भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चौथो बर्षमा प्रवेश गरेको छ । शुक्रबार आफ्नो तेस्रो बार्षिकोत्सव मनाउँदै भरोसाले सहकारी प्रतिको विश्वास र प्रतिष्ठालाई पुनस्र्थापित गर्दै जाने प्रतिबद्धता जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले विधि र पद्धतिमा सञ्चालित सहकारी कहिल्यै पनि संकटमा नपर्ने बताउँदै भरोसाले आफुलाई छोटो समयमा भरोसा योग्य बनाएको बताए ।
सहकारीलाई व्यवस्थित बनाउँदै जाने संघले अघि सारेको विभिन्न पहलकदमीबारे जानकारी दिंदै अध्यक्ष सुवेदीले जिल्लामा राम्राराम्रा सहकारी संस्था भएपनि त्यसलाई बाहिर ल्याउन नसकिएको बताए । ‘त्यसका लागि मिडियाले भूमिका खेलिदिनु पर्यो’, सुवेदीले भने ।
भरोसा सहकारीका सचिव विकास भट्टराईले सहजीकरण गरेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले पछिल्लो तीन बर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्था सफलिभूत ढंगले अगाडि बढेको बताए । उनका अनुसार, डेढ अर्बको कारोबार गरेको भरोसाले पछिल्लो आर्थिक बर्ष मात्रै ३० करोड बचत संकलन गर्न सफल भएको छ ।
