पुरा भयो तयारी, खेल तालिका सार्वजनिक
‘कोहलपुर गोल्डकप’ फुटबल प्रतियोगिताको चौथो संस्करणको सम्पूर्ण तयारी पूरा भएको भन्दै आयोजकले खेल तालिका सार्वजनिक गरेको छ ।
बाँकेको कोहलपुरमा कोहलपुर रेसिङ साहारा क्लबले आयोजना गर्न लागेको कोहलपुर गोल्डकपको चौथो संस्करण वैशाख १९ गते शनिवारदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिघा खेल मैदानमा हुने तय छ ।
प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतले खेलतालिका सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा देशका विभिन्न क्षेत्रका क्लबहरूसँगै विदेशी टोलीहरूको पनि सहभागिता रहने कोहलपुर गोल्डकपको सबै तयारी पुरा भएको बताए ।
बस्नेतका अनुसार, प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लब तथा विदेशी टिमको समेत सहभागिता रहने छ । ‘उद्घाटन खेल आयोजक कोहलपुर रेसिङ साहारा र पञ्चकोशी युथ क्लब सुदूरपश्चिमबिच हुने छ,’ उनले पत्रकारसँग भने ।
प्रतियोगितामा आयोजकसँगै पञ्चकोशी, लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी हुँदैछन् ।
कोहलपुर गोल्डकपका म्याच कमिश्नार दयाराम सापकोटाले कुल आठ टिममध्ये जित्ने चार टिम सेमिफाइनल प्रवेश गर्ने र पराजित हुने टिम गोल्डकपबाट बाहिरिने बताए । २६ गते गोल्डकपको फाइनल खेल हुनेछ ।





























