चालु आर्थिक वर्षमा स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठ स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता तथा तौलसम्बन्धी स्वास्थ्य स्क्रिनिङ्ग गरेको छ । स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लका अनुसार, १० देखि १९ वर्ष उमेर समूहका ३ हजार ३ सय ७१ जना किशोरीको परीक्षण गर्दा उल्लेखनीय संख्यामा रक्तअल्पता र तौल असन्तुलन देखिएको छ । परीक्षणमा धेरै किशोरीहरूमा रक्त अल्पता देखिएको छ । सामान्य रक्त अल्पता भएको अत्यधिक रहेका र मध्य खालका पनि धेरै फेला परेको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेशमा किशोरीको शरीरको उचाइ अनुसारको तौल लिने (बिएमआई), रक्तसमूह परीक्षण गर्ने गरिएको छ ।
मल्लका अनुसार, जाँच गरिएकामध्ये ०.४ प्रतिशत किशोरीमा ८ पिन्टभन्दा कम रगत भेटिएको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै चिन्ताजनक मानिन्छ । यस्तै १९ प्रतिशत किशोरीको रगत ८ देखि ११ पिन्ट र ३९.६ प्रतिशतको ११ देखि ११.९ पिन्ट मात्र रहेको पाइएको छ । परीक्षणमा सहभागी ४०.९ प्रतिशत किशोरीमा मात्र रगतको मात्रा सामान्य देखिएको मल्लले जनाइन् ।
उमेर र उचाइअनुसार गरिएको तौल मूल्यांकनमा पनि उल्लेख्य समस्या पाइएको स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन मल्लले बताइन् । उनका अनुसार, परीक्षणमा सहभागीमध्ये १८.२१ प्रतिशत किशोरीको तौल धेरै कम, २५.९३ प्रतिशतको तौल कम, ३.२३ प्रतिशतको तौल बढी र ०.५३ प्रतिशतको तौल धेरै बढी रहेको छ ।
मल्लका अनुसार, किशोरीहरूमा रगत कम हुनु, तौल आवश्यकता भन्दा कम वा बढी हुनु दुवै स्वास्थ्यका दृष्टिले गम्भीर विषय हुन् । अनियमित खानपान, जंकफुडको बढ्दो प्रयोग, पोषणयुक्त भोजनको न्यून सेवन र स्वास्थ्य शिक्षा अभाव जस्ता कारणले यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले किशोरीहरू भोलिका दिनमा आमा बन्ने भएकाले अहिले नै रगतको मात्रा कम हुनु भविष्यमा मातृ–शिशु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने उल्लेख गरिन् । रगत अभावका कारण गर्भावस्था तथा प्रसूति अवस्थामा जटिलता, शिशुमा कम तौल, समयपूर्व जन्म, कुपोषण र मातृ–शिशु मृत्यु दरसमेत बढ्न सक्ने उनले बताइन् ।
माता–शिशु मृत्यु न्यूनीकरण तथा कुपोषणलाई जरैबाट नियन्त्रण गर्न किशोरीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै मल्लले विद्यालय, पालिका, अभिभावक र समुदाय सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले विद्यालयमा नियमित आयरन चक्की वितरण, पोषण शिक्षा, स्वच्छता र महिनावारी स्वास्थ्य व्यवस्थापनलाई सशक्त बनाउँदै किशोरी स्वास्थ्य सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याइन् । तथ्यांकले किशोरी स्वास्थ्य अवस्थाबारे गम्भीर संकेत दिएको भन्दै मल्लले सबै पक्षलाई स्वास्थ्यप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरेकी छन् ।
थकाइ लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरणशक्ति कम हुनु, अलि अलि काम गर्दा पनि स्वाँ.स्वाँ. हुनु, मुटु ढुक्ढुक् हुनु, कहिलेकाहीं रिंगटा लाग्नु, मुर्छा पर्नुलगायतका लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
प्रशस्त मात्रामा फलाम तत्व पाइने खानेकुराहरू खाने, रक्तअल्पता रोक्न भिटामिन ए र भिटामिन सी भएका खानेकुरा पनि खाने, रगतको कमी भएमा आइरन चक्की खाने हो भने रक्तअल्पताको समस्याबाट छुटकरा मिल्न सक्ने चिकित्सक बताउँछन् । यद्यपि, रक्तअल्पता भएकाले बेलाबेला स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुने बताइन्छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत महिलामा रक्तअल्पता देखिएको थियो । १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये सहरी क्षेत्रमा ४६ प्रतिशत र ग्रामीण क्षेत्रमा ४२.४ प्रतिशत रक्तअल्पता देखिएको छ । सर्वेक्षणका अनुसार कोशी प्रदेशमा २७ प्रतिशत, मधेश प्रदेशमा ५२.४ प्रतिशत, बागमतीमा २३.१ प्रतिशत, गण्डकीमा २५.१ प्रतिशत, कर्णालीमा २१.२ प्रतिशत र सुदूरपश्चिममा २७.३ प्रतिशत महिलामा रक्तअल्पता देखिएको थियो ।
आ.व. २०८०÷८१ मा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी कुल २७२ वटा विद्यालयमा रक्तअल्पता परीक्षण कार्यक्रम गरिएको थियो । ४२ हजार २७५ किशोरीमा गरिएको परीक्षणमा १२ हजार १७९ जना किशोरीमा रक्तअल्पता देखिएको थियो ।
