नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले माथिल्लो तेजनगरमा विकास निर्माणका कामलाई निरन्तरता दिँदै माथिल्लो तेजनगरमा नाला तथा पीसीसी सडक निर्माण कार्यको शिलान्यास गरिएको छ ।
वडाध्यक्ष दिपक कुमार वर्माले बिहीबार रु २० लाखको लागतमा निर्माण हुने उक्त योजनाको शिलान्यास रेका हुन् । वडाध्यक्ष बर्माका अनुसार, आयोजनाअन्तर्गत १६० मिटर नाला र १३० मिटर पीसीसी सडक निर्माण गरिनेछ ।
शिलान्यास कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयले लामो समयदेखि प्रतीक्षामा रहेको पूर्वाधार निर्माण सुरु भएपछि खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष वर्माले विकास निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाउँदै निरन्तर जनताको सेवामा समर्पित रहेको बताए । ‘विकास भनेको साझा सपना हो, त्यसलाई वास्तविकतामा बदल्ने यात्रामा हामी निरन्तर अघि बढिरहेका छौं,’ बर्माले भने ।
स्थानीय वासीबीच वडाध्यक्ष बर्माले आर्थिक वर्षको सुरुमै केही योजनामा बजेट कटौती तथा स्थगन भए पनि वडास्तरका विकास योजनाहरूलाई निरन्तर अघि बढाइएको जानकारी दिए । साथै, संघीय र प्रदेश सरकारबाट विनियोजित बजेट कार्यान्वयनका लागि पनि सक्रिय रूपमा काम भइरहेको उनको भनाइ थियो ।
वडाध्यक्ष बर्माले वडा नं. १८ मा चालु आर्थिक वर्षमा करिब १२ करोड रूपैयाँका दुई ठूला योजनासहित विभिन्न साना विकास परियोजनाहरू सञ्चालनमा रहेको जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको समग्र बजेटमा २० प्रतिशत कटौती भए पनि वडाले २०–२२ वटा साना योजनालाई पूर्णता दिने लक्ष्यसहित काम गरिरहेको उनले स्पष्ट पारे । यसअघि पनि सिद्धार्थ शिवशक्ति टोलमा ३० लाख रूपैयाँको लागतमा २२९ मिटर नाला तथा पीसीसी सडक निर्माण कार्यको शिलान्यास गरिएको थियो, जसलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
