नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक क्रान्तिबाट शासन व्यवस्था परिवर्तन भए पनि जनजीवनमा आवश्यक परेको आर्थिक रूपान्तरण अझै अधुरै रहेको बताएका छन् । आइतबार नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘उत्पादनमूलक व्यवसाय’ विषयक छलफल कार्यक्रममा उनले देशलाई आत्मनिर्भर बनाउन अब कृषि र उत्पादनमूखि अर्थनीतिमा जोड दिनुपर्नेमा जोड दिए ।
नेकपा महासचिव विप्लवले वर्तमान नेपालको मुल समस्या बेरोजगारी, भ्रष्टाचार र आयातमूखि अर्थतन्त्र भएको उल्लेख गर्दै राजनीतिक परिवर्तनले मात्र जनताले सुख, समृद्धि र रोजगारी नपाउने बताए । उनका अनुसार, देशलाई आत्मनिर्भर बनाउन सरकारले किसान, व्यवसायी र उत्पादनमूलक क्षेत्रलाई संरक्षण दिनु जरुरी छ ।
महासचिव विप्लवले आफ्नै पार्टीले आत्मनिर्भर अभियानको थालनी कृषि बाटै गरेको बताए । ‘हामीले सुरु गरेका छौं, ठूलै उपलब्धी भयो भन्ने दाबी गर्दैनौं, तर राजनीति दल, व्यवसायी, उद्योगी, आम जनता सबैको सहयोग भयो भने ५÷७ बर्षमा कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने र कृषि उत्पादनमा आधारित उद्योगले आयात गर्न नपर्ने अवस्था ल्याउन सकिन्छ’, उनले भने ।
‘हामीले पार्टीका नेता तथा कार्यकर्तालाई जमिनसँग जोडेका छौँ । उनीहरू खेतबारीमा पस्न थालेका छन् । यसले गर्दा संगठन विस्तारका क्रममा गाउँघर जाँदा खानपिनमा समस्या पर्दैन । यसलाई आगामी दिनमा जनता र समाजसम्म विस्तार गर्दै कृषिलाई उत्पादनमूखि अर्थतन्त्रको आधार बनाउन चाहन्छौँ’, नेकपा महासचिव विप्लवले भने, ‘कहिलेसम्म चन्दा माग्दै पार्टी चलाउने, परिवार पाल्ने, चन्दा दिनेले कतिसम्म दिने र चन्दा लिदालिंदा हुने भावना कति हेलित हुन्छ, त्यो सोच्नु पर्छ ।’ उनले पार्टीले सुरु गरेको कृषि अभियानलाई केवल आत्मनिर्भर अभियानको रूपमा नभई राष्ट्रिय स्वाधीनता र विकाससँग पनि जोडेर व्याख्या गरे । उनका अनुसार, ‘आज हामी विदेशी अनुदान र आयातमा निर्भर छौँ, जसले हाम्रो अर्थतन्त्र कमजोर बनाएको छ । कृषि क्रान्तिबाट मात्र आत्मनिर्भरता सम्भव छ ।’
कार्यक्रममा बोल्दै महासचिव विप्लवले उद्योग र कृषि बीच सहकार्य र समन्वय अपरिहार्य रहेको स्पष्ट पारे । ‘देशमा उद्योग र व्यवसाय छुट्टै गतिमा हिँडिरहेका छन् । तर, उद्योगको कच्चा पदार्थ कृषिबाटै आउँछ । कृषि र उद्योगबीच सहकार्य नगरी आत्मनिर्भर अर्थतन्त्र सम्भव छैन । त्यसैले हामी पार्टीलाई मात्र होइन, सम्पूर्ण समाजलाई कृषिसँग जोड्न चाहन्छौँ’, उनले भने ।
विप्लवले कृषि क्रान्ति पार्टीको प्राथमिक कार्यक्रम भएको बताउँदै राज्यको नीतिनिर्माणमा समेत कृषिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘यदि राज्यले नीति र संरचनामा सहयोग पु¥यायो भने कृषिले बेरोजगारी, गरिबी र आयात निर्भरतालाई न्यून गर्न सक्छ । किसान उत्पादन गर्न तयार छन् तर बजार र उद्योगसँगको सम्बन्ध नबन्दा उनीहरू निराश छन् । त्यसैले हामी कृषि, उद्योग र व्यवसायलाई एउटै उत्पादनमूलक चक्रमा जोड्नुपर्ने हुन्छ ।
विप्लवले कृषि र उत्पादनमुखी अर्थतन्त्रले देशमा फैलिएको बेरोजगारी र भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, ‘जब उत्पादनमा जनतालाई जोडिन्छ, तब उनीहरूको आयआर्जन बढ्छ । आत्मनिर्भर नागरिक भ्रष्टाचारमा कम संलग्न हुन्छन् । त्यसैले कृषि क्रान्ति केवल पेट भर्ने माध्यम नभई स्वच्छ समाज निर्माणको आधार पनि हो ।’
विप्लवले पार्टीलाई आत्मनिर्भर बनाउन कृषि प्रयोगको सफल उदाहरण प्रस्तुत गरे । उनका अनुसार, कार्यकर्ताले आफ्नै मेहनतमा उत्पादन गरेको अन्न, तरकारी, अन्नबाली प्रयोग गर्दा संगठन विस्तारमा आर्थिक बोझ कम भएको छ । ‘हामी आत्मनिर्भर पार्टी बनाउन सक्षम भएका छौँ भने आत्मनिर्भर देश बनाउन किन सकिँदैन ?’ उनले प्रश्न गरे । उनले यो अभियानलाई अब जनस्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । ‘पार्टी, नेता र कार्यकर्ता मात्रै होइन, हामी जनता बीच कृषिको महत्व पु¥याउँदै त्यसलाई व्यवसायिक बनाउनेछौँ,’ उनले बताए । महासचिव विप्लवले विभिन्न जिल्लामा पार्टीको नेता, कार्यकर्तालाई कृषिमा जोडिसकेको र बाँकेमा पनि जोड्ने योजना रहेको सुनाए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफल कार्यक्रममा उद्योगी, व्यवसायी, व्यापारी, पार्टी नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष टंक धामीको अध्यक्षता र महासचिव भीमबहादुर रानाभाटको सञ्चालनमा सम्पन्न कार्यक्रममा व्यवसायीहरूले नेकपाले सुरु गरेको कृषि क्रान्तिलाई स्वागत योग्य कदम भन्दै यसलाई थप विस्तारित गर्न सुझाव दिए । व्यवसायीहरूले कृषिलाई व्यवसायसँग जोड्नुपर्ने, उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्थानीय उत्पादनबाट उपलब्ध गराउनुपर्ने र कृषि व्यवसायलाई व्यवसायिक खेतीतर्फ लैजानुपर्नेमा जोड दिए ।
नेपालगन्ज–दिल्ली उडानलाई समर्थन
कार्यक्रममा स्वागत गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संघले नेपालगन्ज–दिल्ली उडानका लागि पहल गरिरहेको जानकारी दिंदै नेकपाको पनि समर्थन चाहेको बताएका थिए । अध्यक्ष धामीले नेकपा कृषिमा जोडिएकोमा प्रशंसा पनि गरेका थिए । संघ अध्यक्ष धामीले राखेको नेपालगन्ज–दिल्ली उडानको विषयलाई नेकपाले पूर्ण समर्थन गर्ने महासचिव विप्लवले बताएका थिए । ‘त्यसका लागि सम्बन्धित निकायमा नेकपाले पहल गर्नेछ’, उनले भने ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, व्यवसायी उषा थापा भण्डारी लगायतले बोलेका थिए ।
