सजल गैरे
‘एक्टिङ स्टार नेपाल’ विजेता नबिना रानाभाटलाई नीलसागर सेवाश्रमद्वारा सम्मान
अभिनयको मञ्चमा उज्यालो बटुल्न सफल भएकी नबिना रानाभाट अब समाजसेवाको बाटोमा पनि उस्तै चम्किँदैछिन् ।
हालै सम्पन्न ‘एक्टिङ स्टार नेपाल सिजन–१’ की विजेता नबिनाको सम्मानमा नेपालगन्जस्थित नीलसागर सेवाश्रमले मंगलबार विशेष कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रमको वातावरण उत्साहपूर्ण थियो — सेवाश्रमका बालिकाहरूको नृत्य, अतिथिहरूको ताली र नबिनाको अनुहारमा झल्किएको नम्र मुस्कान । नविनालाई यहाँसम्म पुर्याउन नेपालगन्जवासीको योगदान पनि रहेको कुरा कार्यक्रममा महसुस गर्न सकिन्थ्यो ।
सेवाश्रमका प्रमुख अभिभावक, मधेसी आयोगका सदस्य विजय गुप्ता, कानूनी सल्लाहकार, वरिष्ठ अधिवक्ता लोकबहादुर शाही र विकासका लागि नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठलगायतका अग्रज व्यक्तित्वहरूले उनलाई बधाई र शुभकामना प्रदान गरे । हौषलाका शब्द पस्किए ।
कार्यक्रमको विशेष क्षणमा सेवाश्रमकी अध्यक्ष, आफैपनि उत्प्रेरक युवा सरिता खनालले नबिनालाई ‘नीलसागर सेवाश्रमको सद्भावना राजदूत’ घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरिन् । त्यो क्षणमा हलभरि तालीको गुञ्जन फैलियो । बाँके गौरवान्वित छ, नविनाका उपलब्धीप्रति समाजसेवी गुप्ताले दैनिक नेपालगन्जसँग भने ।
सम्मान ग्रहणपछि नबिनाले भनिन्, “मञ्चमा भूमिका निभाउँदा जस्तै, समाजमा पनि केही गर्न पाउनु मेरो लागि ठूलो अवसर हो ।” कार्यक्रममा सेवाश्रमका बालिकाहरूले नृत्यमार्फत नबिनालाई स्वागत गरे, जसले कार्यक्रमलाई झनै आत्मीय बनायो ।
अभिनयमा उदाउँदै गरेकी युवती नबिना रानाभाटले अब सामाजिक सेवाको यात्रासँग पनि आफ्नो प्रतिभा र मन जोड्ने संकेत कार्यक्रमका क्रममा दिएकी छिन् । नीलसागर सेवाश्रमले यस्तो प्रतिभालाई सम्मान गरेर कलाकार र समाजबीचको दूरी घटाउने एक सानो तर अर्थपूर्ण उदाहरण प्रस्तुत गरेको छ ।
उनलाई सोमवारमात्रै सञ्चारिका समूहले कोहलपुरमा कार्यक्रम गरि सम्मान गरेको सदस्य सन्ध्या गैरेले जानकारी दिइन् । सञ्चारिकाका अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा भएको कार्यक्रममा नविनालाई सम्मान गरिएको हो ।