नेपालगन्जका व्यवसायीहरूले व्यवसायीको त्रुटिमा हुने कडा कानुनी कारवाहीमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको सरोकारवाला निकाय र व्यवसायी बीच चाडपर्व लक्षित व्यवसायिक सचेतना कार्यक्रमका वक्ताहरूले व्यवसायीहरूलाई जान÷अञ्जानमा भएको सामान्य त्रुटिमा पनि ठूलो जरिवाना र जेलसम्मको कारवाही हुने गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
व्यवसायीहरूले व्यवसायी सचेतना आवश्यक रहेको औंल्याउँदै पहिलो सचेतना र अटेरी भए चरणबद्ध कारवाही हुनुपर्ने बताएका थिए । ‘सिधै लाखौं जरिवाना गर्ने र जेल पठाउने गर्दा कर तिरेर व्यवसाय गर्ने व्यवसायीहरू मर्कामा परेका छन्’, व्यवसायीहरूले भने ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले व्यवसायीबाट हुने त्रुटिमा चरणबद्ध जरिवानाको कारवाही गर्दैै लैजानु उपयुक्त हुने बताएका थिए । ‘पहिलो चरणमा गल्ती हुँदा सुधार गर्न समय दिनुपर्छ, जरिवाना गर्दा पहिलो चरणमा सामान्य जरिवाना उपयुक्त हुन्छ’, उनले भने, ‘तर यहाँ व्यवसायीलाई सिधै जेल पठाउने काम भैरहेको छ, यसले व्यवसायी निरुत्साहित भैरहेका छन् ।
अध्यक्ष धामीले राज्यले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै व्यवसायी पलायन रोक्न आग्रह गरेका थिए । ‘राज्यले निजी क्षेत्रलाई हेर्नुपर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’, उनले भने, ‘विदेश जानेको ओइरो छ, रोक्न उद्योग, व्यवसाय फष्टाउने वातावरण राज्यले बनाउनु पर्छ ।’ उनले स्वास्थ्यमा प्रतिकुल असर पार्ने, राज्यको नीति, नियम उल्लंघन गर्ने व्यवसायीलाई संघले संरक्षण गर्न नसक्ने पनि स्पष्ट पारेका थिए ।
संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामान्य त्रुटिमा सुधारको मौका र सामान्य जरिवाना भएपछि चर्को जरिवाना र कानुनी कारवाही हुन नहुने बताएका थिए । उनले स्वास्थ्यमै प्रतिकुल असर पार्ने खालको कार्य गर्नेलाई कडा कानुनी कारवाही हुनुपर्ने भएपनि मूल्य सूचि, बिलबिजकको त्रुटि, पसलको बोर्ड नराख्दैमा जरिवाना भन्दा सचेत बनाएर समय दिनुपर्ने धारणा राखेका थिए । ‘चाडपर्वमा बजार अनुगमन हुन्छ, उपमहानगरपालिकामा पनि अनुगमन समिति छ, समितिले अनुगमन गरेर जरिवाना गर्ने भन्दा व्यवसायी सचेतनाका महिनाको रूपमा पर्वको महिनामा अभियान सञ्चालन गरौं’, उनले भने ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघ सम्बद्ध विभिन्न वस्तुगत संघ, संगठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि ऐन, नियम, कानुन, जरिवाना लगायतको बारेमा जानकारी गराएका थिए ।































