लुम्बिनी प्रदेश सरकारले आगामी आ.व. ०८२/०८३ का लागि विनियोजित बजेटका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालयले आगामी आ.व.का लागि लुम्बिनीका १२ जिल्लाका लागि १ हजार ५ सय ११ योजना अगामी आ.व.का लागि सुनिश्चित गरेको छ । बाँकेको पर्यटन डिभिजन कार्यालय बाँके मार्फत सञ्चालन हुने योजना मात्रै करिब ५ सय ८० वटा छन् भने जसमा बाँकेमा पूर्वाधार निर्माणका योजना डेढ सयको हाराहारीमा रहेका छन् । पर्यटनका लागि विनियोजित बजेट धार्मिक स्थलको मर्मत, सम्भार, सौन्र्दयीकरणमा केन्द्रित पाइन्छ भने ठूला योजनाहरू प्रदेश सरकारले बाँकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सक्ने खालको बनाएको पाइन्छ ।
‘बजेटमा अधिकांश धार्मिक तथा पर्यटकीय स्थलहरूको सामान्य मर्मत–सम्भारका लागि दुईदेखि पाँच लाख, कतिपय योजनामा १० लाख रूपैयाँसम्मको विनियोजन गरिएको छ । तर बाँकेको दीर्घकालीन तथा संरचनागत पर्यटन विकासका लागि कुनै ठूला परियोजना समेटिएको छैन’, पर्यटन व्यवसाय भन्छन्, ‘बाँके सम्भावना बोकेको क्षेत्र भएपनि त्यसका लागि प्रदेश सरकारले ठोस, दीर्घकालीन र ठूला लगानीका योजना ल्याएको छैन, कार्यकर्ता खुशी पार्न र प्रदेश माननीय रिझाउन टुक्रे योजनाको चाङ्ग लगाइएको छ ।’
नेपालगन्ज वडा नं. ११ मा फुटाह ताल विकास तथा पार्क निर्माण गर्न ३० लाख, कोहलपुर २ मा सिद्धेश्वरी महादेव मन्दिरमा पूर्वाधार निर्माण १० लाख, नुरी जामा मस्जिद मर्मत तथा अन्य पूर्वाधार निर्माणका लागि ९ लाख ५० हजार, बर्फानी बाबा धार्मिक क्षेत्रको पूर्वाधार निर्माणका लागि १० लाख, बैजनाथ–५ मा मुस्लिम कब्रस्थान निर्माणका लागि ४ लाख, खजुरा गा.पा.–१ स्थित रामघाटमा पर्यटकीइ पूर्वाधार निर्माणका लागि १० लाख, जानकी गाउँपालिका वडा नं. ४ स्थित रामजानकी मन्दिरमा कम्पाउण्ड वाल निर्माणका लागि ५ लाख लगायत पर्यटन डिभजन कार्यालय मार्फत बाँकेमा छुट्याइएको बजेटको नमूना हुन् ।
नेपालगन्ज, कोहलपुर, ठाकुरद्वारा, ढकढैया, नरैनापुर, बैजनाथ, राप्तीसोनारी जस्ता क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनलाई जोड्ने सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रको समग्र विकासका लागि आवश्यक ठूला संरचना निर्माणमा प्रदेश सरकारले चासो नदेखाएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
‘बजेट रकम छरिएर गयो भने त्यसको खासै प्रतिफल आउँदैन । संघ, प्रदेश र स्थानीय तहले मिलेर एकीकृत योजना बनाउने हो भने मात्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ, ठूला पूर्वाधार खडा गर्न सकिन्छ’, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल भन्छन् । ‘मतदाता रिझाउन, माननीय रिझाउन पर्यटन क्षेत्रको बजेट टुक्रे योजनामा खर्च हुने हो भने त्यसबाट पर्यटन क्षेत्रले ठूला आशा गर्न सक्दैन’, उनी भन्छन्, ‘बाँकेमा पर्यटन क्षेत्रको विकास चाहने हो भने तीन तहकै सरकारको बजेट एकद्वार प्रणालीबाट आउन आवश्यक छ ।’
बाँकेको पर्यटन विकासका लागि पदमार्ग, होटल, यातायात, प्रचारप्रसार, गाइड तालिम, सूचना केन्द्र, साइनबोर्ड, आकर्षक प्याकेज, सार्वजनिक सुविधासहितका ठूला योजना आवश्यक छन् । संघीय र स्थानीय तहले पनि आ–आफ्नो हिसाबमा छुट्टाछुट्टै साना योजना अघि सारेका छन् । तर तीनवटै तहबीच समन्वय अभाव र दीर्घकालीन दृष्टिकोण नहुँदा बाँकेको पर्यटन अझै पनि सम्भावनामा सीमित भइरहेको चिन्ता पर्यटन क्षेत्रका सरोकारवालाहरूले व्यक्त गर्दै आएका छन् ।
महालेखाको ६२ औं प्रतिवेदनले लुम्बिनी प्रदेश सरकारका टुक्रे योजनाहरूमा टिप्पणी गरेको छ । महालेखाले साना र टुक्रे आयोजनामा सर्शत अनुदान प्रदान गर्ने परिपाटीको अन्त्य गरी वित्तीय हस्तान्तरणलाई सूचना प्रविधिमा आधारित बनाउन सुझाव दिएको छ ।
यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि औपचारिक कार्यक्रममा आगामी आ.व.को बजेटको सन्दर्भमा धारणा राख्दा साना तथा टुक्रे योजनाहरू प्रदेश सरकारले निरुत्साहित गर्ने बताएका थिए । यद्यपि, स्थानीय तह र वडाबाटै हुनसक्ने कार्यहरूका लागि पनि प्रदेश सरकार आफैले ५ लाखसम्मका योजनाका लागि पनि बजेट विनियोजन गरेको छ ।































