बाँके प्रहरीले गत साउनमा २५ फरार अपराधीलाई २७ बर्ष ३ महिना कैद र २ लाख ६२ हजार १ सय ६३ रूपैयाँ जरिवाना असुल गर्न पक्राउ गर्यो । भदौं महिनामा ५१ फरार अपराधीलाई ९ बर्ष २३ दिन कैद र १ लाख ४८ हजार ७ सय ५७ रूपैयाँ जरिवाना भुक्तानका लागि पक्राउ गर्यो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रत्येक महिना अदालत तथा प्रहरीमा उजुरी रही फरार भएकाहरूलाई खोजी गरी कानुनी दायरामा ल्याइ रहेको छ । प्रहरीले फरार समात्ने क्रम अन्तर्गत असोज महिनामा ५२ फरार अपराधीलाई १० बर्ष ११ दिन कैद र १ लाख २४ हजार ८ सय ५९ जरिवाना, कार्तिक महिनामा ४८ फरार अपराधीलाई १२ बर्ष ५ महिना २० दिन कैद र ५ लाख २० हजार १ सय ६८ रूपैयाँ जरिवाना, मंसिर महिनामा ५४ फरार अपराधीलाई ७ बर्ष २ महिना २० दिन कैद र ८ लाख ६३ हजार ८ सय रूपैयाँ जरिवाना तथा गत पुसमा ६५ जना फरार अपराधीलाई १९ बर्ष ४ महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रूपैयाँ कैद र जरिवाना भुक्तानका लागि पक्राउ गरेको छ ।
मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारवाहीबाट भाग्न खोज्छ । तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ । बाँकेमा अदालतबाट फैसला भएका र प्रहरीमा उजुरी दर्ता भई फरार भएका हजारौं छन् । प्रहरीले उनीहरूलाई धमाधम खोज्दै पक्राउ गरिरहेको छ । अपराधीहरूले दशकौंपछि समेत आफ्नो अपराधको सजाय भोग्न कारागार पुग्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो, यसै साता इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ पुस १८ गतेको फौसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकिएका राप्तिसोनारी गा.पा. वडा नं. ९ बस्ने बर्ष ३० को धन बहादुर थारुलाई बुधबार पक्राउ गर्नु । उनी अपराध गरेको १४ बर्ष ६ महिना पछि पक्राउ परेका थिए ।
कतिपय घटनामा अदालतबाट सजाय तोकिएको व्यक्ति, उनका परिवार र समाजले समेत बिर्सिसकेका हुन्छन् । तर, कानुनी पानामा उनको अपराध र सजाय लिपिबद्ध गरिएका छन् । जब कानुनले खोज्छ उ कुन न कुनै दिन आफ्नो अपराधको सजाय भोग्न बाध्य हुन्छ । अदालतमा तारेखमा छुटेर पछि फैसला भएकाहरू पनि फरार हुने गरेका छन् । विगतमा तारेखमा छुटेकालाई प्रहरीले नखोजेका कारण पनि फरारको सूचि जिल्लामा लामै रहेको छ । जसलाई प्रहरी निरन्तर खोजी गरी कानुनी कारवाहीको दायरामा ल्याइरहेको छ ।
बाँकेमा अदालतबाट सजाय तोकिएका र प्रहरीमा मुद्दा भएका फरार खोज्न छुट्टै टोली नै गठन गरिएको छ । प्रहरीले त्यस्ता फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरेको हुन्छ । बाँके सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जाने, यो ठाउँ नै छाडेर अन्य जिल्ला जानेलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ ।
‘बाँकेका प्रत्येक स्थानीय तहका फरारहरूको सूची बनाएर खोजी कार्य भैरहेको छ’, प्रहरी अधिकारी भन्छन्, ‘फरार अपराधीलाई कानुनी दायरामा ल्याएर नै छाड्छौं ।’ प्रहरीले खोज्न थालेपछि कतिपय साना, तिना मुद्दामा अदालतबाट फैसला भएका अपराधी आफैपनि अदालत पुग्न थालेको विगतमा
देखिएका छन् ।
‘अदालतबाट सजाय तोकिएका, मुद्दा चलेर फरार रहेकाहरूबाट समाजले असुरक्षित महसुस गर्छ भने अपराधीहरूको समेत मनोबल बढ्न सक्छ, त्यसैले फरार अपराधी खोज्नलाई विशेष जोड दिइरहेका हौं’, प्रहरी अधिकारी भन्छन् ।






























