टिबी नेपाल नेपालगन्ज क्षयरोग रेफरल सेन्टर सल्यानीबागले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्षयरोगी बिरामीहरूको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले आयोजित रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको नेपालगन्ज क्षयरोग रेफरल सेन्टरका लेखा अधिकृत अमर बहादुर सुनारले जानकारी दिए ।
‘बिरामीको उपचारमा रगतको कमी नहोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो’, उनले भने, ‘रक्तदानमा अस्पतालका कर्मचारी, कैलपालका विद्यार्थी लगायतले रक्तदान गर्नुभएको थियो ।’
रक्तदान कार्यक्रममा टिबी नेपालका संस्थापक अध्यक्ष लक्ष्मण रेग्मी, क्लिनिक इन्चार्ज कमल ढकाल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नेपालगन्ज क्षयरोग रेफरल सेन्टर सल्यानीबागमा दैनिक ४०÷५० जना क्षयरोगको आशंकामा परीक्षणका लागि आउने गरेका छन् । जीर्ण क्षयरोगीका लागि होस्टल नै सञ्चालन गरेर नेपालगन्ज क्षयरोग रेफरल सेन्टर उपचार गर्दै आएको छ । हाल सेन्टरले सञ्चालन गरेको होस्टलमा १८ जना जीर्ण क्षयरोगी उपचार भैरहेको छ ।


































