खजुराको योगिनी माविको मैदानमा आइतबार साँझ फुटबलप्रेमीहरूलाई सास रोकिने खालको रोमाञ्चक दृश्य देख्न पाइयो ।
दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमै आयोजक योगिनी युवा क्लब ‘बी’ ले सडनडेथको नाटकीय जीत निकाल्दै प्रतियोगितामा दमदार सुरुवात गरेको हो ।
ब्रदर्श एफसी खजुरासँगको प्रतिस्पर्धा सुरुदेखि नै कडा रह्यो । दुबै टोलीले आक्रमण र प्रत्याक्रमणको उत्कृष्ट खेल प्रस्तुत गरे पनि निर्धारित समयमा गोलको खाता खोल्न सकेनन् । दर्शकदीर्घामा बसेका समर्थकहरू हरेक प्रहारसँगै आशा र निराशाको मिश्रित अनुभूति गरिरहेका थिए ।
निर्णय पेनाल्टी सुटआउटमा पुग्यो । त्यहाँ पनि दुवै टोली ४–४ को बराबरीमा रोकिएपछि खेल सडनडेथमा प्रवेश ग¥यो । तनावपूर्ण क्षणमा आठौँ नम्बरमा आएका रितेश सुनारले निर्णायक प्रहार गर्दै जाल चुमाए, जसले योगिनी ‘बी’ लाई ऐतिहासिक जित दिलायो । उनको त्यो गोलसँगै मैदानमा खुसीको लहर दौडियो ।
खेलका नायक भने आयोजक टोलीका गोलकिपर तथा कप्तान सुरज थापा बने । उनले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा जोगाइराखे। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको थियो । उनलाई हरित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष याम बहादुर थापा र टेकमाइन्ड प्रालिका मार्केटिङ म्यानेजर विजय बुढाले पुरस्कार प्रदान गरे ।
त्यसअघि प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले गर्दै खेलकुदले युवालाई सकारात्मक दिशामा अघि बढाउने बताइन् । उनले यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । वडा नं. २ का अध्यक्ष धनराम ओलीले पनि योगिनी कपले खजुरालाई फुटबलको पहिचान दिलाउँदै लगेको उल्लेख गरे ।
आयोजक क्लबका अध्यक्ष कमल पुनको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटनमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य जनक केसी, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीदेखि विभिन्न खेलकुदकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिता संयोजक गणेश राईका अनुसार, चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बाँके र बर्दियाका १३ टोलीको सहभागिता छ । विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिनेछ ।
प्रतियोगिता अन्तर्गत आज सोमबार २७ स्टार क्लब र राइजिङ स्टारबीच पहिलो खेल तथा मोडेल एफसी र सीतापुर युनाइटेडबीच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।
‘खजुरा गौघाटस्थित योगिनी विद्यालयको मैदानमा सुरु भएको यो प्रतिस्पर्धा अब दिनदिनै थप रोमाञ्चक बन्दै जाने संकेत देखिएको छ,’ बाँके जिल्ला फुटबल संघका पदाधिकारीसमेत रहिसकेका पत्रकार कमल खत्रीले भने ।
