होटल व्यवसायी–श्रम कार्यालय छलफल

साना तथा होटल व्यवसायमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा सँग जोड्न आवश्यक पहल थालिएको छ । त्यसका लागि होटल व्यवसायी संघ बाँके नेपालगन्जले बिहीबार श्रम तथा रोजगार कार्यालय नेपालगन्जसँग परामर्श बैठक आयोजना गरेको जनाएको छ ।

संघका अध्यक्ष भीमलाल कंडेलको नेतृत्वमा पदाधिकारी सहितको टोलीले श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकसँग श्रमिक ऐन र सामाजिक सुरक्षा सम्बन्धी कानुन बारे अन्तरक्रियात्मक छलफल गरेको हो । ‘त्यसबारे आम होटल व्यवसायीहरूलाई जानकारी गराउन आवश्यक परेकाले छिट्टै अभिमूखिकरण कार्यक्रम गरिने भएको छ’, संघका अध्यक्ष कंडेलले छलफल पछि दैनिक नेपालगन्जसँग भने, ‘व्यवसायीहरूलाई यसबारे नबुझाउँदासम्म कार्यान्वयनमा आउन सम्भव छैन ।’

छलफलमा सहभागी व्यवसायीहरूले ऐन, कानुनबारे अभिमूखिकरण नगरिकनै अनावश्यक दबाब दिने गरेको भन्दै श्रम कार्यालयको व्यवहार प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

‘कलकारखानाका कामदार र होटलका श्रमिकलाई एकै ठाउँमा राखेर बनाएको कानुनले उचित सम्बोधन गर्दैन’, बैठकमा व्यवसायीहरुले ऐन संशोधनको माग राख्दै भने, ‘व्यवसायी र श्रमिक दुवैलाई यसबारे राम्रोसँग अभिमूखिकरण आवश्यक छ ।’ छलफलमा कार्यालय प्रमुख रजक २०७४ सालमै कानुन बनेपनि यसलाई पूर्ण रुपमा लागु गर्न नसकिएकाले प्रभावकारी पहलकदमी आवश्यक भएको छ । त्यसतर्फ कार्यालयले आवश्यक पहलकदमी गर्ने उनले बताएका थिए ।

बैठकमा निवर्तमान अध्यक्ष रंग बहादुर खड्का, संघका उपाध्यक्ष रेशम पोखरेल, सचिव थुम बहादुर क्षेत्री, कोषाध्यक्ष एकराज पाण्डेय, सहकोषाध्यक्ष घनश्याम शर्मा, सदस्यहरु गीता सुवेदी, कल्पना थापा, तुल बहादुर कार्की, अतुल वैश्य, सुरज भण्डारी लगायत सहभागी थिए ।

Exit mobile version