खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको जग्गा ११ मिटरसम्म अतिक्रमण भएको फेला परेको छ । कार्यालयले आफ्नो लालपुर्जा अनुसार सोमबार नापी गराउँदा १.९५ मिटरदेखि ११ मिटरसम्म कार्यालय भवनको उत्तर, पश्चिम तर्फ अतिक्रमण भएको फेला परेको कार्यालय प्रमुख, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिएका छन् ।
‘कार्यालयलाई भविष्यमा सेवा बिस्तार गर्न थप भौतिक पूर्वाधार निर्माण आवश्यक हुने भएकाले जग्गा एकिन गर्न नापी गर्दा जग्गा अतिक्रमण भएको पाइएको हो’, कार्यालय प्रमुख पोखरेलले भने, ‘अब नापीले प्रतिवेदन दिएपछि कानुनी प्रक्रिया अनुसार अतिक्रमण हटाउने योजनामा अघि बढ्छौं ।’
कार्यालय प्रमुख पोखरेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला बनाउने विभागको योजना रहेकाले त्यसका लागि थप पूर्वाधार आवश्यक हुँदा जग्गाको खोजी सुरु गरिएको बताउँछन् ।
‘हाम्रो ल्याबबाट भएको परीक्षणको मान्यता अन्तर्राष्ट्रिय स्तरमा बनाउनका लागि विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्छ, त्यसमा भौतिक पूर्वाधार, आवश्यक र दक्ष जनशक्ति लगायत रहेका छन्’, उनी भन्छन् ।
कार्यालय प्रमुख पोखरेलले कार्यालयको नाममा चार कठ्ठा जग्गा भएपछि हाल साढे २ कठ्ठा मात्रै प्रयोगमा रहेको बताए ।
कार्यालय परिसर खुला हुँदा सुरक्षा चुनौति रहेको रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी बताउँछन् । ‘हिडडुल गर्ने, फोहोर फाल्ने, नाला समेत निर्माण भएको अवस्थामा जग्गाको संरक्षण हुन सकेको छैन’, कर्मचारी भन्छन् ।































