किसानहरू अहिले धमाधम धान काटिरहेका छन् । कतिपयले धान भित्र्याएर बिक्री पनि गरिसकेका छन् । धान भित्र्याएका किसान तोरी र गहुँ खेतीको तयारीमा जुटेका छन् ।
पछिल्ला बर्षहरू अधिकांस किसानहरूले यान्त्रीकरणको प्रयोग गर्दै आएका छन् । जसले गर्दा छिटो धान भित्र्याउन किसानलाई सजिलो भएको छ । तर यसको प्रयोगबाट अधिकांस किसानको पराल भने धान खेतमा नै रहने गरेको कारण जलाउने प्रचलन पनि रहेको छ ।
पर्यावरणीय हिसावले खेतमा रहेका स–साना जीवहरूलाई पराल जलाउँदा लगाउने आगोको कारण क्षति पुग्ने गरेको पाइन्छ । यसको साथै पराल जलाउँदा मलको रूपमा काम गर्छ भन्ने पुरानो भ्रम पनि रहेको छ । तर, पराल जलाउँदा पर्यावरण, माटो, किटपतङ्गको लागि समेत असर पर्दछ ।
किसानको प्रयोगमा नआउने पराल तथा भुस जलाउनु भन्दा पालिकाहरूमा सञ्चालन गरिएका गौशालामा दान गर्नु उचित हुने स्थानीय बताउँछन् । गौशालमा रहेका गाई, गोरुहरूलाई खुवाउनको लागि पराल आवश्यक पर्दछ । यसरी पराल जलाउने भन्दा निःशुल्क रूपमा दान गर्नको लागि बाँकेको जानकारी गाउँपालिकाले सूचना नै प्रकाशन गरी सबैमा आग्रह गरेको छ ।
जानकी गाउँपालिकाले पराल, भुस जलाउँदा वातावरण प्रदुषण हुने भएकाले त्यसो गर्न किसानहरूलाई आग्रह गरेको छ । पालिकाले किसानलाई बढी भएको पराल र भुस पालिकाले सञ्चालन गर्दै आएको वडा नं. ४ मा रहेको गौशालालाई आवश्यक रहेको बताएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारीले जानकारी सार्वजनिक गर्दै १८औं गाउँसभाको वातावरण तथा विपद व्यवस्थापन समितिको नीति तथा कार्यक्रम अन्र्तगत जानकी गाउँपालिका बाँकेको कार्यक्षेत्र भित्र रहेको मौसमी खाद्यान्न उत्पादन भई पराल, भुस लगायत तथा अन्य सामाग्री वातावरण संरक्षणका लागि जलाउन नपाउने र धुँवा गर्न नपाउने नीति रहेको बताएका छन् ।
‘किसानहरूले खाद्यान्नबाट उत्पादन गरेका र उपभोग नभएका पराल तथा भुसहरू गाउँपालिकाको वडा न ४ मा रहेको गौशालामा आवश्यक भएकोले उक्त पराल र भुसहरू नजलाई वातावरण प्रदुषण नियत्रणमा सहयोग गरी दिनु हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत अन्सारीले भनेका छन् । पालिकाले पराल र भुस गौशालासम्म लैजाने व्यवस्थापनका लागि विपद् शाखामा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
खासगरी भारतमा पराल किसानहरूले ठूलो परिणाममा जलाउने गरेका छन् । जसको प्रभाव विगतमा नेपालमा विगतमा पनि देखिएको थियो ।
नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ । यस्तो हावाले स्वास्थ्यमा निकै असर गर्ने डाक्टरहरू बताउँछन् । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ ।