सन्ध्या गैरे
बाँके आज केवल भूगोलको नाम होइन, यो अब शिक्षाको नयाँ अध्याय लेखिँदै गरेको भूमि हो । समयसँगै बाँके शिक्षा हबका रूपमा उदाउँदै गएको छ र त्यस यात्राको अगुवाइ, अब महिलाको काँधमा रहेको छ । शिक्षाको अर्थ आज केवल ज्ञान–अर्जनको माध्यममा सीमित छैन; बाँकेमा शिक्षाले महिला चेतना, नेतृत्व र दृष्टिकोणको पुनर्जागरणको रूप लिइसकेको छ । कहिल्यै मौन बनाइएकी, निर्णयका परिधिबाहिर धकेलिएकी महिलाहरू आज शिक्षाको मेरुदण्ड बनेका छन् । उनीहरूको दृढता, लगनशीलता र अटुट आत्मबलले बाँकेलाई एक शिक्षामय नवजागरणको केन्द्रमा रूपान्तरण गरिदिएको छ । बाँके जिल्लाको शिक्षामा योगदान दिइरहेका केहि महिलाहरू
![]()
सन्ध्या गुप्ता
२०६२ सालमा विज्ञान संकायतर्फ एसएलसी उत्तीर्ण गरेकी दाङकी सन्ध्या गुप्ताका लागि यात्रा सजिलो थिएन । पारिवारिक अभाव र सामाजिक अवरोधबीच पनि उनले शिक्षणलाई आफ्नो जीवनको ध्येय बनाइन् । विवाहपश्चात नेपालगञ्ज आउँदा उनको जीवनले नयाँ मोड लियो — एक शिक्षिका मात्र होइन, एक परिवर्तनकी शिल्पकारका रूपमा । २०७३ सालमा शिक्षक सेवा आयोगमार्फत माध्यमिक तह विज्ञान शिक्षिकाका रूपमा स्थायी नियुक्ति पाएपछि उनले आफ्नो सम्पूर्ण समय शिक्षाको उत्थानमा समर्पण गरिन् ।
आज उनी मङ्गलप्रसाद माध्यमिक विद्यालयकी प्रधानाध्यापकका रूपमा करिब २७०० विद्यार्थी, ५५ शिक्षक–शिक्षिका र ११ कर्मचारीको नेतृत्व गर्दै सामुदायिक शिक्षाको पुनर्जागरणमा महत्वपूर्ण योगदान दिइरहेकी छन् । “सुरुवातमा समाजले विश्वास गरेन,” उनी सम्झिन्छिन्, “तर दृढ मनले असम्भवलाई सम्भव बनाउँछ भन्ने देखाइदिएँ।”
सामूहिक नेतृत्व, पारदर्शी प्रशासन र शिक्षकबीचको सहकार्यको नयाँ संस्कृति उनले विद्यालयमा स्थापना गरेकी छन् ।
![]()
मधुसिंह खत्री
संस्थागत शिक्षामा उत्कृष्टताको परिचय दिने नाम हो – गोल्डेन एबिसी एकेडेमी बाँके हाईस्कुलकी प्रधानाध्यापक मधुसिंह खत्री । १६०० भन्दा बढी विद्यार्थी, ६० शिक्षक–शिक्षिका र ३० कर्मचारीको नेतृत्व गर्दै उनले विद्यालयलाई केवल पाठ्यपुस्तकको सीमामा होइन, संपूर्ण व्यक्तित्व विकासको मञ्चमा परिणत गरेकी छन्।
९९.९% नतिजासँगै सह–शैक्षिक गतिविधिमा विद्यार्थीलाई अग्रणी बनाउँदै गोल्डेन एबिसी बाँकेको गौरव बनेको छ । खत्री भन्छिन्,“विद्यालयलाई दीर्घकालीन रूपमा टिकाइराख्न अभिभावकसँगको आत्मीय सम्बन्ध र विद्यार्थीको मनोविज्ञान बुझ्ने क्षमता नै प्रमुख पूँजी हो।” उनको दृष्टिकोणले शिक्षालाई मानवता र अनुशासनको समिश्रणमा बदलिदिएको छ।
![]()
सुमित्रा न्यौपाने
कोहलपुर–१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा न्यौपाने, संघर्ष र आत्मविश्वासको जिवन्त प्रतीक हुन् । सामान्य पृष्ठभूमिबाट आएका उनले अध्ययन पूरा गर्दै शिक्षणमा पाइला राखिन् र २०७७ सालमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिन्। ऋणमा डुबेको विद्यालयलाई पुनर्जीवन दिन असम्भव छ भन्नेहरूलाई उनले गलत सावित गरिन्। “पहिलो चुनौती स्रोत जुटाउने थियो,” उनी सम्झिन्छिन्, “तर सहयोगी शिक्षक र समुदायको साथले असम्भव पनि सहज बन्छ।”
आज ११०० विद्यार्थी र ५० शिक्षकहरूको टोली उनीकै नेतृत्वमा अनुशासन, दृष्टि र सहकार्यको सूत्रमा बाँधिएको छ। सुमित्रा भन्छिन्,“महिलाको नेतृत्व बलियो बनाउन उनीहरूलाई निर्णय प्रक्रियामा सहभागिता दिलाउनु आजको आवश्यकता हो।” उनको भनाइमा महिलाको नेतृत्व केवल जिम्मेवारी होइन, परिवर्तनको मूल स्रोत हो।
उनी कथाकार समेत हुन् । उनको आँखा र आँखाहरू प्रकाशित कथासंग्रह हो ।
![]()
शशी स्वाँर
२०५० सालमा शिक्षकका रूपमा यात्रा सुरु गरेकी शशी स्वाँरले शिक्षालाई आफ्नो जीवनको धर्म मानेकी छन् । २०६४ सालदेखि एबिसी आवासीय माध्यमिक विद्यालय नेपालगञ्जकी प्रधानाध्यापकका रूपमा कार्यरत उनी करिब १८ वर्षदेखि निरन्तर सेवामा छन्।
९०० विद्यार्थी र ६० कर्मचारीको नेतृत्व गर्दै उनले विद्यालयमा अनुशासन, प्रविधि र शिक्षा गुणस्तरको सन्तुलन स्थापना गरेकी छिन्। “प्राविधिक मैत्री शिक्षा र नियमित मूल्याङ्कन बिना गुणस्तर असम्भव छ,” उनी भन्छिन्,“शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिकोणीय सहकार्य नै आधुनिक शिक्षाको आत्मा हो।”
उनको नेतृत्वमा विद्यालय केवल शैक्षिक संस्थान होइन, सजग र सक्षम नागरिक तयार गर्ने प्रयोगशाला बनिसकेको छ ।
![]()
किरण आचार्य
१६ वर्षसम्म धम्बोझी माध्यमिक विद्यालयमा सेवा दिई सेवा निवृत्त भएकी किरण आचार्य बाँकेको शिक्षाको इतिहासमा स्थायी नाम हुन् । “पहिले पनि महिलाको नेतृत्व उत्साहजनक थियो, अहिले झन् सशक्त हुँदै गएको छ,” उनी भन्छिन्। उनका अनुसार, सुशिला शर्मा, शान्ति श्रेष्ठ र रेणुका चटर्जीजस्ता शिक्षिकाहरू बाँकेको शिक्षाको इतिहासमा प्रेरणाका नक्षत्र हुन्।
किरण आचार्यका अनुसार, “शिक्षक केवल ज्ञानदात्री होइनन्; उनीहरू समाजका आत्मा हुन्।”
![]()
केशवा रेग्मी गौतम
शान्त, संयमित र सफल नेतृत्व होप इन्टरनेशनल एकेडेमीकी प्राचार्य केशवा रेग्मी गौतम (एमए) २०६४ सालदेखि विद्यालयको नेतृत्व गरिरहेकी छिन्।यसअघि उनले दुई वर्ष सिविन नेपालमा सेवा दिएकी थिइन् ।आज ८५० विद्यार्थी र ६५ शिक्षक–शिक्षिकाको टोलीको प्रमुखका रूपमा उनी भन्छिन्, “काम गर्दा चुनौतीहरू त आइरहे, तर शान्त र संयमित ढंगले समाधान गर्न सक्यौं । अहिले हाम्रो विद्यालयमा ७०% महिला सहभागिता छ, र हाम्रो एसईई तथा १२ कक्षाको नतिजा शतप्रतिशत आउँछ ।” उनी समावेशीता, सन्तुलन र आत्मबलमा आधारित नेतृत्वको प्रतीक बनेकी छिन् ।
बिना मल्ल, सुशीला शर्मा, नर्वदा शर्मा, शान्ति श्रेष्ठ, किरण आचार्यजस्ता प्रधानाध्यापकहरूको बाटो पछ्याउँदै आजका महिलाहरूले बाँकेको शिक्षालाई नयाँ उचाइमा पुर्याएका छन् । सामुदायिक, संस्थागत मात्र होइन, धार्मिक विद्यालयहरूमा समेत महिलाहरूको सक्रिय नेतृत्व देखिनु बाँकेको विशेष पहिचान बनेको छ । डुडुवा गाउँपालिका–३ स्थित श्री आधारभूत विद्यालय छोटि हलबलडोलीकी प्रधानाध्यापक आरती कुमाल, राप्ती सोनारी गाउँपालिकामा उच्च शिक्षा अध्यापन गर्दै आइरहेको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसकी प्रमुख बिमला आचार्य, नरैनापुरस्थित धार्मिक तथा मदरसा विद्यालय मदरसा खदीजतुल कुब्रा मा निजामुल खातुन पठानिन लगायतले शैक्षिक संस्थाहरू हाँकिरहेका छन् ।
यसैगरी, जानकी गाउँपालिकामा प्राथमिक विद्यालयदेखि आधारभूत तहसम्मका विद्यालयहरूमा महिलाको नेतृत्व छ। बैजनाथ गाउँपालिकाको श्री सुन्दर आवासीय विद्यालय छमनीयाकी शान्ति खड्का प्रमुखको रूपमा कार्यरत छिन् भने खजुरा गाउँपालिकामा समेत महिलाहरूको सहभागिता प्रमुख स्थानमा रहेको पाइन्छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका मनिषा पौडेल र खिमा थापा, र स्थानीय तहका शिक्षा अधिकृत शिला गौतम र कृष्णकुमारी भण्डारीलगायत अन्य पाँच जना महिला अधिकारीहरूले प्रशासनिक तहमा नेतृत्व गरिरहेका छन् । “एक पुरुष शिक्षित भयो भने एउटा जीवन उज्यालिन्छ, तर एक महिला शिक्षित भइन् भने सम्पूर्ण समाज उज्यालिन्छ।” बाँकेका यी नारीहरूले यो भनाइलाई शब्दमा होइन, कर्ममा उतारेका छन्।
उनीहरूको प्रतिबद्धता, समर्पण र नेतृत्वले बाँके मात्र होइन, देशकै शिक्षाको भविष्य उज्यालो बनाइरहेको छ । यिनै महिलाहरू बाँकेको शिक्षाको मुटुमा धड्किरहेका छन् । जसको प्रत्येक निर्णय, प्रत्येक प्रयास, र प्रत्येक सफलतामा देशको समृद्ध भविष्यको धुन सुनिन्छ । यदि महिलाको नेतृत्वलाई निरन्तर प्रोत्साहन, अवसर र विश्वास दिइयो भने, बाँकेको जस्तो उदाहरणबाट सिङ्गो राष्ट्रले सिक्नेछ– शिक्षामा महिलाको नेतृत्व भनेको केवल नीति होइन, नेपालको उज्यालो भविष्यको प्रतिज्ञा हो ।