बाँकेका क्रियाशील पत्रकार महिला र स्थानीय जनप्रतिनिधि महिलाबीच सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजय भएको छ।
गोर्खा युनाइटेड स्कुल कोहलपुरको मैदानमा आयोजना गरिएको खेलमा विजेता पत्रकार महिलाको टोलीलाई ट्रफी सहित नगद रू १५ हजार र उपविजेता जनप्रतिनिधि महिलाको टिमलाई नगद रु ५ हजार प्रदान गरिएको छ।
सिटी यूथ क्लबको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्ज बाँकेको समन्वयमा सम्पन्न प्रतियोगिता लुम्बिनी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठ सांसद विकास कोषबाट सञ्चालन गरिएको हो।
पत्रकार विद्युतमा रैकाले एक गोल गर्दै पत्रकार महिलाको टिम विजयी भएको हो।
महिला सशक्तिकरण, नेतृत्व विकास र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले सहभागीहरूबीच उत्साह थपेको छ।
