तेता के के हुँदै छ, यता बाढी पसेरफेरि हामी दुखिकै खायो मुटु कलेजाहामी भयौं बेघरबार, हामी भयौं बेघरबारचरी लैजा समाचार, हामी भयौं बेघरबारगायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत सुन्दा यस्तो लाग्छ, नेपालको प्रत्येक वर्षको मनसुनी विपद्को कथा यही हो । निरन्तरको भारी वर्षासँगै देशका विभिन्न स्थानमा कतै पानीको बहाव बढेर बाढी बस्ती छिर्छ र बस्ती डुबाउँछ । कतै पहिरोले बस्ती बगाउँछ । अनि यो गीतका शब्द, स्वर र पीडा—फेरि पनि नेपालीहरूको मनमा गुञ्जिन्छ । अहिले जसरी मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ, कति नदीमा पानीको बहाव बढेर बाढीको जोखिम देखिएको छ । गीतको भावले भनेझैँ कोही पनि घरबारविहीन नहोउन्, कोही कसैले ज्यान नगुमाओस्, अनि कोही कसैले प्रियजन गुमाउन नपरोस्, भन्ने कामना नेपालीहरूले गरिरहेका छन् । शुक्रबार साँझदेखि नै मुलुकका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । नदीको बहाव बढ्न थालेको छ, पहिरोको खतरा पनि उस्तै छ । मनसुनी विपद्को चपेटामा पर्ने पो हो कि भन्ने डर जनमानसमा देखिन्छ । सरकारले केही दिनयतादेखि नै मुलुकका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । कतिपय स्थानमा राहत टोली परिचालनमा छन् । बाढी–पहिरोजस्ता मनसुनजन्य विपद्बाट हुने सम्भावित क्षति कम गर्न मुख्य राजमार्गमा आवागमन बन्द गरिएको छ । कतिपय स्थानमा विद्यालय अस्थायी बास बनेका छन् । तर सर्वसाधारणको मनभित्रको भय पनि उस्तै देखिन्छ । गत वर्षको असोजमा आएको बाढीले ललितपुर महानगरपालिका–२५ की सविता माझीको घरमै पसेर भागाभाग गराएको थियो । अहिले पनि निरन्तर भइरहेको वर्षाले उहाँलाई अझै झस्काएको छ । कतै बाढीले फेरि उठिबास लगाउने हो कि भन्ने भयले माझीलाई बिचलित बनाएको छ । “साना बालबच्चा छन्, गत वर्ष त स्कुलमा गएर बस्यौं, कति दिन भोकै भयौं, अहिले पनि डर छ नि, फेरि बाढी आउँछ कि भन्ने । आयो भने कता भाग्ने भन्ने पनि थाहा छैन,” उहाँ भन्नुहुन्छ, “पानी नरोकिएसम्म तनाब लागिरहेको छ ।” भक्तपुरकी मनमाया खड्कालाई पनि हनुमन्ते खोलामा जलसतह बढिरहेको समाचारले त्रसित बनाएको छ । पहिले पनि घरभित्रै बाढी पसेको र यसपटक पनि बाढी पस्ने हो कि भन्ने चिन्ताले सताएको छ उहाँलाई । उहाँहरू त केही उदाहरणका पात्र मात्रै हुनुहुन्छ । यी र यस्तै, अनि यसभन्दा पनि अझ भयानक विपद् भोग्नेहरूलाई अहिलेको निरन्तर वर्षाले तर्साइरहेको छ । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा सरोजराज ओझाले प्राकृतिक विपद्को समयमा हुने धनजनको क्षतिको कारण मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने र यसले मनोवैज्ञानिक रूपमा त्रास उत्पन्न गराउन सक्ने बताउनुहुन्छ । “यस्तो अवस्थामा विपद्लाई स्वीकार गर्नुपर्छ र सावधानी अपनाएर सुरक्षित रहनुपर्छ । धनजनको क्षति हुँदा मानिस आत्तिनु स्वाभाविक हो, तर यसलाई स्वीकार गरेर मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनुपर्छ । समाज, आफन्त, परिवार र राज्यको साथले त्यस्ता व्यक्ति मानसिक रूपमा बलियो बन्न सक्छन्,” उहाँले भन्नुभयो । डा ओझाका अनुसार, विपद्पछि देखा पर्ने सामान्य लक्षणमा तनाव, डर, निन्द्राको समस्या, रक्सी वा अन्य नशाको सेवनजस्ता समस्या देखिन सक्छन् । डर र त्रास उत्पन्न भइसकेपछि सकेसम्म आफूले नियन्त्रण गर्ने, सहयोग लिन र स्वस्थ जीवनशैली अपनाउनु नै उत्तम हुन्छ,” उहाँले भन्नुभयो । डा ओझाका अनुसार, मनो–सामाजिक स्वास्थ्य कायम राख्न नकारात्मक समाचार कम हेर्नु, सकारात्मक जानकारीमा ध्यान दिनु, योग र हल्का व्यायाम गर्नु, आवश्यक परे परिवार वा मित्रसँग कुरा गरेर सहयोग लिनु, र अत्यधिक तनाव वा उताउलोपन भए मनोचिकित्सकको परामर्श लिनु उचित हुन्छ । “विपद्पछिको मनो–सामाजिक परामर्श सार्वजनिक र व्यापक रूपमा पहुँचयोग्य हुनुपर्छ,” उहाँले थप्नुभयो, “मनोवैज्ञानिक त्रास भन्नाले यस्तो अवस्था जनाउँछ, जहाँ मानिसले अकल्पनीय पीडा वा क्षति भोगेपछि आफ्नो मानसिक सन्तुलन र भावनात्मक स्थिरता गुमाउँछ ।”विपद्पछि मानसिक स्वास्थ्यमा प्रभाव बढ्न सक्छ: विशेषज्ञ ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्कीका अनुसार, हरेक प्रकारका विपद्को समयमा मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ । उहाँले योजनाअनुसार अघि बढिरहेको जीवनमा अचानक आएको विपद्ले मनमा नकारात्मक प्रभाव पार्छ र त्यसको गम्भीरता व्यक्ति अनुसार फरक पर्न सक्ने बताउनुभयो । डा कार्की भन्नुहुन्छ, “विगतका अनुभव, सामना गर्ने क्षमता र सहयोगी संयन्त्रको अभावले विपद्को समयमा मानसिक प्रभाव पनि फरक पर्छ । कुनै व्यक्तिमा हल्का तनाव देखिन सक्छ भने कसैमा गम्भीर मानसिक समस्या पनि उत्पन्न हुन सक्छ ।” उहाँका अनुसार, विपद्पछि देखा पर्न सक्ने आम मनोवैज्ञानिक समस्यामध्ये चिन्ता (एन्जाइटी) र डिप्रेशन प्रमुख हुन् । विपद्का कारण लामो समय तनाव लिँदा निन्द्रामा समस्या आउने, लागुऔषधको प्रयोग बढ्ने, घरेलु हिंसा वृद्धि हुने र पारिवारिक सन्तुलन बिग्रने जस्ता समस्या देखिन सक्छन् । “अत्यधिक निराशाको अवस्थामा आत्महत्यासम्मको खतरा रहन्छ,” डा कार्कीले भन्नुभयो । उहाँका अनुसार, यस्ता अवस्थाबाट बच्न मानसिक स्वास्थ्यसम्बन्धी सहयोग र परामर्श अत्यावश्यक हुन्छ । “कसैले पनि आफ्नो समस्या लुकाउन हुँदैन, खुल्न सक्नुपर्छ, कठिन समयमा साथ दिनु, सकारात्मक सामाजिक माहोल बनाउनु र सहानुभूतिपूर्ण व्यवहार गर्नु महत्त्वपूर्ण हुन्छ,” उहाँले सुझाउनुभयो । डा कार्कीले मानसिक स्वास्थ्य सहयोगका लागि निःशुल्क हटलाइन सेवा ‘११६६’ मा सम्पर्क गर्न सकिने जानकारी दिनुभयो । साथै, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई सामाजिक संघ–संस्थासँग समन्वय गरी आवश्यक सहयोग पु¥याउने पहल भइरहेको पनि उहाँको भनाइ छ । “विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक समुदायका व्यक्ति तथा पहिले नै मानसिक समस्या भोगिरहेका व्यक्तिहरू विपद्पछि मनो–सामाजिक समस्यामा बढी संवेदनशील हुने गर्छन्,” उहाँले थप्नुभयो । उहाँले सरकार, समुदाय र परिवार सबैले मिलेर विपद्पछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । गर्भवतीमा मानसिक र शारीरिक प्रभाव बाढी–पहिरोजस्ता प्राकृतिक विपद्को समयमा गर्भवतीको शारीरिक स्वास्थ्य र मानसिक अवस्थामासमेत बढी प्रभाव पर्न सक्ने विशेषज्ञको भनाइ छ । स्त्रीरोग विशेषज्ञ तथा प्रसूति चिकित्सक डा इसा श्रेष्ठ भन्नुहुन्छ, “विपद्को समयमा गर्भवतीमा डर, तनाव, रक्तचाप वृद्धि र मानसिक अस्थिरता देखा पर्न सक्छ । सुरक्षित रहनु, हतारमा स्वास्थ्य केन्द्रमा नजानु र मानसिक स्थिरता कायम राख्नु आवश्यक हुन्छ ।” डा श्रेष्ठका अनुसार, विपद्को समयमा धनजनको क्षति हुने डर, विपद्को सामना कसरी गर्ने भन्ने चिन्ता, विपद्मा भइपरी स्वास्थ्य समस्या देखिएमा के गर्ने भन्ने चिन्ताका कारण पनि गर्भवतीमा मानसिक तनाव उच्च हुनसक्छ । “विपद्को समयमा सकेसम्म घरबाहिर ननिस्किएर सुरक्षित स्थानमा बस्नुपर्छ । चिकित्सकले फलोअपमा बोलाएको समयमा आए पनि केही दिन ढिलो गरी अस्पताल जाँदा फरक पर्दैन । तर यदि योनीबाट रगत बग्ने, दुखाइ बढ्ने वा स्वास्थ्यमा तत्काल समस्या देखिएमा मात्र स्वास्थ्य केन्द्र पुग्नुपर्छ,” उहाँले सुझाव दिनुभयो ।आधिकारिक सूचनामा भर पर्न आग्रह जल तथा मौसम विज्ञान विभागले विपद्को समयमा अनावश्यक रूपमा सामाजिक सञ्जालमा भ्रम छर्ने किसिमका सूचना सम्प्रेषण हुन सक्ने र यसले मानसिक रूपमा त्रास बढाउन सक्ने भन्दै आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ । विभागले आफ्ना आधिकारिक सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत पनि सूचना जारी गर्दै विशेष सजक रहन अनुरोध गरेको हो । विभागले बाढी र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गरेर आधिकारिक सूचना लिन सकिने जानकारी दिएको छ । आधिकारिक सूचनामा भर पर्न आग्रह जल तथा मौसम विज्ञान विभागले विपद्को समयमा अनावश्यक रूपमा सामाजिक सञ्जालमा भ्रम छर्ने किसिमका सूचना सम्प्रेषण हुन सक्ने र यसले मानसिक रूपमा त्रास बढाउन सक्ने भन्दै आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ । विभागले आफ्ना आधिकारिक सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत पनि सूचना जारी गर्दै विशेष सजक रहन अनुरोध गरेको हो । विभागले बाढी र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गरेर आधिकारिक सूचना लिन सकिने जानकारी दिएको छ । होचा स्थान र नदी किनारमा बस्नेले उच्च सतर्कता अपनाउन अनुरोध विभागले होचा स्थान र नदी किनारमा बस्नेले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज बिहान ८ बजेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले यी स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । “असोज २० गतेसम्म नै बाढीको जोखिम रहेकाले होचा स्थान तथा नदी आसपासमा रहनेहरूले सुरक्षित स्थानमा बस्नुपर्ने र रातको समयमा अझै बढी चनाखो रहन आवश्यक छ,” विभागका बाढीविद् विनोद पराजुलीले भन्नुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाड तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
योगिनी कपः उद्घाटनमै आयोजकको जीत
by
Dainik Nepalgunj
April 6, 2026
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक
by
Dainik Nepalgunj
April 6, 2026
अकालमा ज्यान गुमाउने युवा बढी
by
Dainik Nepalgunj
April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय
by
Dainik Nepalgunj
April 5, 2026
जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा
by
Dainik Nepalgunj
April 5, 2026