पिपल नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक जीवनसँग गहिरो सम्बन्ध राख्ने एक महत्त्वपूर्ण वृक्ष हो । यो सजिलै पाईन्छ प्राय गाउँ, चौतारी, मठ–मन्दिर र बस्ती नजिकै पाइन्छ । पिपलको पात विशेष ढाँचाको हुन्छ माथिल्लो भाग चौडा र तलपट्टि लामो टुप्पो भएको, जसले हावामा
हल्का हल्लिँदा मनमोहक ध्वनि
निकाल्छ । यसको जराहरू बलिया हुन्छन्, जसले माटोलाई मजबुत बनाएर क्षरण रोक्छ । पिपल सामान्यतया सयौं वर्ष बाँच्छ र कतिपय ऐतिहासिक पिपललाई हजारौं वर्ष पुरानो समेत मानिन्छ । यसको आयु र विशाल आकारका कारण मानिसहरूले यसलाई अमरत्वको प्रतीक मानेका छन् । नेपालका ग्रामीण क्षेत्रमा पिपलको छायाँले यात्रा गर्ने, मेलमिलाप गर्ने र विश्राम गर्ने सामुदायिक स्थलको भूमिका निर्वाह गरेको छ । यसैले पिपललाई साधारण वृक्ष मात्र नभई समुदायको संरचना र सामाजिक जीवनलाई जोड्ने माध्यमका रूपमा हेरिन्छ ।
पिपलको धार्मिक महत्व असाधारण छ । हिन्दू धर्ममा यसलाई विष्णु भगवानको प्रतीक मानिन्छ र विशेषत शनिबारको दिन महिलाहरूले पिपल पूजा गरेर परिवारको दीर्घायु, सन्तान सुख र आर्थिक सम्पन्नताको कामना गर्छन् र शनि ग्रह हुनेले सनिवार पिपलको रुखको फेदमा पानी हाल्यो भने ग्रह कट्छ भन्ने भनाई छ ।ब्राह्मणहरूले वेदपाठ पुरोहितहरूले धार्मिक अनुष्ठान र भक्तहरूले व्रत पूजा गर्दा पिपललाई साक्षी राखिन्छ । कतिपय पुराणका अनुसार पिपलमा ब्रह्मा, विष्णु र शिव तीनै देवता वास गर्छन् भन्ने विश्वास
छ । बौद्ध धर्ममा पनि पिपलको स्थान उच्च छ किनकि गौतम बुद्धले बोधगयामा पिपलमुनि ध्यान गरेर निर्वाण प्राप्त गरेका थिए । त्यसपछि यो वृक्षलाई ‘बोधि वृक्ष’ भनेर पूजा गरिन
थालियो । नेपालका बौद्धविहार र गुम्बामा पनि पिपल वा यसको वंशज बोट रोप्ने परम्परा छ । सामाजिक दृष्टिले हेर्दा, गाउँ–टोलमा पिपल चौतारी भेटघाट, छलफल, मेलमिलाप र सांस्कृतिक कार्यक्रम हुने ठाउँ बन्ने गरेको छ । यसले पिपललाई केवल धार्मिक वृक्ष नभई सामाजिक एकताको आधारशिला बनाएको छ ।
आध्यात्मिक रूपमा पिपललाई शान्ति, ध्यान र मोक्षसँग जोडिन्छ । यसको हावामा हल्का कम्पनले मनलाई स्थिर र आनन्दित बनाउँछ, जसले योगी र साधकहरूलाई ध्यानमा सहजता
दिन्छ । पिपलको छायाँमा बसेर मानिसहरूले आत्मचिन्तन, प्रार्थना र ध्यान गर्ने परम्परा पुरानो छ । पर्यावरणीय दृष्टिले पिपल अमूल्य
छ । यसको ठूलो आकार र गहिरा जराले माटोको कटान रोक्छ, वर्षात्को पानी सन्तुलित गर्छ र भू–क्षरण नियन्त्रण
गर्छ । वैज्ञानिकहरूले पिपलको पातले उच्च स्तरमा प्रकाशसंश्लेषण गर्ने देखाएका छन्, जसले वातावरण शुद्ध गर्न मद्दत गर्छ । यद्यपि ‘पिपल राति अक्सिजन उत्सर्जन गर्छ’ भन्ने लोकप्रिय भनाइ वैज्ञानिक रूपमा प्रमाणित नभए पनि, दिनको समयमा यसले उच्च मात्रामा अक्सिजन उत्पादन गर्ने भएकाले हावाको गुणस्तर सुधार्न ठूलो योगदान पु¥याउँछ । चराचुरुङ्गी, बाँदर, गिलहरी जस्ता वन्यजन्तुको आहार र आश्रय पनि पिपलले दिन्छ, जसले जैविक विविधता जोगाउन मद्दत
गर्दछ । यसरी पिपलले केवल आध्यात्मिक शान्ति नभई भौतिक–पर्यावरणीय सन्तुलन पनि कायम राख्छ ।
आयुर्वेदिक चिकित्सामा पिपललाई बहुमूल्य औषधीय स्रोत मानिन्छ । यसको बोक्राबाट निकालिएको रस घाउमा लगाउँदा निको हुन्छ, पातको धुलोले पाचन समस्या समाधान गर्छ, र फलले पखाला रोक्ने गुण राख्छ । पिपलका जराबाट बनेको पेस्ट दाँत दुखाइमा प्रयोग हुने परम्परा पनि छ । गाउँ–घरमा पिपल वरिपरि हुने चौतारी सामाजिक जीवनको केन्द्रीय स्थल बनेको छ । यहाँ वृद्धहरूले बालबालिकालाई कथा सुनाउने, किसानहरूले खेतीबालीबारे छलफल गर्ने, गाउँलेहरूले विवाद मिलाउने र यात्रुहरूले विश्राम गर्ने काम हुने गर्दछ । यसरी पिपल केवल वृक्ष मात्र नभई सामाजिक मेलमिलाप, शिक्षा र संस्कृतिको प्रत्यक्ष केन्द्र बन्छ । साथै, मठ–मन्दिरमा रहेको पिपलले धार्मिक पर्यटनलाई आकर्षित गर्छ, जसले स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउँछ । नेपालकै सन्दर्भमा हरेक गाउँ–शहरमा कुनै न कुनै पिपल चौतारीले इतिहास बोकेको हुन्छ, जुन सामाजिक सम्पत्ति हो ।
पिपलको रुख वैज्ञानिक दृष्टिले यो रुख वातावरणीय दृष्टिबाट अनिवार्य छ, किनभने पिपलको विशाल हाँगाबिँगा र हरियो पातहरूले चराचुरुङ्गी, किराफट्याङ्ग्रा र विभिन्न जीवजन्तुलाई आवश्यक वासस्थान जीवनका लागि आधार प्रदान गर्छन् । लोखर्के, मैना, सुगा, थुप्रै प्रजातिका चराहरूले यसमा गुँड बनाएर पुस्तान्तरण गर्छन्, घामको कठोरता वा वर्षाको ठुलो पानीबाट यसले चरालाई सुरक्षित राख्छ । मौरी, भमरा , विभिन्न प्रजातिका कमिला किराहरू पातमा बस्ने किराहरू र अन्य कीटपतंगहरूले पिपललाई आफ्नो खाद्य स्रोत र आश्रयको रूपमा प्रयोग गर्छन्, जसले प्रकृतिको खाद्य श्रृंखलालाई मजबुत बनाउँछ । मौरीहरूले पिपलको फूल र रसबाट मह संकलन गर्छन् भने किराहरू यसका पात र बोक्राबाट पोषण लिन्छन्, यसरी पिपल एउटा जीवन चक्रलाई निरन्तरता दिने मुख्य आधार बनेको छ । यसका जराले जमिनलाई मजबुत पार्छन् जसको कारण जमिनमुनि बस्ने जीवजन्तु र किराहरूलाई स्थायी वासस्थान प्राप्त हुन्छ, साथै माटो कटान रोकिएर सम्पूर्ण वातावरण संरक्षणमा योगदान दिन्छ । गर्मीमा गाई, भैंसी, कुकुर, बिरालो जस्ता पशुपक्षीले पिपलको छायामा आराम गछ्र्न । भने मानिसका लागि पनि यसले शीतलता र शुद्ध वायु प्रदान गर्छ । पिपलको सबैभन्दा अद्वितीय विशेषता भनेको यसले दिन र रात दुबै समयमा अक्सिजन उत्सर्जन गर्ने क्षमता हुन्छ । जसले सम्पूर्ण चराचुरुङ्गी, किरा, पशुपक्षी र मानव सबैलाई जीवनदायी वायु उपलब्ध गराउँछ । यसरी हेर्दा पिपल केवल एउटा रुख मात्र नभई सम्पूर्ण जीवमण्डललाई आधार दिने साझा घर हो जहाँ चरा चिरबिराउँछन्, मौरी गुन्जन्छन्, पशुपक्षी आराम गर्छन् र मानिस शीतलता तथा श्रद्धा पाउँछन् । यसको संरक्षण गर्नु भनेको केवल एउटा रुख जोगाउनु मात्र होइन, सयौं प्रजातिका चरा, अनगिन्ती किरा र असंख्य जीवजन्तुको जीवनलाई सुरक्षित गर्नु पनि हो, साथै प्राकृतिक सन्तुलन र मानव अस्तित्वलाई पनि दीर्घकालीन रूपमा बचाउनु हो ।
आजको आधुनिक युगमा सहरीकरणसडक विस्तार र वृक्ष कटानीका कारण पिपलका बोटहरू धमाधम मासिँदै छन एक बर्षमा पाँच हजार जति पिपल काटिएका समाचारहरू आएका थिए बिकासको नाममा रुख पिपल काट्नु राम्रो होईन । कतिपयलाई धार्मिक आस्थाको कारण संरक्षण गरिएको भए पनि अनियोजित विकास र अज्ञानताका कारण धेरै ठाउँमा पिपल हराइरहेका छन् । यसको धार्मिक र सांस्कृतिक मात्र नभई वैज्ञानिक र पर्यावरणीय महत्वलाई बुझ्दै संरक्षण गर्ने आवश्यकता छ । सरकार, समुदाय व्यक्तिगत स्तरमा पिपल रोप्ने अभियान, धार्मिक स्थलमा यसको हेरचाह गर्ने परम्परा तथा विद्यालय–मठमा यसबारे शिक्षा दिन सकियो भने भविष्यमा पिपल हाम्रो जीवनशैलीसँग अझ मजबुत रूपमा जोडिन सक्छ । पिपल हाम्रो संस्कृतिको आत्मा हो ।
हाम्रो आध्यात्मिक चिन्तनको केन्द्र हो, हाम्रो सामाजिक जीवनको आधार हो । हाम्रो वातावरणीय जीवनरेखा पनि हो । त्यसैले यसको संरक्षण सम्पूर्ण समाजको साझा जिम्मेवारी हो ।
जय हरियाली































