नेपालगन्जकी नबिना रानाभाटका पक्षमा अभियान

रियालिटी सो एक्टिङ स्टार बाट लुम्बिनीको गौरवसम्म

पृथक सपना बोकेर राजधानी पुगेकी एक साधारण युवती नबिना रानाभाट आज देशव्यापी चिनिने नाम बनेकी छिन् । चर्चित रियालिटी शो एक्टिङ स्टार मा टप १० सम्म पुग्न सफल नबिनालाई मंगलबार आफ्नै गृह जिल्ला बाँके फर्किँदा नायिकाजस्तै भव्य स्वागत गरिएको हो ।

नेपालगन्ज विमानस्थलदेखि शहरका गल्लीसम्म नबिनाका प्रशंसकहरूको उत्साह हरेक कोणबाट झल्किन्थ्यो । परिवार, शुभेच्छुक, साथी र स्थानीय समाजले उनलाई खादा–माला, फूल र तालीको गड्गडाहटसहित ‘प्रदेशको गौरव’को उपाधि प्रदान गरेझैँ सम्मानजनक स्वागत गरे ।

कार्यक्रममा नबिनाले अभिनय गरेको एउटा उत्कृष्ट दृष्य देखाइएको थियो । ‘त्यो जादुमय अभिनय हेरेर अतिथि लगायत सबैजना भावुक बन्नुभएको थियो,’ कार्यक्रममा उपस्थित साहित्यकार भरतबहादुर रानाभाटले भने । त्यसक्रममा नविनाले अभिनयकलाको बारेमा आफ्नो धारणा राखेकी थिइन् भने पत्रकारहरुको विभिन्न जिज्ञासा पनि मेट्ने प्रयत्न गरेकी थिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य, पूर्वमन्त्री कृष्णा केसीले नविनाको प्रतिभालाई जीतको शिखरमा देख्न चाहेको बताइन् । उनले भोटका लागि आग्रह गरिन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले नविनाको कलाको प्रशंसा गरे ।

मञ्चदेखि मिडियासम्म समर्थनको लहर

नेपालगन्ज ग्यालरीको अगुवाइमा जिल्लास्थित स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी र कलाकारसम्म सक्रिय भई नबिनाको जीतका लागि विशेष अभियान सुरु गरिएको छ । मिडिया क्याम्पेन, सामाजिक सञ्जाल र व्यक्तिगत भेटघाटमार्फत भोट अपिल तीव्र भइरहेको ग्यालरीका संयोजक समीरमान श्रेष्ठले जानकारी दिए ।

‘नबिनाको जित केवल उनको व्यक्तिगत सपना होइन, सिङ्गो लुम्बिनी प्रदेश र पश्चिम नेपालको सामूहिक गौरव हो,’ अभियानमा जुटेका स्थानीय अभियन्ताहरूले कार्यक्रममा भने ।

अभिनयमै जीवनको परिचय

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिना अडिसनदेखि नै निर्णायकहरूको ध्यान आकर्षित गर्न सफल भएकी थिइन् । उनको अभिनय शैली, संवादमा ल्याउने जीवन्तता र भावनात्मक गहिराइले उनलाई निरन्तर दर्शकको मन जित्दै टप १० मा पु¥यायो । ‘यसमा नेपालगन्जवासीको ठुलो योगदान छ,’ आफ्ना स्वागत सम्मान र जीतको अभियानका लागि गरिएको कार्यक्रममा नविनाले भनिन् ।

अबको चरणमा उनले लुम्बिनी प्रदेश र बाँकेको कथा आफ्नो प्रस्तुतिमा उतार्ने घोषणा पनि गरेकी छन् ।

‘म बाँकेको मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशकै छोरी हुँ । कृपया मलाई माया गरेर भोट दिनुहोस्,’ जन्म दिने आमाबाबु नजिकै रहेकी नबिनाको भावुक अनुरोधले स्थानीय समुदायलाई अझै नजिक तानेको छ ।

सामूहिक गौरवको यात्रा

सहरका युवादेखि गाउँका आमासम्म, महिला संघ–संस्था देखि व्यवसायी समुदायसम्म नबिनालाई जिताउन अभियानमा जुटेका छन् । सम्बद्ध अभियन्ताका अनुसार, सामाजिक सञ्जालमा उनको समर्थनमा ह्यासट्याग क्याम्पेन चलेको छ भने विभिन्न समूहहरूले प्रचार सामाग्री तयार पार्दै घर–घरमा अपील सुरु गरेका छन् । ‘बुधवार विद्यालयस्तरमा पुगेरै अभियानलाई अगाडी बढाइनेछ,’ अभियानबारे भनिएको छ ।

नबिनाको यात्रा अहिले व्यक्तिगत प्रतिभाको मात्र कहानी छैन, यो लुम्बिनी प्रदेशकै सपनालाई राष्ट्रिय मञ्चमा पु¥याउने सामूहिक अभियान बनेको छ ।

नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ । अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप टेनमा पुग्न सफल नबिनाले गृह जिल्ला नेपालगन्ज पुगेर अभियानमा सहभागी भएकी हुन् ।

‘म बाँकेको मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशकै छोरी हुँ । कृपया मलाई माया गरेर भोट दिनुहोस्,’ नबिनाले स्थानीय अभियानमा सहभागीहरूलाई आग्रह गरिन् । परिवार, शुभेच्छुक र स्थानीय समुदायले भव्य स्वागत गर्दै नबिनालाई ‘लुम्बिनी प्रदेशको गौरव’को रूपमा अघि बढाएका छन् ।

गाउँ–सहरका युवादेखि महिला संघ–संस्थासम्म उनलाई जिताउन सामाजिक सञ्जालदेखि मिडिया क्याम्पेनिङमार्फत व्यापक प्रचारप्रसार सुरु गरिएको छ । अब नबिनाको जित केवल व्यक्तिगत सपना मात्र नभएर सिङ्गो लुम्बिनी प्रदेश र पश्चिम नेपालको सामूहिक गौरवमा परिणत गर्ने समय आएको उनलाई जिताउने अभियानमा लागेका अभियन्ताहरूको भनाइ छ ।

‘मौलिकपन भनेकै आफ्नोपन हो,’ नविनाबारे भोटिङ अपील गर्दै नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भनेका छन्, ‘बाँके बर्दियाकी यी चेली साँच्चिकै प्रतिभाशाली छिन्, उनको मिहिनेत र हौसला उदाहरणीय छ ।’ ‘हामी सबैले आफ्नोपन देखाउने अवसरहरु मध्ये सायद यो पनि एक हो,’ सामाजिक अभियन्ता सिग्देलले भनेका छन् ।

‘नेपालगन्जकी चेली नबिना रानाभाटले सबैको साथ सहयोग र भोट पाएको खण्डमा उनको जीत निश्चित छ,’ भरत सार्वजनिक अपील गर्दै भन्छन्, ‘जीत सुनिश्चित गर्न यहाँहरुको तर्फबाट जतिसक्दो धेरै भन्दा धेरै भोट गरेर हौसला बढाईदिनुहुन सबैमा बिनम्र अनुरोध छ ।’

Exit mobile version