नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध पाँचौँ वाकाथन आयोजना गरिएको छ । मंगलवार भ्रष्टाचार बिरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बास नेपाल र अन्तरालको सहकार्यमा यो कार्यक्रम गरिएको हो ।
बिहान ७ बजे गणेशमान चौकबाट सुरु भएको वाकाथन बिपि चौक, त्रिभुवन चौक, सदरलाइन हुँदै रामलिला मैदानमा गएर सकिएको थियो । जहाँ सहभागीहरूले ‘भ्रष्टाचार बिरुद्ध सँगै हिँडौँ’ जस्ता नारासहित सडकबाट जनचेतना फैलाएका छन् । वाकाथनमा युवा विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।
रामलिला मैदानमा भएको समापन कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्ती सोनारी गाउँपालिकाका उपप्रमुख मनिशा सिंह थारु, डा. किशोर खत्री, नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठ लगायतले भ्रष्टाचार अन्त्यका लागि सबै मिलेर लाग्न आवश्यक भएको बताए ।
त्यस कार्यक्रममा खुला हाजिरी जवाफ प्रतियोगितामा २० विजेतालाई पुरस्कार दिइयो । विभिन्न संघ–संस्था, विद्यालय, युवाग्रुपलगायत धेरैले वाकाथनमा सहभागी भएर ऐक्यबद्धता जनाए ।
कार्यक्रमको नेतृत्व बासका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गरेका थिए । उनका अनुसार, पश्चिम नेपालमा हुने एक मात्र यस्तो वाकाथनको मुख्य उद्देश्य भ्रष्टाचार बिरुद्ध जनचेतना फैलाउने हो । २०२१ देखि सुरु भएको वाकाथन अहिले नेपालगन्जको सुशासन अभियानी कार्यक्रमको रुपमा स्थापित भइसकेको छ । औपचारिक कार्यक्रमको सहजीकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । भने, वाकाथनको सहजीकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।