राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि– यही नारासहित नेपालगन्जस्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालयले आइतवारदेखि खेलकुद उत्सव सञ्चालनमा ल्याएको छ ।
रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियालाई विद्यालय परिसरमा खेलकुद उत्सवका रुपमा सञ्चालनमा ल्याइएको हो । आइतबार आयोजित औपचारिक कार्यक्रमसँगै तीनदिनसम्म खेलकुद उत्सव सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले जानकारी दिइन् ।
विद्यालय प्रांगणमा सुरु भएको खेलकुद सप्ताहको नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । प्रमुख अतिथि थापाले शैक्षिक विकासमा मंगल प्रसाद माविले वर्षौंंदेखि गरिरहेको योगदानको सराहना गर्दै खेलकुदमा विद्यार्थीहरुलाई प्रेरित गर्न यस्ता प्रतियोगिताले उल्लेख्य भूमिका खेल्ने बताए । उनले पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अघि बढाउन आवश्यक रहेकोमा जोड दिए । उद्घाटन सत्रमा विद्यार्थीहरुले मार्च पास गर्दै सलामी अर्पण गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहले विद्यालयका खेल शिक्षकलाई खेलसामाग्री हस्तान्तरण गरि खेल इभेन्टस् शुभारम्भ गरिएको थियो । उद्घाटनसँगै विद्यार्थीहरूले प्रस्तुत गरेका मार्चपास, योगा, नृत्य र प्रभातफेरीले विद्यालय वातावरण उत्साह र उमंगले भरिएको देखिन्थ्यो । विद्यालयका अध्यक्ष सिंहले मंगल प्रसाद माविलाई यस क्षेत्रकै उत्कृष्ट गन्तव्य बनाउन लागिपरेको बताउँदै सबैको सहयोग, समन्वय र हातोमालो आवश्यक रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक गुप्ताका अनुसार, तीन दिनसम्म विभिन्न खेल इभेन्ट सञ्चालन हुनेछन् । यिनै खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट रनिङ शिल्ड प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिनेछ । कक्षा १ देखि १२ सम्मका ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा प्रतिस्पर्धाको माहोल झनै जीवित बनेको छ ।
शुभारम्भमा आकर्षक मार्चपास गरेका मंगल माविका विद्यार्थीहरुलाई समापन दिवसमा छात्रवृत्ति वितरणसहितका विशेष कार्यक्रमहरूको आयोजना गरिने विद्यालयले जनाएको छ । खेलकुदलाई विद्यार्थीको शारीरिक, मानसिक र अनुशासनात्मक विकाससँग जोड्दै विद्यालयले यस वर्षको छनोट कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक ढंगले अघि बढाएको बताइएको छ ।
तीन दिनसम्म मनाइने खेलकुद सप्ताहमा विभिन्न खेल इभेन्ट्सहरु संचालन गरिने प्रधानाध्यापक सन्ध्या गुप्ताले बताइन् । खेलकुदजन्य क्रियाकलापहरुमा विद्यार्थीहरुलाई प्रोत्साहित गर्न वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सप्ताह संचालन गरिएको गुप्ताले जानकारी दिइन् ।
उद्घाटन समारोहमा प्रधानाध्यापक सन्ध्या गुप्ताले विद्यालयको प्रगति विवरण पनि प्रस्तुत गर्दै भइरहेका पहल र प्रयासबारे पनि जानकारी गराएकी थिइन् ।

