आगामी मंसिर ६ गते शनिवार आयोजना गर्न लागिएको धारा नेपालगन्ज म्याराथनको पूर्व तयारीका क्रममा विहीवार कोहलपुरमा परामर्श बैठक गरिएको छ ।
आयोजकका अनुसार, कोहलपुर क्षेत्रका संस्थागत विद्यालयका सञ्चालक, सामुदायिक विद्यालयका प्रधानाध्यापक, खेल प्रशिक्षकहरूसँग गरिएको परामर्श बैठकमा म्याराथनका विभिन्न पक्षबारे छलफल गरिएको हो । ‘यो नेपालगन्ज–कोहलपुर जोड्ने अभियानको आयोजना हो,’ धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले भने । कोहलपुर क्षेत्रका विद्यार्थीलाई पनि दौडको हिस्सेदार बनाउन आयोजकको पहल र प्रयास भइरहेको उनको भनाइ छ ।
बाँकेका विभिन्न क्षेत्रमा दौड संस्कृतिको विकास गर्न खोजिएको र त्यसमा स्थानीय स्वामित्व आवश्यक हुने ठकुरीको भनाइ छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका खेलकुद समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेलाडी सहभागिताका लागि आफुले पहलसँगै आवश्यक समन्वय गर्ने बताए । ‘यो नेपालगन्जमात्रै होइन, बाँकेकै गौरबको आयोजना हो,’ उनले धारा नेपालगन्ज म्याराथनलाई दौडको महाकुम्भका रुपमा चित्रित गर्दै भने, ‘हामी सबैले यसको सफलतामा सहयोगी बन्न सक्नुपर्छ ।’
म्याराथनका रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष मोहन ओली, कोहलपुर नगरपालिकाका तेक्वान्दो प्रशिक्षक बुद्धि थापा, क्रिकेट प्रशिक्षक ममता थापा, साइक्लिङ संघका अध्यक्ष गगन थापा लगायतले छलफलमा सहभागिता जनाएका थिए ।