त्रिभुवन चोकमा श्रीकृष्ण जन्मझाँकी रंगारंग चल्दै

आज ‘जवाबी किर्तन’

नेपालगन्जको त्रिभुवनचोकमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुरु भएको श्रीकृष्ण जन्मझाँकी रंगारंगको विशेष दिन मंगलवार भव्य जवाबी किर्तन गरिने भएको छ ।

आयोजक समितिका अध्यक्ष नन्दलाल बैश्यका अनुसार, पहिलो दिन श्रीकृष्ण लीलाको प्रदर्शन गरिएको रंगारंगमा दोस्रो दिन भगवान राम चरित्र प्रस्तुति गरिएको छ । भने, तेस्रो दिन सोमवार श्रीकृष्ण–सुदामा लीला प्रस्तुति आयोजन भएको छ ।

‘कानपुरबाट झिकाइएका सचदेवा सरारती र राखी अजादसहितको टिमले विशेष जवाबी किर्तनले रंगारंगलाई भव्यता दिनेछ,’ अध्यक्ष बैश्यले दैनिक नेपालगन्जसंग भने, ‘यो नेपालगन्जको मौलिकतामा रचिएको सांस्कृतिक इतिहासको निरन्तरता हो, सम्मान हो ।’

स्व मोहनलाल बैश्यले झण्डै सयवर्ष अघिदेखि शुरु गरेको श्रीकृष्ण जन्मझाँकी रंगारंगलाई औपचारिक आयोजक समिति गठन गरि आफुहरुले निरन्तरता दिंदै आएको अध्यक्ष बैश्यको भनाइ छ ।

त्यसका लागि गत साउन २८ गते भएको सामाजिक अगुवाहरुको भेलाले नन्दलाल बैश्यको अध्यक्षतामा श्रीकृष्ण जन्माष्टमी, कृष्ण जन्मझाँकी रंगारंग समिति गठन गरि यो आयोजनाको आवश्यक निर्णय र तयारी गरेको हो ।

समितिमा जितेन्द्रबहादुर सिंह र रमारानी गुप्ता उपाध्यक्ष

डा. राजेन्द्र कुमार गुप्ता सचिव, शैलेन्द्रकुमार बैश्य प्रचारसचिव,

नन्दकिशोर बैश्य कोषाध्यक्ष, बृजेश बहादुर सिंह, हंसराम साहु, रामकुमार बैश्य, विमला बैश्य र संगीता बैश्य सदस्य छन् ।

अध्यक्ष बैश्यले आयोजना भव्य रुपले सफल भइरहेकाले जवाबी किर्तनमा अझै उत्साह भरिने विश्वास व्यक्त गरे । आज साँझ देखि चल्ने जवाबी किर्तन विहानैसम्म आयोजना हुने आयोजकले जनाएको छ ।

Exit mobile version