सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लास्थित सरकारी कार्यालय निगरानी शुरु गरेको छ । कार्यालय गरिरहेको सेवा प्रवाहमा निगरानी गरेको रास्वपाले त्यसक्रममा कार्यालय प्रमुख र सेवाग्राहीसँग अन्तक्र्रिया पनि गर्ने भएको हो ।
‘सेवाग्राहीका सेवा प्रवाहमा सहजीकरण गर्न र सुशासनका लागि यो निगरानी गरिएको हो,’ आइतवार जनसरोकारका विभिन्न कार्यालयमा भेटघाट र छलफलपछि दैनिक नेपालगन्जसँग कुरा गर्दै रास्वपाका नगर अध्यक्ष नविन खड्काले भने ।
उनले निगरानीमात्रै नभएर सेवा सुधारका लागि सुझाव दिनुकासाथै आवश्यकता अनुसारको सहजीकरण गरिने गरिएको बताए । ‘जनताका गुनासा आएभने सुधारका लागि कार्यालयलाई फिडब्याक पनि दिने गरेका छौं,’ नगर अध्यक्ष खड्काले भने ।
आइतवार नगर अध्यक्ष खड्का, पछिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहिसकेका क्षेत्रीय अध्यक्ष विवेककुमार श्रेष्ठ, घनश्याम भट्ट, किरणकुमार श्रेष्ठसहितको टोलीले जनसरोकारका कार्यालयहरुमा पुगेको हो ।
नगर अध्यक्ष खड्काका अनुसार, रास्वपा टोली भेरी अस्पताल, नेपालगन्ज उप–महानगरपालिका, नापी कार्यालय पुगेको हो । यसअघि भूमिसुधार कार्यालय पुगेको टोलीले सरकारी कार्यालयमा ‘बिचौलिया मुक्त’ बनाउन दबाब दिएको थियो । ‘नापी कार्यालयमा पनि हाम्रो चासो विचौलियाको अवस्थाबारे थियो,’ खड्काले भने, ‘सेवा प्रवाहमा सुधार आएको, विचौलियामुक्त अवस्था पाइयो ।’
भेरी अस्पतालमा भिड व्यवस्थापन देखि चिकित्सकको समय व्यवस्थापनबारे चासो राखेको रास्वपा टोलीले भएगरेका सेवाहरुलाई निरन्तरता दिन आग्रह गरिएको अध्यक्ष खड्काले बताए । ‘ठुला–ठुला महँगा मसिन नचलाइएकाबारे हामीले अस्पताल प्रमुखलाई ध्यानाकर्षण गराएका छौं,’ उनले भने ।
नेपालगन्ज उप–महानगरपालिकामा नगर प्रमुख प्रशान्त विष्टसँग नगरको विकास विस्तार सँगै सेवा प्रवाहका तमाम चासोमा छलफल गरिएको रास्वपाले जनाएको छ । ‘वर्षेनी पुस्तक परिवर्तन गरेर संस्थागत विद्यालयले गरिरहेको बेथिति रोक्नेबारे सहमति पनि जुटाइएको छ,’ छलफलको निष्कर्ष सुनाउँदै युवा नेता खड्काले भने, ‘त्यसलगत्तै उप–महानगरपालिकाले कार्यान्वयनका लागि निर्देशन पनि दिएको छ ।’
रास्वपाले यसखालको निगरानी, छलफल र भेटघाट नियमित गरिने जनाएको छ ।
