संस्थागत विद्यालयहरूको छाता संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को नेपालगन्ज नेतृत्व फेरिने भएको छ । त्यसका लागि आज बिहीबार प्याब्सन नेपालगन्जको सातौं बार्षिक साधारणसभा तथा तेस्रो नगर अधिवेशन गर्न लागिएको हो ।
प्याब्सन सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार, विकास बज्राचार्यले अध्यक्ष नदोहोरिने मनसाय व्यक्त गरेपछि सचिव मान बहादुर थापालाई नेतृत्वमा ल्याउने गरी छलफल गरिएको छ । उपाध्यक्ष नरेन्द्र श्रेष्ठ समेत अध्यक्षका लागि स्वभाविक दाबेदार भएपनि सर्वसम्मत नेतृत्वको छलफलमा थापालाई अध्यक्षका लागि श्रेष्ठ आफैले पनि सहयोग गर्ने बताइएको छ । त्यस्तै, सहसचिव हेमन्त राज काफ्लेलाई उपाध्यक्ष र कोषाध्यक्ष विज्ञान शाहलाई सचिव बनाइने छलफल अगाडि बढाइएको प्याब्सन नगर समिति स्रोतले जनाएको छ ।
‘सर्वसम्मत नेतृत्व चयनका लागि आवश्यक छलफल प्रक्रिया अगाडि बढेको छ’, वर्तमान नगर समितिका सहसचिव काफ्लेले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले उद्घाटन गर्ने अधिवेशनमा ६० बढी विद्यालयले सहभागिता जनाउने छन् ।
