जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका दुई विभिन्न स्थानबाट ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकासँग करिब १ सय ३७ ग्रामभन्दा बढी खैरो धुलो लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित माछा मण्डी नजिक नियमित चेकजाँचको क्रममा भारत उत्तर प्रदेश नानपारा बस्ने २२ वर्षीय थरुवा अहमद र बहराइच बस्ने २५ वर्षीय तोहिद खान पक्राउ परेका हुन् । उनीहरूको साथबाट ब्राउन सुगर जस्तै देखिने पदार्थ ३७ ग्राम ४८० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।
त्यसअघि सोमबार विशेष सूचनाका आधारमा नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँस्थित ‘मेरो प्लानेट’ भित्र छापा मार्दा चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा नेपालगन्ज–१४ का २४ वर्षीय सुदिप कुमार भाट, २६ वर्षीय पवन कुमार शर्मा, डुडुवा गाउँपालिका–६ का २७ वर्षीय राजु शाह र ५९ वर्षीय सुरत खटिक रहेका छन् । पक्राउ परेकामध्ये भाट, शर्मा र शाहको साथबाट ६४ ग्राम १६० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
तीन जनाको बयानका आधारमा सुरत खटिकको घरमा गरिएको तलासीमा थप ३३ ग्राम ८७० मिलिग्राम तथा झ्यालमा लुकाइ राखिएको १ ग्राम ६०० मिलिग्राम बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । दुवै घटनामा संलग्न पक्राउ परेकामाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक कानूनी प्रक्रिया अघि बढाइएकाले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बढैयाताल गाउँपालिका–६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–६ बेलनपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै, भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ट्याब्लेट र ट्रामाडोल ४५ ट्याब्लेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २१ वर्षीय बिनोद न्यौपाने, कालिकोट शुभकालिका गाउँपालिका–८ बस्ने २० वर्षीय नबिन शाही र सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय राजेश शाही रहेका छन् ।
