्थाका लागि सम्झौता अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा औषधी उपचार बीमा गरेका बीमित हुनुपर्नेछ ।
‘एचसीआरसी अस्पतालमा भर्ना भई उपचार गर्नु परेमा बीमा कम्पनीबाट जारी बीमालेखको शर्त अनुसार प्राप्त हुने रकम बीमा कम्पनीले सिधै अस्पताललाई भुक्तानी गर्नेछ’, सम्झौता पत्रमा हस्ताक्षर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सहायक महाप्रबन्धक नवराज पराजुलीले भने, ‘यसबाट सम्बन्धित व्यक्तिहरूलाई तुरुन्तै रकमको जोहो गरी अस्पताल जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’ सेवा प्राप्तिका लागि बीमितिले आफ्नो बीमालेखको प्रतिलिपि वा बीमा कम्पनीबाट जारी स्वास्थ्य बीमा कार्ड अस्पतालमा देखाउनुपर्ने व्यवस्था अनिवार्य गरिएको सम्झौता पत्रमा उल्लेख छ ।
‘मुलुकभरीकै बीमितहरूका लागि यो सुविधा उपलब्ध छ’, सहायक महाप्रबन्धक पराजुलीले दैनिक नेपालगन्जसँग भने, ‘विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एकाउन्ट होल्डरलाई स्वास्थ्य बीमाको सुविधा दिएकाले एचसीआरसीसँगको यो सम्झौताले धेरैलाई सहज बनाउने निश्चित छ ।’
सिद्धार्थ प्रिमियरले मुलुकभर स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराएकाले नेपालगन्जमा एचसीआरसी अस्पताल जस्तै अन्य ठाउँमा पनि त्यसखालको सम्भावना खोजी गरेर सुविधाको सहजीकरण गर्ने सहायक महाप्रबन्धक पराजुलीको भनाइ छ ।
