नेपालगन्जमा आज शुक्रबारदेखि नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपको दोस्रो संस्करण आयोजना हुँदैछ । त्यसका लागि देशका विभिन्न जिल्लाबाट खेलाडी तथा प्राविधिक टोलीहरू नेपालगन्ज आइसकेको आयोजक नेपालगन्ज स्वीमिङ्ग क्लबले जनाएको छ ।
‘तयारी सम्पूर्ण रूपमा पूरा भएको छ’, क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘सातै प्रदेशका करिब दुई सय खेलाडीको सहभागिता अपेक्षा यो इभेन्टमा खेलाडी आउने क्रम जारी छ ।’
नेपालगन्ज स्वीमिङ्ग क्लबका खेल प्रशिक्षक चन्दुराम चौधरीले १ सय ५० बढी खेलाडीले औपचारिक रूपमा प्रतिस्पर्धा गर्ने नाम दर्ता गराएको जानकारी दिए । ‘बाँकेबाट मात्रै ४० खेलाडीले प्रतिस्पर्धा गर्दैछन्’, पौडी प्रशिक्षक चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रा लागि यो उत्साहको खबर हो ।’
वरिष्ठ उपाध्यक्ष अधिकारीका अनुसार, केन्द्रीय पौडी विशेषज्ञ, पौडी संघका पदाधिकारी, सातै प्रदेशका खेलाडी, प्रशिक्षक तथा अभिभावकहरू बीच लुम्बिनी प्रदेश खेलकुद मन्त्री सन्तोष पाण्डेयले शुक्रबार विहान प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तयार गरिएको छ । त्यसका लागि क्लब अध्यक्ष केशव न्यौपानेको नेतृत्वमा तयारी सबै काम पूरा भएको अधिकारीले बताए ।
प्रतियोगितामा ५६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा देशैभरका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका करिब २ सय खेलाडीबीच प्रतिस्पर्धा गर्नेछन् । अन्डर ८ उमेर समूहका खेलाडीहरूले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन भने अन्डर १० उमेर समूहका खेलाडीहरूले अन्य खेलाडीहरूले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् ।
त्यसै गरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दुरीका विभिन्न इभेन्टहरूमा प्रतिस्पर्धा गर्ने छन् । खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ ।