धनुषाधाम–४ मैथिली बिहारीको कजारामा युवाहरूले सफा गरे दनवारी पोखरी

धनुषाधाम–४, मैथिली बिहारीको कजारा गाउँका स्थानीय युवाहरूले “अरु कसैले गर्छ भनेर नबसौं, हाम्रो गाउँ, हाम्रो जिम्मेवारी” भन्ने मूल नारा सहित उल्लेखनीय काम गरेका छन्। “आफ्नो गाउँ आफैं सफा गरौं” भन्ने उद्देश्य लिएर उनीहरूले गाउँकै ऐतिहासिक तथा सामुदायिक महत्वको स्थल दनवारी पोखरी सफा गरेका हुन्।

यो अभियान केवल नारामा सिमित नभई कार्यमै उतारिएको सामाजिक जागरणको उत्कृष्ट उदाहरण बनेको छ। युवाहरूको सक्रिय सहभागिता र एकताबद्ध प्रयासले पोखरीको वरिपरि रहेका फोहरमैला र झारपात हटाई सफासुघर वातावरण कायम गरिएको छ। यस सरसफाइले गाउँको सौन्दर्य मात्र नभई स्वास्थ्य र सरसफाइमा समेत सकारात्मक सन्देश दिएको छ।

स्थानीय बासिन्दाहरूले युवाहरूको यस कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस्ता जनहितका काममा निरन्तर साथ दिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पोखरी सफाइलाई दीर्घकालीन रूपमा कायम राख्ने र गाउँको अन्य स्थानहरूमा पनि यस्तै सरसफाइ अभियान विस्तार गर्ने योजना बनाएका छन्।

कजाराका युवाहरूको यो पहलले गाउँमै मात्र नभई सम्पूर्ण समुदायका लागि प्रेरणा जगाएको स्थानीय बासिन्दा अरविन्द मण्डलले जानकारी दिए।

Exit mobile version