दुई वर्षदेखि भारतीय हिरासतमा न्यायको पर्खाइमा रहेकी एक चिनिया महिलाले आठ वर्ष जेल सजाय भोग्नुपर्ने भएको छ । नेपाल–भारत सीमास्थित रुपैडिहा क्षेत्रमा ‘अप्रेशन कन्भिक्शन’ अभियान अन्तर्गत विदेशी अधिनियम उल्लंघनको अभियोगमा पक्राउ परेकी ती चिनियाँ नागरिकलाई अदालतले ८ वर्षको साधारण कारावास तथा ५० हजार भारतीय रुपैयाँ जरिवाना सजाय सुनाएको हो ।
डिसेम्बर २, २०२३ मा नेपालगन्जको बाटो रुपैडिहा प्रवेश गरेकी चिनियाँ नागरिक ली जिन मेयी उर्फ ली शिन मेई लाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यो बेला यूपीका प्रहरी महानिरीक्षकको निर्देशन तथा बहराइचका प्रहरी अधीक्षकको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेशन कन्भिक्शन’ अभियानले सीमा कडाइ गरेको थियो ।
सम्बद्ध भारतीय अधिकारीका अनुसार, यस अन्तर्गत गम्भीर तथा चिन्हित अपराधमा संलग्न व्यक्तिहरूलाई छिटो तथा बढी सजाय दिलाउने उद्देश्य राखेको छ । नेपाली नाकाबाट भारत पसिरहँदा भारतीय प्रहरीको जाँचका क्रममा उनले चीनको पासपोर्ट देखाए पनि वीजा भने नेपालको मात्र रहेको पाइएको थियो । भारत प्रवेशका लागि आवश्यक कुनै पनि वैध कागजात प्रस्तुत गर्न नसकेपछि पक्राउ परेकी उनलाई पासपोर्ट, नागरिकता कार्ड, एटीएम कार्ड, मोबाइल, ईयरफोन, मसाजर, मेमोरी बुक तथा चिनियाँ धार्मिक पुस्तकहरू समेत नियन्त्रणमा लिइएको थियो ।
भारतीय पत्रकार सन्तोष कुमार शुक्लका अनुसार, उक्त घटना सम्बन्धी मुद्दा धारा १४ ए विदेशी अधिनियम अन्तर्गत रुपैडिहा थानामा दर्ता गरिएको थियो । अनुसन्धानपछि प्रहरी उपनिरीक्षक विजयकुमारले ७ डिसेम्बर २०२३ मा मुद्दा अदालतमा पेश गरेका थिए ।
प्रहरी, अदालतका कर्मचारी तथा सरकारी वकिलको प्रभावकारी बहसपछि २०२५ नोभेम्बर १७ मा बहराइचका तृतीय अतिरिक्त सत्र न्यायाधीशले अभियुक्त ली जिन मेयीलाई दोषी ठहर गर्दै ८ वर्षको साधारण कैद तथा ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएका छन् । जरिवाना नतिरेमा थप ६ महिना कैद सजाय तोकिएको छ ।
ली जिन मेयी उर्फ ली शिन मेई, निवासी काओ एर, काओवाङ टाउन, बक्सिङ काउन्टी, शेडोंग प्रान्त, चीनकी स्थायी बासिन्दा हुन् । पत्रकार शुक्लका अनुसार, यो फैसला ‘अप्रेशन कन्भिक्शन’ अन्तर्गत बहराइच प्रहरीद्वारा हासिल गरिएको महत्वपूर्ण सफलता मानिएको छ ।
यसैसाता शनिवार पनि दुई विदेशीलाई रुपैडिहा प्रहरीले पक्राउ गरि हिरासतमा पुर्याएको छ । पक्राउ परेका व्यक्तिमा ६१ वर्षीया सुमित्रा शकील ओलिभिया रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी कर्नाटकको उडुपी निवासी जोन फ्रेडरिक सुमित्राकी छोरी हुन् र हाल बेलायतको ग्लुसेस्टरस्थित २५ हार्कोम्ब ड्राइभमा बसोबास गरेको खुलेको छ । त्यस्तै उनका सह–यात्री ३५ वर्षीय हसन अम्मान सलीम बेलायतको म्यानचेस्टरस्थित १ ए डालमोर्टन रोडमा बस्दै आएका व्यक्ति हुन् । दुवैले भारत प्रवेशका लागि कुनै पासपोर्ट–भिसा वा कानुनी कागजात प्रस्तुत गर्न नसकेपछि उनीहरूलाई अवैध रूपमा सीमा पार गर्ने प्रयासको आरोपमा मुद्दा दर्ता गरी बहराइचको सम्माननीय अदालतमा पेश गरिएको प्रहरी जनाएको छ ।