नेपालगन्जमै राजधानी स्तरको शिक्षा
बाँकेको नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयले पछिल्ला केही वर्षमा प्लस टु (कक्षा ११) भर्नाका लागि विद्यार्थी तथा अभिभावकमाझ उच्च विश्वसनीयता कायम गर्दै आएको तथ्यांकले देखाएको छ । शैक्षिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा उभिँदै गएको देखिएको हो ।
विद्यालयले दिएको तथ्यांक अनुसार, २०८०/८१ मा ७५० जना भर्ना परीक्षामा सहभागी भएका थिए भने ५६० जनाले भर्ना पाए । त्यसको शैक्षिक वर्ष २०८१/८२ मा परीक्षार्थी संख्या बढेर ९५० पुगेको थियो, जहाँबाट ६२५ जना विद्यार्थीले भर्ना अवसर पाए ।

‘चालु शैक्षिक सत्र २०८२/८३ का लागि सोमवारसम्म ५ सय भन्दा बढी विद्यार्थीले भर्ना फारम भरिसकेका छन्,’ विद्यालयका प्रधानाध्यापक महेश्वर जोशीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो विद्यालयले विज्ञान र व्यवस्थापन दुवै संकायमा अध्ययन अवसर प्रदान गर्दै आएको छ ।’ प्रधानाध्यापक जोशीका अनुसार, शैक्षिक सत्र २०८२/८३ का लागि बुधवार भर्ना परीक्षा (इन्ट्रान्स एक्जाम) गरिंदैछ ।
विद्यालयका शैक्षिक सल्लाहकार प्रकाश लामिछाने भन्छन्, ‘नेपालगन्जका बालबालिकालाई राजधानी काठमाडांै वा भारतीय शहरहरू जान नपर्ने गरी यहीं गुणस्तरीय शिक्षा उपलब्ध गराउने हाम्रो प्रयास सफल बन्दै गएको छ,’ लामिछानेले दैनिक नेपालगन्जसँग, ‘हामी अनुसन्धानमा आधारित शिक्षण शैलीमा विश्वास गर्छौं, जहाँ शिक्षकले अनुसन्धानका नतिजालाई कक्षामा लागू गरी विद्यार्थीको सिप र संस्कार दुबैलाई बलियो बनाइरहेका छन् ।’
‘अनुसन्धानबाट प्राप्त ज्ञानलाई कक्षाकोठामा उपयोग गरेर शिक्षकहरूमार्फत शिक्षण सिकाईमार्फत विद्यार्थीसम्म पुग्ने हुँदा उनीहरूमा उत्कृष्ट सिप र उत्कृष्ट एटिकेट ( सुसंस्कृत) को विकास भएको छ,’ लामिछानेले भने ।
विद्यालयले नियमित रूपमा शिक्षकलाई प्रशिक्षित र उत्प्रेरित गरिरहेको जनाएको छ । विद्यार्थीका लागि इन्टर्नसीप, करियर काउन्सिलिङ, प्राक्टिकल शिक्षा, साइकोलोजिस्ट तथा विशेषज्ञ परामर्शदाता जस्ता पूर्वाधार तयार पारिएको शैक्षिक सल्लाहकार लामिछानेले प्रष्ट पारे ।
विद्यालयका प्रमुख निर्देशक ईश्वरप्रसाद पोखरेलका अनुसार, आदर्शमा विज्ञानतर्फ बायो तथा फिजिक्स ग्रुप, व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स, बिजनेस र बिजनेस म्याथ जस्ता विकल्पहरू विद्यार्थीका लागि उपलब्ध छन् । ‘हाम्रो शैक्षिक गुणस्तर, छात्रवृत्ति योजना र पूर्वाधारकै कारण विद्यार्थी मात्र होइन, अभिभावकले पनि हामीप्रति गहिरो भरोसा राख्नु भएको छ,’ पोखरेलले दैनिक नेपालगन्जसँगको भेटमा भने । उनले त्यसो भनिरहँदा अभिभावकसँग विद्यार्थी भर्नाबारे संवाद गर्दै थिए ।
शैक्षिक सल्लाहकार लामिछानेका अनुसार, विद्यालयले अन्य विद्यालयहरूसँग आदर्शका असल अभ्यासहरू साझा गर्न सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । ‘जसले स्थानीय शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पारिरहेको छ,’ लामिछानेले विद्यालय शिक्षा सुधारका लागि आफुले गरेका असल अभ्यासहरूलाई अन्य विद्यालयमा ट्रान्सफर गर्न सचेतना कक्षा पनि चलाइरहेको जानकारी दिंदै भने ।
स्थानीय स्तरमै राजधानीस्तरको शिक्षाको ग्यारेन्टी गर्दै आएको आदर्श माध्यमिक विद्यालयले शिक्षामा गुणस्तर, विविधता, व्यवहारिकता र मूल्यको समिश्रण गरेर यस क्षेत्रको शैक्षिक नक्सा परिवर्तन गरिरहेको जनाएको छ । प्लस टु भर्नामा विद्यार्थीहरूको बढ्दो आकर्षणले विद्यालयप्रतिको भरोसा र भविष्यप्रतिको आशावादी संकेत स्पष्ट देखिन्छ । ‘कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि हामीले करियर बिल्डअपका लागि शिक्षा मात्रै नभएर सिबिलाइजेनका लागि अथक मेहनत गर्दै आएका छौं’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापाले २६ बर्षदेखि आदर्शको उच्च आदर्शलाई उजागर गर्दै दैनिक नेपालगन्ज सँग भने, ‘हाम्रो उद्देश्य यस विद्यालयमा उत्तिर्ण भएका विद्यार्थीहरुको उच्च स्तरीय करियर मार्फत सफल जीवनयापन गर्न सकुन् भन्ने छ ।’
सोमवार विद्यालयमा देखिएको विद्यार्थीको उत्साह देखाउदै प्रधानाध्यापक जोशी भन्छन्, ‘विगत २६ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित आदर्शले अत्याधुनिक पूर्वाधारसहित उत्कृष्ट नतिजा दिन सफल भइरहेकोले पनि यो आकर्षण सम्भव भएको हो ।’
‘दक्ष शिक्षक, आधुनिक शिक्षण प्रविधि तथा विद्यार्थीमैत्री वातावरणको संयोजनले गर्दा आदर्शमा भर्ना हुन चाहनेहरूको संख्या बढ्दो छ,’ जोशीले भने ।