नेपालगन्जमा मःम उत्सव गर्न लागिएको छ । सिद्धार्थ कटेजले नेपालगन्जमा पहिलो पटक ‘मःम फेस्टिवल’ गर्न लागेको हो ।
‘४/५ प्रकारका मःम खाने गरेका स्वादका पारखीहरूका लागि एकै थलोमा ४१ थरि मःम पस्किंदै छौं,’ उत्सवबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले भने, ‘अझ महत्वपूर्ण कुरा प्रतियोगितात्मक उत्सव हुनेछ ।’ जहाँ मःमसँग जोडिएका कयौं प्रतिष्पर्धा गरिने जानकारी दिंदै न्यौपानेले महिलाहरूलाई लक्षित गरि ‘कम्युनिटी कुकिङ’ प्रतियोगिता पनि गरिने बताए ।
सिद्धार्थ कटेजले माघ ११–१३ गते मःम फेस्टिवल आयोजना गर्न लागेको जनाएको छ । आयोजक सिद्धार्थ कटेजका अपरेशन म्यानेजर पदम न्यौपानेले स्थानीय उत्पादनहरूलाई प्रमोशन गर्ने उद्देश्यले मःम उत्सव गर्न लागेको जानकारी दिंदै फापर, कोदो, तरुल, दिउँदे सिमी, केरा लगायतका विभिन्न स्थानीय परिकारबाट बनेका मःमका स्टलहरू राखिने बताए ।
उत्सवमा आकारका दृष्टिले पनि विभिन्न १० छुट्टाछुट्टै आकारका आकर्षक मःम पस्किन लागेको सिद्धार्थ कटेजका एक्जुकेटिभ सेफ अमर दाहालको भनाइ छ । ‘पहिलो पटक यसरी नयाँ ढंगले मःम पस्किन लागेका छौं,’ सेफ अमरले भने ।
आयोजकका अनुसार, मःम क्वीज, लाइभ म्युजिक, दोहोरी साँझ, गजल नाइट लगायतका विभिन्न प्रतियोगिताहरू संचालन हुने उत्सवमा प्रत्यक्ष मम पकाउने प्रतियोगिता पनि गरिंदै छ ।
सिद्धार्थ बिजनेश ग्रुका सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टका अनुसार, उत्सवलाई आकर्षक र भव्य बनाउन सुर्खेतको स्थानीय ब्यान्ड ज्यापर, अन्य कलाकार निम्त्याइदै छ ।
‘मःम अहिलेको सबैभन्दा बढी डिमाण्ड हुने खाजा हो’, स्थानीय संस्कृतिलाई प्रवद्र्धन समेत गर्ने गरी सांस्कृतिक कार्यक्रमलाई सँगै लैजाने योजना सुनाउँदै निर्देशक न्यौपानेले भने, ‘गृहिणीलाई स्तरीय खाना पकाउने तौर तरिका समेत सिकाउने गरी उत्सवमा विविध कार्यक्रम हुनेछ ।’
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.