कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

म चन्द्रकला उप्रेती—२२ वर्षदेखि बन्द ढोकाहरू, अन्धकार गल्लीहरू, भित्ताहरूमा टाँसिएका नामहरू र नफर्केको आशाको बीचमा एक्लै श्रीमानको खोजी गर्दै हिंडिरहेकी एक साधारण तर अटल महिला। मंसिर २३, २०६०—मेरो जीवनको सबैभन्दा नराम्रो दिन। यिनै दिन सुरक्षा निकायले मेरो श्रीमान भुपेन्द्रराज उप्रेतीलाई नेपालगन्जको धम्बोजी चोकबाट जबरजस्ती समातेर आँखामा पट्टी बाँधी राँझा ब्यारेकतर्फ लगे । त्यतिबेलादेखि आजसम्म उहाँको कुनै अत्तोपत्तो छैन ।

श्रीमान बेपत्ता भएको थाहा पाएदेखि म कमजोर हुँदै गइरहेकी थिएँ तर आशाको धागो टुट्न दिन सकिनँ। तीन–चार दिनपछि राँझा ब्यारेकमा मासु पु¥याउने एक ठेकेदारबाट थाहा पाएँ– उहाँलाई ब्यारेकभित्रै जिउँदै भेटिएको रहेछ। “म छिट्टै आउँछु, बच्चाहरू राम्रोसँग हेरदिनू,” भन्ने उहाँको सन्देशले मेरा आँखा रसाए, तर मनले आशाको एउटा टुक्रा फेरि समात्यो ।
त्यसपछि श्रीमानसँगै पक्राउ परेका सुनील क्षेत्री थुनामुक्त भएर घर फर्किए। उहाँले ब्यारेकभित्र श्रीमानलाई कुटपिट गरिएको, थुनुवालाई बोल्नसमेत नदिई धम्की दिने वातावरण रहेको, आफू मात्र भाग्यले बाँचेर आएको बताए । उहाँका यी कथनहरूले मेरो मनमा पीडा र डरको पहाड थपिदियो, तर खोजी अझै कडा बनायो। धेरै पटक ब्यारेकको ढोका ढकढक्याएँ, तर हरेक पटक एकै उत्तर—“हाम्रो गस्तीले तिम्रो श्रीमानलाई पक्राउ नै गरेको छैन।”

प्रहरी प्रशासनतर्फबाट पनि न्याय र राहतको महसुस गर्न पाइनँ । बरु, “माओवादी हराएकोमा के–के खोज्न आउँछ्यौ?” भन्दै धम्की र अपमान मात्र पाइरहेँ । श्रीमान नै मेरो परिवारका मुख्य ब्यक्ति हुनु हुन्थ्यो । घर ब्यवहार चलाउनु हुन्थ्यो । उहाँलाई बेपत्ता पारिए पछि वहाँले संचालन गर्दै आउनु भएको ब्यापार व्यवसाय बन्द भयो, घर खर्च चलाउनै नसक्ने अवस्था आयो । आर्थिक, मानसिक र सामाजिक पीडाको भारीले हरेक दिन थिचिरहेको थियो ।

मैले न्यायका लागी राष्ट्रिय मानव अधिकार आयोग देखि विभिन्न मानवअधिकार संस्थासम्म उजुरी गरे । संक्रमणकालीन न्यायका लागी धेरै आवाज सुनाएँ, तर वास्तविकताको ढोका कहिले पनि खुलेनन । कानुन बने, पीडकलाई ७५% सम्म सजाय माफीका दफाहरू आयो—पीडकका पक्षमा, पीडितका पीडा माथि नुकचुक छरिदिने किसिमले । म जस्ता धेरै बेपत्ता परिवारहरूको आवाज कुनै फाइल भित्र थुनिए जस्तै हुन्छ ।

श्रीमानलाई बेपत्ता पारेको घटनामा सामाजिक पीडाले झनै तोडिरह्यो । कसैले ‘अब फर्किँदैनन्, श्रीमानलाई बिर्स,’ भन्छन् । कसैले ‘अर्को जीवन खोज,’ भन्छन् । तर म कसरी बिर्सूँ? उहाँ बिना मेरो अस्तित्व नै अधुरो छ । साँझ ढोकामा चुकुल घुँइचिएको आवाज आयो भने, टाढाबाट कसैको पाइला सुनियो भने, मन हतार–हतार ढोकातिर दौडिन्छ—“कहीं आज फर्किनुभएको त हैन?”

गत वर्ष मैले अत्यन्तै पीडासाथ श्रीमानको कुसको लास बनाएर दाहसंस्कार गर्नु प¥यो । शरीर त जल्यो तर मनले अझै मान्न सकेको छैन—उहाँ साँच्चै यो संसारमा हुनु हुन्न भनेर । अझै जिवत भएको बिश्वास पनि लाग्छ । कतै बोलाउदै घर आउनु हुन्छ भन्ने लाग्छ । कुकुर भुक्दा वा कोही मान्छे घर आउदा पनि श्रीमान नै आउनु भएको हो भन्ने लाग्छ । हिन्दु संस्कारले त कर्तव्य निभाउन कुसको लास बनाई सद्रगत गरे, तर मनमा अझै पनि आशाको ढुकढुकी बाँचिरहेछ—कहींबाट केही खबर आउला कि?
आज श्रीमानलाई बेपत्ता पारेको पनि २२ वर्ष बितिसक्यो । राज्य अझै मौन छ । यतिबेला म राज्यलाई प्रत्यक्ष प्रश्न राख्न चाहन्छु—हाम्रो मान्छे कहाँ छन् ? किन चुप बसिरहेको छ राज्य ? हामीले कति वर्ष रुन बाँकी छ? अव छिटो भनी देउ सरकार ।

हामी पीडितलाई माफी होइन, सत्य चाहिएको हो। सजावटको भाषण होइन, न्याय चाहिएको हो । कागजी सहानुभूति होइन, न्यायको प्रत्याभुति सहितको परिपूरण र सम्मान चाहिएको छ । संक्रमणकालीन न्यायको संरचना पारदर्शी र पीडितमैत्री नबनेसम्म, सत्य बाहिर ल्याइएनसम्म, हामीलाई न्यायको अनुभूति हुने छैन ।

मेरो अन्तिम कामना अत्यन्त सरल छ—अब म जस्तै पीडा कसैले भोग्न नपरोस्। कसैको पति, छोरा वा बुबा बेपत्ता नहोउन् । कसैलाई पनि आशा र निराशाको दोधारमा बस्न नपरोध । म जस्तो बेपत्ता पारिवारका कुनै महिलाले कुसको लासको अन्तिम संस्कार गर्न नपरोस् । श्रीमानको जिउदो मर्दो अवस्थाका बारेमा चाडो जानकारी पाईयोस ।

२२ वर्षदेखि श्रीमानको सम्झना, आशा–निराशा, सामाजिक चाप, प्रशासनको उपेक्षा र राज्यको मौनताबीच म आज पनि उही प्रश्न लिएर उभिएकी छु—सत्य कहिले आउने हो? न्याय कहिले दिने हो?
लेखक द्धन्द्ध पीडित महिला राष्ट्रिय संजालका सचिव हुन ।

Exit mobile version