सभ्य र सुसंस्कृत समाज निर्माणमा वैचारिक मन्थनको ठूलो भूमिका रहन्छ ।युधिष्ठिरले सामना गरेको यक्ष प्रश्न होस् वा कुरुक्षेत्रमा कृष्ण र अर्जुनको विचमा भएको सवाल जवाफ, दुवै पौराणिक प्रश्नोत्तरमा ठूलो दर्शन र बौद्धिकता भेटिन्छ । प्राचीन ग्रीसमा सुकरातले प्रयोग गरेको प्रश्न सोधेर उत्तर खोज्ने पद्धतिबाट सुरु भएको बौद्धिक संवाद प्लेटोको पालामा संवाद ग्रन्थको रुपमा विकसित भयो। समाज र औपचारिक शिक्षा प्रणालीको विकाससँगै यो उपक्रम विश्वविद्यालय, प्राज्ञिक अनुसन्धान र सार्वजनिक नीतिनिर्माणसम्म फैलिन पुग्यो।
प्रश्नोत्तरले मानिसलाई आफ्नै सोचबारे पुनरावलोकन गर्न, कमजोरी छुट्याउन र नयाँ दृष्टिकोण बनाउन मद्दत गर्छ। यस्तो अभ्यास आजका शहरहरूका लागि विशेष रूपले उपयोगी छ, किनकि साझा मुद्दा, साहित्य, विचार, प्रविधि र सामाजिक परिवर्तनबारे छलफल नगर्ने हो भने सार्वजनिक जीवन स्थिर हुन थाल्छ।
नेपालमा केहि वर्षदेखि लिटरेचर फेस्टिभलहरूको आयोजना गर्ने क्रम बढेको छ । निजी प्रकाशन गृहको प्रवेश र स्थानिय सरकारहरूको सहयोगका कारण यस्ता छलफलहरूले हिउँदका अन्य पारम्परिक व्यवसायिक मेला-महोत्वसवहरू भन्दा पृथक पहिचना बनाउँदै लगेका छन् । काठमाडौं, पोखरा, जनकपुर, वीरगंज, चितवन, सुर्खेत, धनगढी र जुम्लामा समेत यस्ता महोत्वसहरूक आयोजना गरिएका छन् । यस्ता जमघटहरू धेरै ठाउँमा नियमति नै भैरहेका छन् भने कति ठाउँमा निरन्तरता पाउन सकेनन । यस्ता संवादले कस्ता विचारहरू मुखरित गर्ने, ओझेलमा परेका नवीन विचारका प्रणेताहरूलाई कसरी उजागर गर्ने र समाजलाई कुन दिशातर्फ निर्दिष्ट गर्ने भन्ने बारेमा उल्लेख्य योगदान दिन सक्छन् ।
नेपालगन्जको मौलिक परिचय के ? जंग बहादुरले बसाएको शहर भएको भएर ‘ऐतिहासिक नगरी’ वा बागेश्वरी मन्दिर, अनेकौं मस्जिद, गुरुद्वारा रहेको भएर ‘सांस्कृति नगरी’ वा ‘पश्चिम नेपालको प्रवेशद्वार’ ? यि सब इतिहास र भूगोलले निर्धारण गरेका मानक हुन् । यसमा समकालिन योगदान खासै छैन । बरु ‘सद्भावको शहर’ले यहाँका हिन्दु, मुस्लिम, थारु, शिख, कर्णाली देखि यहाँका अनेकन आदिवासीहरू सहअस्तित्व र भाइचारामा बसेको स्थापित गर्छ ।
यसै सन्दर्भमा नेपालगंजले नेपालगन्ज म्यारथनको छेको पारेर नेपालगन्ज कनक्लेव आयोजना गर्न थालेको ५ वर्ष पुग्न थालेको छ । नेपालगन्ज डिस्कोर्षको पाँचौं श्रृंखला आउँदो ५ मंसिरमा होटेल डायमण्ड प्यालेसमा हुन लागेको छ ।
यसपालाको नेपालगन्ज कनक्लेव अन्य सामाजिक/राजनैतिक हिसाबले पनि विशेष छ । भदौ २३-२४ को जेनजी आन्दोलपछि हुन लागेको यो यस्तो किसिमको पहिलो छलफल हो । फागुन २१ को लागि तोकिएको निर्वाचनको परिप्रक्ष्यमा समाजको ‘नाडी छाम्न’ यो छलफल सहयोगी हुन सक्छ ।
मोफसल के सोच्छ ? मानिसहरूका अपेक्षा के छन् ? उत्साह के मा छ र कुन कुराले निराशा दिइरहेको छ ? स्थानिय परिदृश्य समग्र देशलाई सुनाउने यो एक अवसर हो ।
नेपालगन्जले अहिलेका वर्षमा निरन्तर आफूलाई विचार, संस्कार र सिर्जनात्मक ऊर्जाको केन्द्रका रूपमा उभ्याउँदै आएको छ। यही यात्रामा नेपालगन्ज कनक्लेव र फाइनप्रिन्ट फिभरले शहरलाई चलायमान बनाउने विशिष्ट भूमिका खेल्ने अपेक्षा राख्न सकिन्छ। पुस्तक, साहित्य, अर्थतन्त्र, समाज, राजनीति वा सिनेमा जस्ता विषयहरूलाई एउटै छानामुनि ल्याएर खुला बहस सम्भव बनाउनु कुनै सामान्य काम होइन।
सहरलाई केवल भौतिक पूर्वाधारले मात्र जिवन्त बनाउँदैन। सार्वजनिक संवाद, स्वस्थ बहस र आपसी सीप-अनुभवको आदानप्रदानले पनि उतिकै ऊर्जा दिन्छ। जब सहरी जीवनका मानिसहरू एउटै हलमा बसेर विचार सुन्छन्, प्रश्न गर्छन्, चुनौती दिन्छन् र नयाँ दृष्टिकोण लिएर बाहिर निस्कन्छन्, त्यही क्षणबाट सहरमा बौद्धिक चहलपहल सुरु हुन्छ। यही चहलपहलले बिस्तारै सहकार्य, मित्रता, रचनात्मकता र साझा पहिचान निर्माण गर्न सहयोग गर्छ।
नेपालगन्ज कनक्लेवलाई बढ्दो परिपक्व सार्वजनिक विमर्शको अभ्यासको रुपमा हेर्न सकिन्छ। शहरमा दैनन्दिन समस्या, आर्थिक अवसर, सांस्कृतिक विविधता, राजनीतिक आकांक्षा र नागरिक अनुभवको बहुआयाम छ। यी सबै एउटा साझा मञ्चमा नआउँदासम्म समाजको वहाव बुझ्न कठिन हुन्छ। संवाद गर्ने संस्कृतिले शहरलाई दिशानिर्देश दिन मद्दत गर्छ। विचारको मन्थन हुँदा स्थानीय नेतृत्वलाई नागरिकको चाहना ठम्याउन सजिलो हुन्छ, र समुदायले पनि आफ्नो आवाज प्रभावकारी रुपमा राख्न सक्छ।
यसपटक फाइनप्रिन्ट फिभरले साहित्यिक ऊर्जालाई थप उज्यालो बनाउँदै छ। वरिष्ठ लेखकदेखि उदार सोच राख्ने युवा सिर्जनाकर्मीहरू सम्मिलित हुनु, राजेश हमाल र पत्रकार पवन आचार्यबीचको संवाद, साथै विभिन्न सामाजिक र आर्थिक सत्रहरूको संयोजन, यी सबैले शहरलाई बहस गर्न सिकाउने अभ्यास जस्तै हुन् ।
नेपालगन्जजस्तो विविधतायुक्त शहरमा यस्तो मञ्चले समग्र देशकै सामाजिक परिवेशको ‘स्याम्प्लिङ्’ गर्न मद्दत गर्छ । युवाहरुमा व्याप्त बेरोजगारी र विदेश पलायनको लहर, धार्मिक सद्भाव, सीमापार व्यापार, शहरी व्यवस्थापन, स्वास्थ्य शिक्षाका चुनौती, र स्थानिय विकासका प्राथमिकता जस्ता मुद्दामा यस्ता छलफल केन्द्रित रहनु सान्दर्भिक ठहर्छ। यस्ता साझा बहसले शहरको दिगो विकासको खाका बनाउने आधार तय गर्नेछ ।
अहिले देशभर फैलिएको अनिश्चितता, दलगत खिचातानी, सामाजिक असन्तोष र आर्थिक सुस्तताको बीच नागरिक संवादको आवश्यकता झन बढेको छ। निर्वाचन नजिकिँदै गर्दा मतदाताको भावनात्मक र बौद्धिक तयारी बुझ्न यस्ता छलफल उपयोगी हुन्छन्। बहसले मानिसलाई आफ्नै रोजाइ र वैचारिक मान्यता स्पष्ट गर्न प्रेरित गर्छ। सार्वजनिक तर्कले राजनीतिक दललाई पनि उत्तरदायी बनाउँछ। जनताले के खोजिरहेका छन् भन्ने कुरा स्पष्ट रुपमा सतहमा ल्याइदिन्छ ।
नेपालगन्ज कनक्लेवको हरेक संस्करणले स्थानीय मुद्दालाई राष्ट्रिय मञ्चमा पुर्याउने भूमिकासमेत खेलेको छ । यहाँ प्रस्तुत विचार, साहित्य, नीतिगत बहस वा सामाजिक टिप्पणीहरू राष्ट्रिय मिडियासम्म पुग्ने गरेको देखिन्छ। हालैको जेनजी विद्रोहमा नेपालगन्जबाट दुइ युवाले शहादत प्राप्त गरेका छन् । यसले पनि यहाँका मानिसहरूको चिन्तनशिलता र परिवर्तनको चाहनाको बारेमा संकेत गर्छ । नेपालगन्ज केवल सीमावर्ती व्यापारिक केन्द्र मात्र होइन, समाजलाई डोर्याउने विचारको उद्गमस्थल पनि हो भनेर पुन: स्थापित गर्ने अवसर आएको छ।
म स्वयंले पनि यसपाला “जेनजी विद्रोहपछिको नेपाल : अन्यौल र अवसर” भन्ने सत्रमा सहजिकरण गर्नेछु । इतिहासका संवेदनशील मोडबारे खुला संवाद गर्दा धेरैले नदेखेको वास्तविकता सतहमा आउँछ । तीखा प्रश्नले कौतुहलताको चुरोसम्म पुग्न सहज बनाउने भए पनि भाषा सम्मानजनक रहनेछ। चर्चा गम्भीर भए पनि निष्कर्ष उज्यालो दिशामा केन्द्रित रहनेछ। यही अभ्यासले नागरिकलाई आलोचनात्मक रूपमा बुझ्न, तथ्यमा आधारित निर्णय लिन र सामाजिक सद्भाव मजबुत बनाउन सहयोग गर्छ ।
सहरको दीर्घकालीन परिवर्तनका लागि विचारको निरन्तरता आवश्यक हुन्छ। वर्षमा एकचोटि मात्र होइन, विद्यालय, कलेज, युवा क्लब, अनौपचारिक फोरमहरूले पनि यस्ता छलफल नियमित रुपमा संचालन गर्नेगर्नुपर्छ ।यसले सार्वजनिक चेतनालाई बलियो बनाउँछ। सहरभित्रका विविध विचारहरू एक अर्कासँग भेटिने, घुलमिल हुने र उज्यालो हुने ठाउँहरू बढ्दै जाँदा सहर स्वभाविक रूपमा सशक्त बन्छ। बौद्धिक कार्यक्रमहरू कुनै जमात वा समुदायका लागि मात्र होइन, सम्पूर्ण शहरको साझा भविष्यका लागि आवश्यक लगानी हुन् । कन्क्लेभले त्यसको नेतृत्व गर्ने क्षमता राख्छ ।
नेपालको वर्तमान सामाजिक परिवेशमा धेरै जसो टक शो, अन्तर्वार्ता र यस्ता डिस्कोर्षहरूमा कोरा शैद्धान्तिक आदर्शहरू प्रस्तुत गरिएतापनि समाधानमुखी बहश भने कमै भएको पाइन्छ ।‘यसो हुनु पर्छ’ वा ‘यस्तो गरिनुपर्थ्यो’ भन्ने तर्क धेरैले अघि सारे पनि त्यो कसरी गर्ने वा त्यसका प्रकृयागत चरणहरू भने कमैले सुझाएको पाइन्छ । हाम्रा बहशमा ‘के?’ र ‘कस्तो’ भन्नेमा धेरै मन्थन गर्ने गरिएतापनि ‘कसरी?’ भन्नेमा धेरै ध्यान दिइएको पाइन्न । यस्तोमा आगामी छलफलहरू किताबी विद्धता मात्र व्यक्त गर्ने भन्दा पनि समाधानमुखी बहशमा समेत ध्यान दिनुपर्ने आबश्यकता देखिन्छ ।
नेपालगन्जलाई अब केवल भौगोलिक विशेषताले मात्रै होइन, विचार र संवादले परिचित गराउने समय आएको छ। यस्तो अभ्यासले शहरलाई ऐतिहासिक, सांस्कृतिक वा व्यापारिक पहिचानभन्दा माथि उठाएर सोच्ने सहरमा रूपान्तरण गर्छ। यही रूपान्तरणले भविष्यमुखी नागरिक समाज तयार पार्छ।































