युवामाझ विस्तारिँदो लतको खतरा
सन्ध्या गैरे
भारतसँग खुला सिमाना भएका बाँके र बर्दिया जिल्लाबाट शनिबार मात्रै ब्राउनसुगरसहित पक्राउ परेका युवाहरूको संख्याले दुुईवटा यथार्थ उजागर गरेको छ— एकातिर प्रहरीको सक्रियता, अर्कातिर लागूऔषधको लतमा तानिँदै गइरहेका युवाको बढ्दो संख्या ।
त्यतिमात्रै होइन, प्रहरी प्रधान कार्यालयले आइतवार दिएको जानकारी अनुसार, देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् ।
प्रहरीको सक्रियतामा काठमाडौँदेखि कैलालीसम्म विभिन्न खालका लागूऔषधसहित उनीहरूलाई शनिबार पक्राउ गरिएको हो । यो संख्यामा अधिकाँश भारतीय सीमासँग जोडिएका तराई जिल्लाका घटना हुन् ।
बाँकेः खुला सीमा, बढ्दो ओसारपसार
नेपालगन्ज उपमहानगरपालिका–१४ उदयपुरबाट २३ वर्षीय अजय कुमार खटिक १६ ग्राम ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परे । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सीमावर्ती क्षेत्र नेपालगन्जबाट ठूलो परिमाणमा लागूऔषध फेला पर्नु आफैँमा चिन्ताजनक संकेत हो । यो नयाँ घटनापनि होइन । दिनहुँजसो यसखालका घटनाको पुनरावृत्ति भइरहेको छ ।
त्यस्तै, बाँकेकै बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय गौरव थारू भारतबाट साइकलमा नेपालतर्फ आउँदै गर्दा बर्दियाको बढैयाताल–२ मा प्रहरीले १.४ ग्राम ब्राउनसुगरसहित पक्राउ ग¥यो । यसले देखाउँछ, सीमा नजिकको स्थानबाट लागूऔषध ल्याउने क्रम अझै रोकिएको छैन । नत यसलाई रोक्न भारततर्फका सुरक्षा निकायले प्रभावकारी पहलनै लिएका छन् ।
बर्दियाः उपभोगसँगै व्यापार पनि बढ्दो
बर्दिया जिल्लामा पनि शनिबार मात्रै दुई छुट्टाछुट्टै घटनामा तीन जना ब्राउनसुगरसहित पक्राउ परे । गुलरिया नगरपालिका–७ बदालपुरबाट ३१ वर्षीय अशोक कुमार यादव र ४३ वर्षीय रामप्रसाद रैदास पक्राउ परे भने बढैयातालबाट बाँकेका गौरव थारू । यी घटनाले बर्दियामा लागूऔषधको उपभोग मात्र होइन, वितरण सञ्जालसमेत सक्रिय रहेको संकेत गर्छ ।
भारतसँगको सीमा जोखिमको केन्द्र
बाँके र बर्दिया दुवै भारतसँग जोडिएका जिल्लाहरू हुन् । सीमाबाट सस्तो र सजिलै उपलब्ध हुने लागूपदार्थहरू सीमापारबाट नेपाल भित्रिने र यहाँका युवालाई निशाना बनाइने क्रमले यो क्षेत्रलाई संवेदनशील बनाएको छ । यो अवस्थाले लागूऔषध नियन्त्रणमा ठूलो चुनौती प्रस्तुत गरिरहेको छ ।
युवामाझको लतः राज्यका लागि चेतावनी
पक्राउ परेका अधिकांश व्यक्ति १९ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूह शिक्षा, स्वरोजगार र सामाजिक निर्माणको प्रमुख शक्ति हो । तर लागूऔषधको चङ्गुलमा फसेर उनीहरू न राज्यको सम्पत्ति बन्न सकिरहेका छन्, न आफ्नै भविष्यको रेखा कोर्न सकिरहेका छन्। यसले राज्यलाई दीर्घकालीन सामाजिक र स्वास्थ्य जोखिमतर्फ सचेत गराउनु जरुरी छ ।
प्रहरी सक्रियता प्रशंसनीय, तर समाधान पर्याप्त छैन
पछिल्लो समय लागूऔषध ओसारपसार र कारोबारमा प्रहरीले सक्रियता बढाएको छ । यसले आपराधिक सञ्जालको केही हदसम्म भण्डाफोर गरे पनि वास्तविक समाधान भने दीर्घकालीन रणनीतिमा निहित छ— सीमामा निगरानी कडा बनाउने, युवा लक्षित पुनस्र्थापना कार्यक्रम ल्याउने, शिक्षा प्रणालीमै लागूपदार्थबारे चेतना बढाउने ।
निष्कर्ष
बाँके र बर्दियामा देखिएको यो अवस्था कुनै आकस्मिक घटना होइन । भारतसँगको खुला सीमाका कारण लागूऔषध ओसारपसार सजिलो हुनु र नेपाली युवामाझ त्यसको लत गहिरिँदै जानु राज्यका लागि खतरा हो । यदि समयमै नियन्त्रण गरिएन भने लागूऔषधको व्यापारले सामाजिक अपराध, बेरोजगारी र मानसिक स्वास्थ्य समस्यालाई अझै गम्भीर बनाउने निश्चित छ ।
