नेपालगन्जमा दोस्रो राष्ट्रिय पौडी च्याम्पियनसीप
नेपालगन्जमा जारी दोस्रो राष्ट्रिय पौडी च्याम्पियनसीप–२०२५ को पहिलो दिन सगरमाथा स्विमिङ क्लबका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालगन्ज रंगशाला पौडी पोखरी भेन्युमा शुक्रवार बिहान र बेलुका गरी सम्पन्न २७ इभेन्टका नतिजा अनुसार सगरमाथा स्विमिङ क्लबका खेलाडीहरूले अधिकांश स्वर्ण पदक आफ्नो पोल्टामा पारेका छन् ।
बालबालिकादेखि ओपन वर्गसम्म प्रतिस्पर्धा
अण्डर–८, अण्डर–१०, अण्डर–१२, अण्डर–१४, अण्डर–१७ र ओपन गरी विभिन्न समूहमा प्रतियोगिता सञ्चालन भएको छ । साथै रिले इभेन्ट पनि थपिएको थियो ।
बिहानको सेसनमा अंडर–८ वर्गको २५ मिटर फ्रीस्टाइलमा सगरमाथाका रज्विन जिरेलले १९.७६ सेकेन्डमा पहिलो स्थान हासिल गरे। सोही उमेर समूहको बालिका वर्गमा सगरमाथाकी सिआना महर्जनले १९.५४ सेकेन्डमा स्वर्ण जितिन् ।
त्यसैगरी, ४०० मिटर ओपन गल्र्स फ्रीस्टाइलमा पनि सगरमाथाकी नन्दिनी राजलक्ष्मी ढुंगेलले ६ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् ।
बेलुकीका इभेन्टमा पनि सगरमाथाको निरन्तर वर्चस्व
बेलुकीतिर भएका विभिन्न इभेन्टहरूमा पनि सगरमाथाका पौडीबाजहरू अग्रस्थानमा रहे । ५० मिटर बटरफ्लाइ ( अण्डर–१०) बालिकामा राइजा अवाले, र ५० मिटर ब्रेस्टस्ट्रोक ( अण्डर–१४) बालिकामा नन्दिनी राजलक्ष्मी ढुंगेलले क्रमशः स्वर्ण पदक जिते।
त्यस्तै अण्डर–१२ बालिकाको ५० मिटर बटरफ्लाइमा आर्या महर्जन र अण्डर–१२ केटाको ५० मिटर ब्रेस्टस्ट्रोकमा रचित बुढाथोकी (जेम्स) विजयी भए ।
टिम इभेन्टमा पनि सगरमाथा अगाडि
४×५० मिटर खुला महिलातर्फको रिलेमा सगरमाथा स्विमिङ क्लबको टिम (राइजा अवाले, आर्या महर्जन, अनुपा ताम्राकार र अर्जु थापा मगर) ले २ मिनेट १९ सेकेन्डमा स्वर्ण जित्यो ।
मिश्रित मेडले रिलेतर्फ पनि सगरमाथा स्विमिङ क्लब (अर्जु थापा मगर, आरिक कर्माचार्य, सुबर्णा सिलपाकार र उत्सव महर्जन) विजयी भयो ।
स्थानीय खेलाडी आबद्ध क्लब, नेपालगन्ज स्विमिङ क्लबको सक्रिय सहभागिता
आयोजक नेपालगन्ज स्विमिङ क्लबका खेलाडीहरूले पनि केही इभेन्टमा उल्लेखनीय प्रदर्शन गरेका छन् । क्लबका अमित रावलले अंडर–१७ केटाको ५० मिटर बटरफ्लाइमा तेस्रो स्थान हासिल गरे । क्लब प्रशिक्षक चन्दुराम चौधरी र दिपक परियारले त्यसका लागि निकै मिहिनेत गरेका थिए ।
अघिल्लो वर्षको तुलनामा प्रतिस्पर्धा बढ्दो
पहिलो संस्करणमा प्रदेशस्तरका खेलाडीले सहभागिता जनाएपनि यसपटक दोस्रो संस्करणमा देशभरका विद्यालय र स्विमिङ क्लबबाट कयौँ खेलाडी सहभागी भएका छन् ।
त्यसअघि नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीपको दोस्रो संस्करण शुक्रबार बिहान नेपालगन्जमा शुभारम्भ गरिएको थियो ।
नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका हुन् । त्यसक्रममा मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए । उनले पौडीका लागि बजेट सुनिश्चितताको घोषणा पनि गरे ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षतामा भएको उद्घाटनमा क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले स्वागत मन्तन्य राख्दै नेपालगन्जमै अन्तर्राष्ट्यिस्तरको प्रतियोगिता तयारीमा आफुहरु लागेको घोषणा गरे ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिताबारे धारणा राखेका थिए ।
त्यसक्रममा मन्त्री पाण्डेयले पौडी प्राविधिक विष्णु खड्कालाई ह्वीसिल प्रदान गरेर खेलको शुभारम्भ गरेका थिए ।
प्रतियोगितामा देशभरीका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका १५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ ।
अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन भने अन्डर १० उमेर समूहका खेलाडीहरुले अन्य खेलाडीहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् ।
त्यसै गरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दुरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्ने छन् । खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न ५८ वटा इभेन्टमा हुने छन् ।
आयोजक समितिका अनुसार, पहिलो दिनको खेल सफलतापूर्वक सम्पन्न भएको छ र आज शनिबार बाँकी इभेन्टहरू हुनेछन् । अनि शनिवारनै भव्य समापन समारोह आयोजना गरिनेछ, क्लब सदस्य कृष्ण अधिकारीले दैनिक नेपालगन्जसँग भने ।
