बादी समुदायका महिलाहरूका मौन पीडालाई स्वर दिन, संघर्षलाई अवसरमा बदल्न ‘मर्यादाका लागि महिला आवाज’ नामक संस्था औपचारिक रूपमा सञ्चालनमा आएको छ । यसले बाँकेमा महिलाको साहस, अस्तित्व र परिवर्तनको नयाँ अध्याय सुरु गर्ने विश्वास आइतवार आयोजित कार्यक्रममा व्यक्त गरिएको छ ।
‘बादी महिलालाई कसैको बाटो हेर्ने हैन, अब उनीहरू स्वयं बाटो बनाउँदै अघि बढ्नेछन्,’ नेपालगन्जमा कार्यालय स्थापना गर्दै संस्थाले आफ्नो यात्राको पहिलो पाइलादेखि नै स्पष्ट संदेश दिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले कार्यालय उद्घाटन गर्दै संस्थालाई केवल एक संस्था नभई—एक आवाज, एक संकल्प र एक नयाँ बृतान्तका रूपमा वर्णन गरे । उनले थपे—‘विभिन्न कार्यक्रमहरू भए पनि बादी महिलालाई लक्षित गरी काम गर्ने यो संस्था वास्तविक
नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरीले संस्थाको सुरुवातलाई ‘लक्षित वर्ग उत्थानतर्फको सचेत कदम’ भन्दै स्वागत गरिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि चन्द्रिका खनालले सुरक्षा र सहयोगको आश्वासन दिँदै भनिन्, ‘बादी महिलाका अधिकार र सुरक्षा हाम्रो पनि जिम्मेवारी हो ।’
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले समाजले बादी समुदायबारे बनाएको वर्षौं पुरानो गलत धारणा चिर्दै भने, ‘समाजले उनीहरूलाई जसरी चित्रित ग¥यो, त्यो चित्रण गलत थियो । अब समय आइपुग्यो—बादी महिलालाई पनि ‘अवसर’ भन्ने शब्दको अर्थ दिनुपर्ने ।’
कार्यक्रममा सहभागी गैसस महासंघका प्रतिनिधिहरूले ‘आफ्नो लागि आफैं’ भन्ने सङ्कल्प बोकेको संस्थाले नतिजा देखाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको खुला सत्रमा विभिन्न संस्थाका प्रतिनिधिहरूले बोलेका कुराहरूले एउटा कुरा स्पष्ट गरे, बादी समुदायको समस्या केवल समाजशास्त्रीय प्रश्न मात्र होइन, पहिचान, सम्मान र आत्मनिर्भरता खोज्ने संघर्ष हो ।
फातिमा फाउन्डेशन, फेडो, गैसस महासंघ, बास नेपाल, पत्रकार तथा महिला अधिकारकर्मीहरूको सहभागिताले कार्यक्रमलाई बहुआयामिक बनायो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बसन्ती नेपालीले संस्थाको उद्देश्य, योजना र प्रतिबद्धता सुनेर सहभागीहरूको ताली यस संस्थाको सफलताको पहिलो स्वीकारोक्ति जस्तै लाग्यो । उनले भनिन्, ‘यो यात्रा महिलाको लागि मात्र होइन, उनीहरूको भविष्यका लागि हो ।’
बास नेपालका निर्देशक हेमराज भट्टले सहजीकरण गरेको कार्यक्रममा गैसस महासंघ बाँकेका सहसचिब परिना चौधरी, फातिमा फाउण्डेसनका सुवेदा फरविन, फेडोका दिलिसा गौतम, गैसस महासंघका गणेश भट्टराई, तारा खत्री, बास नेपालका शोभा थापा मगर, पत्रकार रुपा गहतराज, सोम गुरुंग, नारी विकास केन्द्रका रचना श्रेष्ठ लगायतले बोलेका थिए ।






























