भ्रष्टाचारविरुद्धको राष्ट्रव्यापी जनचेतना तथा खबरदारी अभियान अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बिहीबार बाँके जिल्लामा कोणसभा आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष २१ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
पार्टीको ३ नम्बर व्यूरो (भेरी–कर्णाली) अन्तर्गत बाँके जिल्ला समिति द्वारा प्रस्तुत उक्त ज्ञापनपत्रमा राज्यसंयन्त्रभित्र गहिरिएको संरचनागत भ्रष्टाचार विरुद्ध तत्काल कदम चाल्न आग्रह गरिएको छ । उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भ्रष्टाचार रोक्न आफु प्रतिबद्ध भएको बताए ।
जिल्ला सचिव गुणानिधि आचार्य (कुशल)को हस्ताक्षर रहेको ज्ञापनपत्रमा नागरिकता वितरणदेखि भन्सार प्रणाली, स्वास्थ्य, शिक्षा, न्यायपालिका, सडक निर्माण, वैदेशिक रोजगारलगायत २१ वटा क्षेत्रमा भ्रष्टाचार मौलाएको ठोस विवरण प्रस्तुत गरिएको छ ।
‘सम्पूर्ण निकायहरूमा गहिरिएको भ्रष्टाचारको जरा संस्थागत रूपमा फैलिएको’ भन्दै ज्ञापनपत्रमा भनिएको छ, ‘कानुन त कडाइका साथ बनेका छन्, तर कार्यान्वयन गर्ने सरोकारवालाहरू नै जिम्मेवारी बहन गर्न चुकेका छन् ।’
ज्ञापन बुझाएसँगै भेरी अस्पताल गेट अगाडी आयोजित कोणसभामा प्रमुख वक्ताका रूपमा उपस्थित पार्टी पोलिटब्यूरो सदस्य तथा ३ नं. व्यूरो सचिव दीपक शाहीले सम्बोधन गरे ।
कोणसभामा मुख्य वक्ता शाहीले दलाल संसदीय व्यवस्थाले जनतालाई अझ गहिरो अन्यायमा धकेलेको बताए । ‘सङ्घीय लोकतन्त्रका नाममा दलाली र घुसखोरी मौलाएको’ धारणा राख्दै उनले ‘नागरिकले राज्यको सेवामा पहुँच पाउनसमेत सिफारिस र पैसाको भर पर्नु परेको’ बताए ।
उक्त पार्टीले कार्यक्रमलाई भ्रष्टाचार विरुद्धको पहिलो चरणको प्रचारात्मक अभियानको रूपमा लिएको जनाउँदै, देशभर असार ५ गतेदेखि भ्रष्टाचारविरुद्धको चार चरणको आन्दोलन सञ्चालन गरिएको जानकारी दिएको छ । नेता शाहीका अनुसार, पहिलो चरणमा जनचेतना र कोणसभा, दोस्रो चरणमा मुद्दा संकलन, तेस्रोमा खबरदारी र अन्ततः कारबाही चरण अगाडि बढाइने छ ।
जिल्ला सचिव आचार्यले सम्बोधन गरेको कोणसभाको सञ्चालन विक्रम भण्डारीले गरेका थिए । पत्रकार, शिक्षक, नागरिक प्रतिनिधि तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा पार्टीले जनसमुदायलाई पनि भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।































