एकातिर संसद स्थापनाको न्यायिक लडाईमा अग्रसर नेपाली काँग्रेस आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचन तयारीमा पनि पूर्व तयारीमा जुटेको छ । त्यसक्रममा देशभर नेपाली काँग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट उम्मेदवार सिफारिस प्रक्रियालाई औपचारिकता दिइएको हो ।
बाँकेमा तीन वटै निर्वाचन क्षेत्रबाट क्षेत्रीय समितिले प्रारम्भिक आकांक्षीहरुको सूचि तयार गरी सिफारिस गरेको बाँके काँग्रेसका सचिव सुधांसु कोइरालाले जानकारी दिए । ‘त्यसमाथि जिल्लाको बैठकले सिफारिस प्रक्रियालाई औपचारिकता दिंदै प्रदेश समितिलाई राय सहित पठाउँछौं’, पार्टी सचिव कोइरालाले दैनिक नेपालगन्जसँग भने, ‘प्रदेश हुँदै केन्द्रबाट उम्मेदवारी टुंगो लाग्नेछ ।’
पार्टी स्रोतका अनुसार, क्षेत्र नं. १ बाट पार्टीका क्षेत्रीय सभापति पोषण केसी सहित पाँच जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुने नाममा जिल्ला पार्टी सभापति नारायण प्रसाद गौडेलदेखि उपसभापति कृष्ण बहादुर कार्कीसम्म छन् । लोकप्रिय युवा नेता माधवराम खत्री र हुर्मत न्यौपानेको नाम पनि सिफारिस गरिएको छ ।
बाँके क्षेत्र नं. २ मा पनि पाँच जनाको नाम सिफारिस भएको छ । ‘सुशिल कोइरालाको विरासतका रुपमा रहेको यो क्षेत्रलाई सुधांसु कोइरालाले दाबी गरेका छन्’, बैठकमा सहभागी काँग्रेस नेता भन्छन्, ‘नामहरुको सिफारिसमा पनि उनकै लागि अनुकुल देखिएको छ ।’
सिफारिस हुनेमा सुधांसु कोइरालासँगै सुदिप नरसिंह राणा, मो. याकुव अन्सारी, गजेन्द्र हमाल, रमेश गुप्ता छन् । ‘युवाहरुको माग भैरहेको बेला सुधांसुको दाबीले लय समातेको’ काँग्रेस वृत्तमा चर्चा छ । समानुपातिक तर्फ निजामुद्दिन सिद्दिकी (मुन्ना) देखि मैकुलाल वाल्मिकी सम्म छन् । क्षेत्र नं. ३ मा पार्टी केन्द्रीय सहमहामन्त्री समेत रहेका वर्तमान प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौंर, लक्ष्मीनारायण शाह लगायत छन् ।
‘केन्द्रमा रहेका तीन शक्ति केन्द्र अनुसारकै उम्मेदवार आकांक्षीको दाबेदारीमा पनि बाँकेमा सन्तुलन देखिएको छ’, काँग्रेस सम्बद्ध नेता भन्छन्, ‘अन्त्यमा भागवण्डा गरेर उम्मेदवारी टुंगो लगाउने संकेत अहिलेका आकांक्षीहरूको सूचिबाटै प्रष्ट हुन्छ ।’