निर्वाचनको सरगर्मी बढिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा यसका विविध पक्ष र पाटोको बारेमा छलफल, बहस र चर्चापरिचर्चा पनि भैरहेकै छन् । कसले चुनाव जित्छ ? कुन दलले सबैभन्दा बढी भोट पाउँछ वा कुन दल सबैभन्दा ठुलो बन्छ ? मतदाताको रुझान कता छ वा मतदाताको रोजाइमा कुन दल वा उम्मेदवार छ ? कुनै दलको बहुमत आउँछ वा आउँदैन ? भन्ने जस्ता प्रश्नहरू चिया चौतारी र चोक–चोकमा हुने गरेको देखिन्छ । गाउँ, शहर जताततै चुनावले छपक्कै छोपेको छ । पार्टी र उम्मेदवारहरूलाई मात्र हैन आम जनतालाई पनि चुनावले छोएको छ, यतिबेला ।
उम्मेदवारहरू घरदैलो मात्र हैन खेतबारी र पानी पँधेरो पुगेर पनि मतदाता सँग मत मागीरहेका छन् । मतदाता सँगै कुनै उम्मेदवार घाँस काटिरहेका, कोहि उखु काटिरहेका, कोहि तरकारी बनाइरहेका त कोहि मकै भुटीरहेका देखिन्छन् । मत माग्न गरेको चटक पनि कम्ता रमाइलो देखिएको छैन । मत माग्न यसपटकको चुनावमा थरीथरी उम्मेदवारका थरीथरीका तरिका देखिएको छ । आमसभा भन्दा पनि मतदाता भेटघाटलाई जोड दिएका दलहरूले प्रत्यक्ष रूपमा मतदाता समक्ष पुग्ने र आफ्ना कुराहरू राख्ने गरेको देखिन्छ । केपी ओली देखि प्रचण्ड सम्म गगन थापा देखि राजेन्द्र लिंग्देल सम्म सबैले मतदाता सम्म पुग्ने कुरालाई जोड दिएको देखिन्छ । बालेन भने देश दौडाहामा छन् र पछिल्लोपटक रवि लामिछाने पनि बालेन संगै दौडिरहेका छन् ।
सबैले आ–आफ्ना पक्षमा मतदाता रहेको र आफुलाई बहुमत आउने वा आफ्नो दलले सबैभन्दा बढी मत प्राप्त गर्ने दावी गरेता पनि परिणाम कसको पक्षमा आउँछ र कसको पल्ला भारी हुन्छ भनेर यसै भन्न सकिने अवस्था आजका दिनसम्म छैन । नारा जेजस्ता दिए पनि त्यसलाई जनताले सहजै पत्याइहाल्ने र त्यसैका आधारमा भोट खसालीहाल्छन् भनेर भन्न सकिने अवस्था पनि छैन । हो, जनता अहिले सचेत भने पक्का छन् । उनीहरू सोचविचार गरेर मात्र भोट दिने मुडमा छन् । सबै घटनाहरूलाई जनताले नजिकबाट नियालिरहेका छन् । देश र जनताको पक्षमा कसले के भूमिका खेलिरहेको छ र कसले कुन स्वार्थ सिद्दको निम्ति काम गरिरहेको छ, त्यो जनताले बुझिरहेका छन् । सञ्चारको सहज पहुँचले अब सत्य लुकाउन पनि गाह्रो छ । हो, अहिले सामाजिक सञ्जालको गलत प्रयोग, मिथ्या एवं भ्रमपूर्ण सामग्रीको बिगबिगीले समाजलाई दिग्भ्रमित भने अवश्य पारेको छ । सञ्चारको दुरूपयोग वा दुष्प्रचारले केहि क्षण समाजलाई दिग्भ्रमित पार्न सफल भए पनि आम जनतामा सत्यको परिक्षण गर्ने क्षमता बढ्दै जाँदा बिस्तारै पर्दाहरू खुल्दै जाने छन् र बिस्तारै खुल्दै गैरहेको पनि देखिन्छ ।
चुनवामा जनताले भोट दिने आधार भनेको दलको नीति, योजना, कार्यक्रम र घोषणा हो । तर अहिले राजनीति नीति बिहिन जस्तो देखिँदै गैरहेको छ । दल र उम्मेद्वारहरू आफ्ना नीति, उद्देश्य र कार्यक्रमको प्रचार भन्दा पनि घृणा, द्वैष र लान्छनाको प्रचारमा तछाडमछाड गरिरहेको देखिन्छ । नीति बिहिन राजनीति कहाँ पुगेर दुर्घटनामा पर्ने हो, यसै भन्न सकिदैन । तर दुर्घटना अवश्यम्भावी छ ।
अब प्रश्न उठ्छ भोट कसलाई दिने ? किन र केका लागि दिने ? सबैभन्दा पहिले चर्चा गरौँ भोट कसलाई दिने भन्ने प्रश्नको उत्तरबाट । तर त्यसभन्दा पहिले “भोट” केहो भन्ने बुझ्न पनि जरुरी छ । भोट भनेको कुनै दल वा उम्मेदवारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनु र बाकसमा मतपत्र खसाल्नु मात्र “भोट” होइन । भोट भनेको नागरिकको सर्वोच्च सार्वभौमिक अधिकार हो । जसले आफैमाथि कानुन बनाउने अधिकार दिन्छ र आफैमाथि शासन गर्ने अधिकार पनि दिन्छ । भोट भनेको त्यस्तो शक्ति हो, जसले सरकार र शासन बदल्ने मात्र होइन देशको भाग्य र भविष्य बदल्ने पनि सामथ्र्य राख्दछ । यतिमात्र होइन देशहरूको उदय र बिलय पनि भोटबाटै हुने गरेका दृष्टान्त समेत विश्व राजनीतिमा भेटिन्छन् । अर्कोतर्फ, भोट त्यो हतियार हो जो आफ्नै विरुद्ध पनि प्रयोग हुन सक्छ । यदी भोट गलत ठाउँमा प¥योे भने त्यसले आफैलाई नोक्सान पनि गर्दछ । भोटबाटै देशद्रोही जन्मिएका र भोटबाटै निरङ्कुश तानाशाह जन्मिएका इतिहास पनि छन् । विश्वका कैयौं देशहरूको घटनाक्रमले यसलाई पुष्टि गर्दछ । त्यसैले “भोट”ले दिने नतिजा केहो ? त्यसको विश्लेष्ण र लेखाजोखा गरेर मात्र भोट दिनु विवेक सम्मत र बुद्दिमानी हुन्छ ।
अब भोट कसलाई दिने त ? यसपटक हुन लागेको चुनाव नेपालमा पहिलोपटक अवश्य होइन । २०१५ सालदेखि हालसम्म थुप्रै संसदीय निर्वाचनहरू सम्पन्न भए । कैयौं सरकारजहरू बने । अल्पमतको सरकार बन्यो, बहुमतको सरकार बन्यो, गठबन्धन त रोगै बन्यो । यस बीचमा थरिथरिका सरकार बने । बिडम्बना कुनैपनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न पाएनन् । त्यसैले दलको नीति, कार्यक्रम, योजना र घोषणा, त्यस प्रति उसको प्रतिवद्धता र कार्यान्वन क्षमता, उसको लक्ष्य, उद्देश्य र गन्तव्य, विगतमा सरकारमा हुँदा गरेका काम र गर्न बाँकी रहेका कामको मूल्यांकन, रोजगारी बढाउने र गरिबी घटाउने उसका कार्यक्रम, देशको स्वाधिनता र सार्वभौमिकता प्रतिको दलको अडान र उसको भूमिका जस्ता कुराहरूको आधारमा दल र तिनका उम्मेदवारलाई भोट दिने कुरा विवेकी हुन सक्छ । यो स्थानीय चुनाव होइन । स्थानीय चुनावका प्राथमिकता भने केहि फरक हुन सक्छन् ।
अब भोट किन र केका लागि ? भन्ने प्रश्नको जवाफ खोजौं । पहिलो कुरा त कुन पार्टी र उम्मेदवारलाई “भोट” किन दिने भन्ने प्रश्नको उत्तर मतदाताले खोज्नु पर्छ र त्यसको उत्तर पनि मतदाताले पाउनु पर्दछ । जनताको प्रश्नबाटै भाग्ने उम्मेदवार र पार्टी जनताप्रति कति जिम्मवार र जवाफदेही हुन सक्लान त्यो सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले पहिले त स्वयम् उम्मेदवार र पार्टीलेनै मतदातालाई आश्वास्त पार्नु प¥यो र जनतालाई आफूप्रति आकर्षित गर्दै भोट दिने वातावरण बनाउनु प¥यो । अनि मतदाताले कुन पार्टी र उम्मेदवारलाई भोट दिने त्यो छनौट गर्नु प¥यो । भोट दिनु भनेको नीति÷कानुन बनाउन र शासन गर्न दिन नै हो । त्यसैले कसलाई वा कुन दललाई देशको नीति÷कानुन बनाउन दिने र शासन गर्न दिने त्यो मतदाताको छनौटको विषय हो । छनौट गर्ने आधार भनेको माथि भनिएजस्तै दलको नीति, कार्यक्रम, योजना र घोषणा, त्यस प्रति उसको प्रतिवद्धता र कार्यान्वन क्षमता, उम्मेद्वारको इमान्दारिता, हिजो सरकारमा हुँदा गरेका काम आदि कुराहरूको आधारमा दल र त्यसका उम्मेदवारलाई भोट दिने कुरा नै विवेक सम्मत हुन सक्छ । “भोट” मतदाताको अधिकार मात्र होइन लोकतन्त्रको प्राण पनि हो । (मभखअजबगबिनबष्ल२नmबष्।िअयm)
