समय सुहाउँदो व्यवहारिक शिक्षा बालबालिकाको भविष्यका लागि आवश्यक रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित लिभिङ्ग स्टोन एकेडेमी अन्नपूर्णनगर बाँकेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर थापाले बताएका छन् । विद्यालयले बुधबार आयोजना गरेको अभिभावक भेलासँगै गतिविधि आधारित प्रदर्शनी र खाना महोत्सवमा तथा पुरस्कार वितरणमा बोल्दै अध्यक्ष थापाले शिक्षा समय सुहाउँदो र भोलिका दिनमा बालबालिकाको भविष्य सुनिश्चित हुने खालको हुनुपर्ने बताएका थिए । ‘त्यसैले हामीले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि दिइरहेका छौं’, उनले भने ।

अध्यक्ष थापाले शैक्षिक अभ्यासहरू अध्ययन गरेर नेपाल तथा भारतका शिक्षकहरू टिम अध्यापनका लागि व्यवस्था गरेको जानकारी दिए । ‘अनुभवी र दक्ष शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गरिरहनु भएको छ’, उनले भने, ‘हामीले पठनपाठनका लागि शान्त वातावरण र मौसम अनुकुल हुनेगरी विद्यालयका भौतिक पूर्वाधार बनाएका छौं ।’ लिभिङ्ग स्टोन नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक बर्ष पूरा भएको छैन । नर्सरी देखि ७ कक्षासम्म अध्यापन गराउँदै आएको विद्यालयमा हाल ७० जना विद्यार्थी रहेका छन् । ‘हामी उत्कृष्ट शिक्षा दिएर अभिभावकको मन जित्ने प्रयासमा छौं’, अध्यक्ष थापाले भने । विद्यालय प्रेमा रोका, सरोज थापा लगायतको टिमले नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको हो ।
विद्यालयका प्रिन्सिपल रमेश राज रेग्मीले आफुहरूले विद्यालयमा गुणस्तरीय व्यवहारिक र सैद्धान्तिक शिक्षामा जोड दिएको बताउँछन् । ‘अध्यापनका लागि उत्कृष्ट वातावरण हामीले विद्यालयमा तयार गरेका छौं, शैक्षिक स्ट्याण्डर्ड मेन्टेन गरेका छौं’, उनले भने । शिक्षक कर्मचारी गरी २० जना जनशक्ति रहेको विद्यालयले विद्यार्थी ल्याउन, लैजान आफ्नै बसको व्यवस्था गरेको अभिभावक भेलामा प्रधानाध्यापक रेग्मीले बताए । ‘विद्यालयमा कम्प्युटर ल्याबको पनि व्यवस्था गरेका छौं, अतिरिक्त क्रियाकलाप पनि नियमित हुने गरेको छ’, उनले भने, ‘बार्षिक दुई पटक विद्यार्थीको सिर्जनशिलता प्रस्तुत गर्न प्रदर्शनीको आयोजना गर्ने लक्ष्य राखेका छौं ।’
अभिभावक भेलामा सहभागी अभिभावक तारानाथ पोखरेलले भर्खरै सुरु भएको विद्यालयको वातावरण निकै राम्रो रहेको अनुभूति गरेको बताए । ‘सञ्चालनको पहिलो बर्षमै विद्यालयले स–साना बालबालिकाको सिर्जनात्मक क्षमता प्रदर्शन गर्नु निकै राम्रो हो’, उनले भने, ‘यसले विद्यार्थीको सिक्ने बानीको विकास गर्न निकै मद्दत पुग्छ ।’
विद्यालयमा प्रिप्राइमरीका लागि कसन्स्लटेन्ट रहेका एबिआइका सिइओ ढुण्डिराज गिरीले छोटा समयमा नै प्लान अनुसार विद्यार्थीको परफरमेन्स उत्कृष्ट भएको बताए । ‘विद्यार्थीलाई क्रियटिभ बनाउनु पर्छ’, उनले भने, ‘त्यसका लागि आजैबाट भविष्यमा बालबालिकालाई कस्तो बनाउने भन्ने योजना अभिभावकले बनाउनु
पर्छ ।’ एबिआइका सिइओ गिरीले करिब २१ देखि २५ बर्ष अध्ययनमै विद्यार्थीको सकिने भएकाले त्यो लामो लगानीको प्रतिफल विद्यार्थीको उत्कृष्ट भविष्य हुने गरी अगाडि बढ्नु पर्ने बताएका थिए । ‘शिक्षा दक्ष जनशक्ति निर्माण हुने खालको हुनुपर्छ’, उनले भने, ‘ज्ञान र सीपलाई सँगै अगाडि बढाउनु पर्छ ।’ सिइओ गिरीले अध्ययन पछि पनि बेरोजगार हुने, विदेशिनु पर्ने बाध्यताको अन्त्य हुने खालको शिक्षाका लागि अभिभावकले पनि चासो दिनुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा स्वागत प्रिन्सिपल रमेश राज रैगमीले गरेका थिए । उनले विद्यालयमा आयोजित फुड फेटिबलका आम्दानी छात्रवृत्तिका लागि खर्च गर्ने जानकारी अभिभावकलाई दिएका थिए ।
औपचारिक कार्यक्रममा विद्यार्थीहरूले राष्ट्र प्रेम झल्किने विभिन्न गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । शिक्षिका निकिता शाक्यले सञ्चालन गरेको कार्यक्रममा मष्ट प्रोग्रेसिभ स्टुडेन्टको माष्टर उपाधी प्रशान्त बुढा र जष्टिन शर्मालाई दिइएको थियो ।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुला रञ्जन नायकले अभिभावकलाई विद्यार्थीको पोशाक, शिक्षा र अध्ययनको सहज वातावरणका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा अतिथिहरू व्यवसायी किसन गुरुङ्ग, प्राध्यापक अशोक बस्नेत, पत्रकार झलक गैरे, विद्यार्थी सञ्चालक समिति, शिक्षक कर्मचारी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप सिर्जनशिलता प्रदर्शनीमा विद्यार्थीहरूले खानाका परिकारसँगै, शैक्षिक ज्ञान, पाहुना घर, पोषणयुक्त खानेकुरा, प्रविधिक प्रस्तुत, मेसिनरी औजार, चित्रकला, विद्यार्थीले बनाएका सरसामान प्रदर्शनीमा राखिएको थियो ।