नेपालगन्ज–दिल्ली उडान योजनालाई प्रमको भारत भ्रमणमा एजेण्डा बनाउन पहल

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्नेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणका लागि भदौ ३१ गते भारत प्रस्थान गर्ने टुंगो लागे सचिवालयले जनाएको छ ।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले पद सम्हालेको १४ महिनापछि भारत भ्रमण गर्ने निश्चित भएको हो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा उडान सम्बन्ध स्थापनाको सवाललाई ऐजेण्डा बनाउन पहल थालिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा नेपालगन्ज र दिल्लीबीच सिधा हवाई उडानको विषयले फेरि एकपटक प्राथमिकता पाएको हो ।

विगतमा पटकपटक कुरा उठे पनि ठोस निष्कर्षमा पुग्न नसकेको यो मुद्दालाई यसपटक भने नेपालगन्ज उद्योग वाणिज्य संघले सक्रियताका साथ अगाडि बढाउन खोजेको छ ।

‘प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको मित्र राष्ट्र भारतको भ्रमणमा यो विषयलाई प्रमुखताका साथ उठाउन पहल गर्ने निर्णय गरेको छ,’ बुधवार भएको सर्वपक्षीय बैठकको निर्णयबारे जानकारी दिंदै संघका महासचिव भीमबहादुर रानाभाटले भने ।

रानाभाटका अनुसार, नेपालगन्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा ’नेपालगन्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । सोही समूहको बैठकले विभिन्न कार्यादेशसहितको निर्णय गरेको हो ।

‘दबाब प्रभावकारी बनाउन विभिन्न कार्ययोजना बनाइदैछ,’ दबाब समूहका सदस्य–सचिवसमेत रहेका संघका महासचिव रानाभाटले भने, ‘त्यसका लागि विभिन्न संयन्त्रसमेत बनाइएको छ ।’ संघका अध्यक्ष धामीले यो ऐजेण्डा स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले सबै राजनीतिक दलहरुलाई समन्वय गरेर प्रधानमन्त्रीसम्म पुगिने योजना सुनाए ।

नेपालगन्ज–दिल्ली उडान योजनालाई सार्थक बनाउन प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डा बनाउन पहलका लागि भएको बैठकमा सरोकारवाला विभिन्न क्षेत्रका प्रतिनिधिहरुले दबाबको निरन्तरताको आवश्यकता औल्याएका थिए ।

‘ऐजेण्डाहरु जसरी प्राथमिकताका साथ उठाइन्छ, त्यसको टुंगो नलागुञ्जेल छाडिनु हुन्न,’ बैठकमा नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले भने । बाँके काँग्रेसका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा राखेर अगाडी बढ्न सुझाव दिए ।

नेपालगन्जलाई ’मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगन्ज– दिल्ली सिधा उडान अपरिहार्य मानिएको छ । यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको बैठकमा औल्याइएको छ ।

त्यसका लागि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिको संयोजकत्वमा पूर्व अध्यक्ष झलक गैरे, नेपाली काँग्रेस बाँकेका सचिव सुधाँशु कोइराला, पत्रकार शरण कर्माचार्य, शंकर खनाल, आशीष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ । यो समितिले १० दिन भित्र नेपालगन्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ ।

त्यस्तै, नेपालगन्ज– दिल्ली उडानको मागलाई निरन्तर छलफल र बहसका माध्यमबाट निष्कर्षमा पुर्याउन दबाब सिर्जनाका लागि आवश्यक कार्ययोजनाका लागि संघका महासचिव रानाभाटको संयोजकत्वमा पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगर र स्थानीय शासन विज्ञ मीनबहादुर मल्ल सदस्य रहेको समिति गठन गरिएको छ ।

‘तीनै तहका सरकारसँग सहकार्य गरेर यसलाई सफल बनाउने गरि अगाडी बढ्ने निर्णय भएको छ,’ सदस्य–सचिव रानाभाटले बैठकको निर्णय सुनाउँदै दैनिक नेपालगन्जसँग भने, ‘स्थानीय सरकारका प्रमुख, प्रदेश सभाका सदस्यहरु र बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल पनि गरिंदैछ ।’

Exit mobile version