- विराटनगरमा पक्राउ परेका कोशीका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ । मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो ।
- निजामती सेवाअन्तर्गतका विविध सेवा समूहका सयौँ प्राविधिक कर्मचारीहरूलाई सामान्य प्रशासन सेवा अन्तर्गतका सामान्य प्रशासन, राजश्व र लेखा समूहमा विनाप्रतिस्पर्धा स्वत: बढुवा समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रशासन सेवा कर्मचारीहरू आन्दोलित बनेका छन् ।
- नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग सम्बन्धमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । एनपीएलबारे क्यानविरुद्ध जोरा स्पोर्टस म्यानेजमेन्ट प्रालिको तर्फबाट आमीर अख्तरले रिट निवेदन दायर गरेका थिए । जसमा क्यान र क्यानको केन्द्रीय समितिलाई विपक्षी बनाइएको थियो ।
- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गरेका छन् । न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारमा कुनै समस्या नभएको बताएका छन् । सुदूरपश्चिमको भ्रमणको सिलसिलामा आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री देउवाले सहकारी प्रकरणलाई लिएर रवि लामिछानेविरुद्धको अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा सम्बन्धित पक्षले अदालतमाथि विश्वास गर्नुपर्नेसमेत बताए ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
- अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको टिकट बिक्रीमा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रतियोगिताको गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएकोले अनियमितता र भष्ट्राचार भएको दाबी गर्दै यस्तो माग राखेका हुन् ।
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कञ्चनपुरका ग्रामीण भेगमा केन्द्र थपेर धान खरिद गरिरहेको छ । कम्पनीले विगतमा महेन्द्रनगर बजारमा मात्रै धान खरिद केन्द्र सञ्चालनमा ल्याउने गरेको थियो ।
देशमा आजः ८ बजे ८ खबर
