आगामी मंसिर ६ गते शनिबार धारा–नेपालगन्ज म्याराथनको ११औं संस्करण आयोजना हुँदै छ । त्यसका लागि सार्वजनिक रूपमै सहभागिता जनाउन नाम दर्ता हुने क्रम तिव्र भैरहेको आयोजकले जनाएको छ ।
‘अनलाइन दर्ता प्रक्रियामा धेरै जना खेलाडीले नाम दर्ता गराइरहनु भएको छ’, धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसबाहेक हामी ग्रामीण क्षेत्रबाट विभिन्न प्रतियोगितात्मक रोडरेस आयोजना गरी खेलाडीहरू तयार गर्दैछौं ।’ त्यसक्रममा गत असोज २९ गते खजुरा गाउँपालिकाको सितापुर–गौघाटमा आयोजना गरिएको ‘गौघाट ग्रीन रन र कार्तिक २२ गते राप्तीसोनारी गाउँपालिकामा आयोजना भएको ‘राप्तीसोनारी नेचर रन’बाट खेलाडी छनोट भैसकेका छन् । आयोजकका अनुसार, विभिन्न इभेन्टमा सहभागिता जनाउने व्यवस्था छ । ‘
खजुरा र राप्तीसोनारबाट उत्कृष्ट १० मा पर्ने छात्र र छात्रा समूहबाट खेलाडी सुनिश्चित गरिसकिएको छ’, संस्थापक अध्यक्ष ठकुरीले भने, ‘यसरी प्रतिस्पर्धाबाट छानिएका खेलाडीहरूले नेपालगन्ज म्याराथनमा सहभागिताका लागि कुनै किसिमको शुल्क बुझाउनु पर्दैन ।’ अन्य सहभागीहरूका लागि भने दर्ता शुल्क तोकिएको छ ।
