मोडिफाइ मोटरसाइकलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गर्न सुरू गरेको छ । केही दिनयता त्यस्ता चार मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीचौकी र ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिने कार्यलाई निरन्तरता दिने निरीक्षक शाहीले बताएका छन् ।

बाँके ट्राफिक प्रहरी प्रमुख शाहीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा तत्काल सूचना दिन पनि आग्रह गरेका छन् । ‘अन्य जिल्लामा पनि यसखालको अभियान ट्राफिक प्रहरीले चलाइरहेको छ’, शाहीले भने । ‘मोडिफाइड गरी ध्वनि प्रदुषण गर्ने एक दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइसकेका छौं’, उनले भने ।

स्वीकृति नलिइ सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुनेखालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजार जरिवाना हुने व्यवस्था छ । ‘पहिलो चोटीलाई मोटरसाइललाई पूर्ववत् अवस्थामा बनाउन लगाई अब गल्ती नदोहोर्याउने शर्तमा कागज गराएका छाडेका छौं’, उनले भने ।

सहरी क्षेत्रमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल कुदाउने प्रवृत्ति छ । यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणले समाजमा असर पुर्याउने प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले इभी गाडीहरू समेत नम्बर प्लेट समेत परिवर्तन गरी चलाइरहेको फेला पारेको छ । ‘केही इभी गाडीले नियम विपरित नम्बर प्लेटको कलर परिवर्तन गरेर चलाइरहेको पाएपछि नियन्त्रणमा लिई कारवाही गरेका छौं’, बाँके ट्राफिक प्रहरी प्रमुख शाहीले भने, ‘रातो नम्बर प्लेटलाई यातायात व्यवस्था कार्यालय मार्फत कालो बनाएर चलाउनु पर्नेमा आफुखुशी कालो प्लेट बनाएर चलाएको पाइएपछि कारवाही गरेका हौं ।’

Exit mobile version