नेपाली साहित्यको विश्वव्यापीकरण हाम्रो अभियान भन्ने मूल मर्मका साथ काठमाडौँको गौशालास्थित होटल आनन्द पशुपतिको सभाहालमा सञ्चालित तेस्रो बृहत साहित्यिक विश्व सम्मेलन २०८१ मा बाँकेका तीन स्रष्टा सम्मानित भएका छन् ।
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको अध्यक्षता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्वका १४ जना साहित्य साधकहरू सम्मानित हुँदा बाँकेमा रहेर साहित्य र समालोचनामा साधना गर्ने साधक प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, कल्पना पौडेल जिज्ञासु र लेकप्रसाद प्याकुरेल सम्मानित भएका हुन् ।
सम्मानित व्यक्तित्वहरूमध्ये प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेलाई नेपाली साहित्यदूत मकालु २०८० सम्मानले विभूषित गरियो । कल्पना पौडेल जिज्ञासु बिनेसाम उत्कृष्ट शाखा अध्यक्ष सम्मानद्वारा सम्मानित भइन् भने समालोचक लेकप्रसाद प्याकुरेल नेपालभित्र रहेका प्रदेशहरूबाट उत्कृष्ट प्रदेश अध्यक्ष सम्मानद्वारा सम्मानित भएका हुन् ।
भारत, थाइल्याण्ड, जापान, चिन, रसिया लगायत विश्वका दुई दर्जन बढी देशहरूका अग्र साहित्यकारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा १४ वटा नेपाली भाषा साहित्य सम्बन्धी कृतिहरूको विमोचन भएको थियो ।
सोही अवसरमा बाँकेका कल्पना पौडेल जिज्ञासुको कल्प ध्वनि लघुकथा संग्रह, लेकप्रसाद प्याकुरेलको बाँकेका महिला स्रष्टा र सिर्जना समालोचना सङ्ग्रह, गीता अर्यालको विषाक्त समय मुक्तक संग्रह, इन्दिरा गौतमको इन्दु कवितासंग्रह, विनेसाम नेपाल शाखाद्वारा तयार पारिएको नेपाल दर्पण, लुम्बिनी प्रदेशद्वारा तयार पारिएको लुम्बिनी दर्पण र विनेसाम कर्णाली प्रदेशद्वारा तयार पारिएको कर्णाली दर्पण लगायत एक दर्जन बढी कृतिहरूको विमोचन प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री ओलीले गरेका थिए ।
भारत सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङ प्राध्यापक डाक्टर गोविन्दप्रसाद भट्टराई आयामेली कवि बैरागी काइला लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थित रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाल शाखाकी महासचिव सुनिता राई कन्दङवाले गरेकी थिइन् ।































