जेनजी आन्दोलनपछि नयाँ ढंगले अगाडि बढ्न खोजेको भन्दै नेकपा एमालेले आफ्नो युवा संगठनलाई जेनजी पुस्तासम्म पुर्याउने भएको छ । त्यसक्रममा युथफोर्सलाई ब्यूझाएको एमालेले लुम्बिनी प्रदेश स्तरीय भेला आयोजना गरी ‘युथ फोर्स लुम्बिनी’ गठन गरेको हो ।
बिहीबार दाङ्गमा भएको भेलाले नेपालगन्जका युवा नेता रवि बर्माको ‘कमाण्ड’मा युथ फोर्स लुम्बिनी गठन गरेको हो ।
‘यसले जेनजी पुस्ताका वास्तविक युवाहरूलाई संगठित गर्दै राजनीतिक प्रशिक्षण सहितको राष्ट्रवादी संस्कारको विकास गर्नेछ’, भेला बारे जानकारी दिंदै एमाले बाँकेका युवा नेता रविन्द्र लम्सालले दैनिक नेपालगन्जसँग भने, ‘युवा पुस्तालाई राजनीतिक चेतना र संस्कारको विकास नगर्दा उनीहरूको दुरूपयोग भयो र देश, राष्ट्रहित विरुद्ध प्रयोग गरियो ।’ १ सय ५१ सदस्यीय युथफोर्स लुम्बिनीमा बाँकेका बर्मा संयोजक र प्युठानका नितेश पोखरेल सहसंयोजक छन् । ‘यसलाई वडा स्तरमै पुर्याएर बिस्तार गरिनेछ’, लम्सालले भने ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गरिरहेको छ ।
